‘सुरु–सुरुमा काम दिन्छु भन्नेहरु सम्झौता गर्न खोज्थे’
screennepal
प्रकाशित: २०७२, ६ बैशाख आईतवार
no img

sujana dhakal (2)

काठमाडौं । मोडल तथा अभिनेत्री सुजना ढकाललाई यतिखेर भ्याइ–नभ्याइ छ । ३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी सुजना केही दिनअघि मात्र चलचित्र ‘प्रेमी’ को सुटिङबाट फुर्सद भएकी हुन् । उनलाई हिजोआज पनि अभिनय र मोडलिङका प्रस्तावहरू आइरहेका छन् । दिनदिनै व्यस्त हुन थालेपछि उनी खुसी छिन् तर, खुसीसँगै आफ्नो सुरुआती दिन सम्झेर सुजना दुखी पनि । भानुभक्त मेमोरियल कलेजमा बिबिएमा अध्ययनरत सुजना भन्छिन्, ‘अहिले त खुसी छु । काम पाइरहेकी छु । तर, यहाँसम्म आइपुग्नका लागि मैले निकै संघर्ष गरेकी छु ।’

sujana dhakal (3)

सुजना ढकाल, मोडल तथा अभिनेत्री । तस्बिर/शिवलाल श्रेष्ठ, Tasveer Studio

उनका अनुसार जतिखेर अवसरको खोजीमा भौतारिँदै थिइन्, त्यतिखेर धेरै निर्माता/निर्देशकले फाइदा लिन खोजेका थिए । ‘धेरैले काम त दिन्छु भन्थे, तर प्राय सबैले केही सम्झौता गरौँ भन्थे’ मोडलिङमा करिअर बनाउने सपनासहित धरानबाट राजधानी छिरेकी सुजना भनिन्, ‘सबैले फाइदै मात्र लिन खोजेपछि एकपटक फ्रस्टेसन नै भएँ । जसले पनि फाइदा मात्र लिन खोजेको देख्दा यो क्षेत्रमै नबसुँजस्तो पनि लागेको थियो ।’ अहिले फ्रस्टेसन मुक्त भएको उनले बताइन् ।
हुन पनि कला क्षेत्रमा बलेकै आगो तापिन्छ । नत्र, नयाँलाई अवसर दिने बहानामा विभिन्न खाले शोषण गर्ने प्रवृत्ति छ । यस्तै प्रवृत्तिको जालोमा आफूलाई पनि पार्न खोजिएको सुजनाले बताइन् । ‘म आफ्नै कला र क्षमताले अगाडि बढ्न चाहन्थे’ उनले भनिन्, ‘तर, कला क्षेत्रमा नयाँलाई अर्कै नजरले हेरिँदोेरै’छ ।’
गायिका रजिना रिमालले गाएको ‘किन आएछ याद तिम्रो’ गीतमा मोडलिङ गरेपछि उनले ग्ल्यामरस दुनियाँमा करिअर सुरु गरेकी हुन् । त्यसपछि धेरैले उनलाई मोडलिङका लागि प्रस्ताव गरे । तर, ती सबैमा उनी मोडलिङ गर्न असमर्थन भइन् । कारण, त्यही जटिल सम्झौता थियो । सुजना भन्छिन्, ‘सिधै त भन्दैनथिए, तर, गुमाउरो पारामा भनेको बुझ्थेँ । र, कामै गर्दिनथिएँ ।’ उनका अनुसार त्यो ‘सम्झौता’ भनेको शारीरिक सम्पर्कसम्म हुन्थ्यो । सुजनाले आफ्नो सुरुआती दिन सम्झिँदै भनिन्, ‘निर्माता तथा निर्देशकसँग सम्झौता गरेको भए अहिले पनि योभन्दा चर्चित भइसक्थेँ होला । तर, मैले त्यो चाहिनँ । आउँदा दिनमा पनि नचाहिँदो सम्झौता गरेर अगाडि बढ्न चाहन्नँ । अहिले जे छु, ठीकै छु ।’
सुजनाको डेब्यु चलचित्र ‘आवारा’ हो । जुन चलचित्र बिहीबार (आज) पहिलोपटक प्रिमियर हुँदै छ । उनी उक्त चलचित्रबाट आशावादी पनि छिन् । ‘आवारा’ मा बिन्दास युवतीको भूमिकामा रहेको उनले बताइन् । मोडलिङ र अभिनयमा दुवैमा उत्तिकै रुचि लिएर अगाडि बढिरहेकी उनले भनिन्, ‘प्रेमीमा पनि मेरो राम्रो भूमिका छ । यो त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो ।’ विवेक थापाको निर्देशन तथा कृष्णश्री काफ्लेको निर्माण रहेको ‘प्रेमी’ मा सुजना एक कुसल प्रमिकाको भुमिकामा दर्शकले पाउनेछन् । ‘प्रेमी मेरो दोस्रो चलचित्र हो’ सुजना भन्छिन्, ‘प्रेमीबाट दर्शकको प्रेम पाउने अपक्षा गरेकी छु ।’

Comments