‘उमेर भइञ्जेललाई मात्रै हो मोडलिङ’
screennepal
प्रकाशित: २०७१, २२ चैत्र आईतवार
no img

‘मिस नेपाल कल्चर–२०१५’को उपाधि पाएकी संगीता नापित निकै दंग छिन् । नेपालजस्तो बुहसंस्कृति तथा बहुधार्मिक भएको देशमा पहिलो ‘सस्कृति सुन्दरी’ हुन पाउनुलाई उनले आफूलाई भाग्यशाली मानेकी छन् । काठमाडौं असनकी २१ वर्षीया संगीताले ‘मिस नेपाल’ बन्ने सपना देखेकी थिइन् । तर, ५ फिट २ इन्चकी संगीतालाई उचाईंले साथ दिएन । उनी भन्छिन्, ‘मिस नेपालको लागि उचाइ नपुगेपनि मिस नेपाल कल्चर बन्ने सौभाग्य पाएकी छु । यसैमा खुसी छु ।’ युहान इभेन्ट इन्टरनेशनलले पहिलोपटक आयोजना गरेको प्रतियोगिताकी विजेता संगीतले ‘संस्कृति प्रर्वद्धन अभियान’ सञ्चालन गर्ने लक्ष्य बनाएकी छन् । संगीतासँग गरिएको कुराकानी ।

Sangeeta napit

‘संस्कृति सुन्दरी’ भएपछि के सोच्दै हुनुहुन्छ ?
उपाधि जितेपछि थप जिम्मेवारी बढेको अनुभूति भइरहेको छ । नेपाल एउटा बुहसंस्कृति भएको मुलुकको हो, जहाँ मैले संस्कृति सुन्दरी हुने सौभाग्य पाएकी छु । म नेवार समुदायकी युवती हुँ । हाम्रो समुदाय आफैँमा कला र संस्कृतिले धनी छ । अझ पनि आफ्नोलगायत विभिन्न जातजातिको कला, संस्कृतिको प्रवद्र्धन तथा संरक्षणबारे अभियान चलाउने सोच बनाएकी छु । यो अभियान चाँडै फेसबुक पेज बनाएर सुरु गर्ने छु ।
डेढ दर्जन अन्तिम स्पर्धीबीच कसरी उपाधि पोल्टामा पारेँजस्तो लागेको छ ?
मेरो जितको मुख्य कारण मिहिनेत, लगनशीलता र आत्मविश्वास हो । म ट्यालेन्ट पनि छुजस्तो लाग्छ । हरेक क्षेत्रमा आत्मविश्वास भयो भने सफल भइन्छ भन्ने मेरो मान्यता छ ।
सौन्दर्य प्रतियोगिता जित्न राम्री हुन आवश्यक छ कि छैन ?
राम्री हुनु आवश्यक छ । तर, उस्तै इनर ब्युटी पनि हुनुपर्छ । बाहिर र भित्री सन्दरता भयो भने राम्रो हो । अरुलाई कस्तो लाग्छ थाहा छैन तर म आफूलाई राम्री नै छुजस्तो लाग्छ ।
प्रतियोगितामा सहभागी भएर के सिक्नुभयो ?
धेरै कुरा सिक्ने अवसर पाएँ । पहिलो कुरा आत्मविश्वास बढ्यो । र, माससँग कसरी फेस गर्नेजस्ता थुप्रै जीवनपयोगी कुराहरू सिक्ने अवसर पाएँ । त्योभन्दा ठूलो कुरा ताज जितेर असन टोलको नाम राखेँ । मैले ताज जितेकामा असनका सबै खुसी भएका छन्
मोडलिङ र अभिनयमा रुचि छ कि छैन ?
अभिनयमा खासै छैन । मोडलिङलाई सोखका रुपमा मात्र लिन सक्छु किनकि, मोडलिङ क्षेत्र सोखभन्दा माथि उठ्न सकेको छैनजस्तो मलाई लाग्छ । रहर र इच्छा पूरा गर्न मोडलिङ गर्छु । मोडलिङ भनेको उमेर भइञ्जेललाई मात्र हो ।
भविष्यको लक्ष्य के हो नि ?
सुरुमा नर्स बनेर विमारीको सेवा गर्ने लक्ष्य बनाएकी थिएँ । तर, साइन्समा कम नम्बर आएकाले मेरो नर्स बन्ने सपना अधुरो भयो । त्यसपछि विजनेश वुमेन बन्ने लक्ष्य लिएर मेनेजमेन्ट पढ्न थालेकी छु । मेरो भविष्यको लक्ष्य भनेको एक सफल बिजनेस वुमेन बन्नु हो ।

Comments