मुकारुङले ल्याए एकैसाथ दर्जन एल्बम
screennepal
प्रकाशित: २०७१, ४ चैत्र बुधबार
no img

काठमाडौं । बरिष्ठ संगीतकार बुलु मुकारुङद्वारा संगीतबद्ध एक दर्जन एल्बम एकैसाथ सार्वजनिक गरिएको छ । विभिन्न गीतकार तथा कविको शब्दुरचना रहेको १२ वटा गीति एल्बमको राजधानीमा आयोजित एक भव्य समारोहबीच सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले लोकार्पण गरे । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’द्वारा आयोजित कार्यक्रममा मन्त्री रिजालले मुकारुङले नै तयार पारेको ‘नेपाली संगीतको अभिलेख’ नामक पुस्तक पनि लोकार्पण गरेका थिए ।

Bimochan
कार्यक्रममा आगत, चुम्बनबाट, नारी तिमी, प्रवास बोल्छ, कैले कैले, अधरको मुस्कान, जीन्दगीको बाटो, के मागुँ, मुटुमा राखेको मान्छे, यो मनको कुरा, घराना–२ र सुदिपन नामक गीत एल्बम विमोचन गरिएको हो । एल्बम विमोचन गर्दै मत्री रिजालले भने, ‘नेपाली संगीतमा यो एउटा इतिहास हुने छ । यतिका एल्बम एकैसाथ आउनु नेपाली संगीत क्षेत्रका लागि खुसीको कुरा हो ।’ कार्यक्रममा बोल्दै मन्त्री रिजालले संगीतकार बुलु मुकारुङको कार्यको सराहना व्यक्त गरे । ‘नेपाली संगीतको अभिलेख’ नेपाली संगीत क्षेत्रको सिंगो इतिहास भएका पनि उनले उल्लेख गरे ।
विमोचन कार्यक्रम प्रधानमन्त्री सुशील कोइरालाबाट तय गरिएको थियो । तर, कार्य व्यस्तताका कारण कार्यक्रममा आउन नसकेको भन्दै प्रधानमन्त्री कोइरालाले सन्देश पठाएका थिए । प्रधानमन्त्रीको सन्देश नेपाल पत्रकार महासंघका सल्लाहकार पोषण केसीले पढेर सुनाएका थिए । प्रधानमन्त्रीले सन्देशमार्फत संगीतकार बुुलु मुकारुङलाई शुभकामना दिँदै भने, ‘नेपाली संगीतको एउटा गरिमामय कार्यक्रममा आफ्नो कार्य व्यस्तताले आउन नसकेकाले यो सन्देश पठाएको हुँ । म यसै सन्देशमार्फत संगीतकार मुकारुङलाई शुभकामना दिन चाहन्छु । साथै, उहाँको यो कदमले नेपाली संगीतमा ठूलो टेवा र योगदान पु¥याउने छ भनि विश्वास गरेको छु ।’
विमोचित ‘नेपाली संगीत अभिलेख’ लाई डेढ दशक लगाएको तयार पारेको मुकारुङले बताए । कार्यक्रममा उनले भने, ‘यो पुस्तक तयार गर्न मलाई ठ्याक्कै १६ वर्ष लाग्यो । यसअघि नै ल्याउन लागेको थिएँ, तर, सबै स्रष्टा नसमेटेकाले समय लगाएको हँु ।’ उनका अनुसार ०५६ सालदेखि कृतिको तयारीमा लागेका थिए भने ‘नेपाली संगीतको अभिलेख’ मा ६ हजार कलाकार तथा स्रष्टाबारे उल्लेख गरिएको छ ।
‘नेपाली संगीतको अभिखेल’ पुस्तकमा मुकारुङले नेपाली संगीतको एउटा सिंगो इतिहास अटाएका छन् । ‘सकेसम्म मलाई थाहा भएका र सम्पर्कमा आएका सबै संगीतकर्मीलाई अँटाउने प्रयास गरेको छु’ मुकारुङले भने, ‘सबैलाई समेट्ने प्रयास गर्दागर्दै पनि केही छुटेका होलान्, उनीहरुलाई अर्को संस्करणमा समेट्न छु ।’ कृतिमा नेपाली संगीत क्षेत्रका मुर्धुन्यदेखि समकालीन अनुजसम्मका संगीतकर्मी समेटिएका छन् । पुस्तकमा नेपालको मात्र नभई दार्जिलिङ, सिक्किम र बर्माका संगीतकर्मीलाई पनि पुस्तकमा अँटाएको उनले बताए । यस पुस्तकलाई सिक्किमका लागि निर्माण प्रकाशन सिक्किमले र नेपालका लागि पाल्पा बुक्सले प्रकाशन गरेको हो ।

Comments