म्यामको नामै ‘डस्टरकुमारी’ राखियो – दीपकराज गिरी
screennepal
प्रकाशित: २०७१, २१ फाल्गुन बिहीबार
no img

एउटा उचाइमा पुगेपछि आफ्नो विगतलाई बडो सुन्दर ढंगले प्रस्तुत गर्नु मानवीय स्वभाव हो । हास्य अभिनेताका रूपमा चर्चित दीपकराज गिरीलाई भने आफ्ना विगतका तीतो र मीठा दुवै सत्य प्यारा छन् । आफ्ना जीवनका केही रोचक घटना उनले डिबी खड्कासँग बाँडेका छन् ।

एक्लो भयो कि भेट्यो
जन्मैदखि उट्पट्याङ थिएँ सायद । सानोमा मलाई आफूजस्तै केटा एक्लै देख्यो कि कुटिहाल्न मन लाग्थ्यो । गाउँभरि मेरो पिटाइ नखाएका मेरा समकालीन थिएनन् होला । कहिलेकाहीँ ग्याङ बनाएर मेरो पनि धुलाइ गर्थे तर प्रायः उनीहरू एक्लै पर्ने भएकाले कुटाइ बढी उनीहरूले नै भेटेका छन् । म हजुरबाको प्रिय नाति भएकाले पनि म पुलपुलिएको थिएँ । उहाँ गाउँकै गन्यमान्य मान्छे हुनुहुन्थ्यो । यसकारण डर थिएन । मैले अति गरेपछि एकचोटि कुटाइ खानेका बाआमाको जुलुसै मेराविरुद्ध कम्पेलन गर्न हजुरबाकहाँ आएको थियो ।

हल मालिक मेरा प्रिन्सिपल
स्कुल जान मन लाग्दैनथ्यो । महिनामा २५ दिन रञ्जना हलमा फिल्म हेर्न जान्थेँ । सधैँ पैसा हुन्नथ्यो । त्यसैले हाफटाइमअघि ढोकामा कुर्थें । हाफटाइमपछि हलमा छिर्थें । पछि रञ्जना हलको साहूले पैसा छैन भन्दा त्यत्तिकै पनि भित्र छिराउन थाले । विश्वज्योति हलमा भने पालेलाई घुस खुवाएर फिल्म हेर्थें । एकचोटि पालेलाई एक रुपैयाँ दिएर फिल्म हेरिरहेको थिएँ, टिकट चेकर आयो । टिकट नभएपछि भित्रबाट समातेर ल्याएर विश्वज्योतिअघि जमिरहेको पानीमा डुब्ने गरी फाल्यो । अहिले म फिल्म क्षेत्रमा छु । अस्ति त्यही हलमा मैले निर्माण गरेको फिल्म ‘६ एकान ६’ चलाएँ । फिल्म चलाउनका लागि साहूसँग कुरा गर्दैगर्दा त्यो पानीमा भिजेको क्षण याद आयो । फिल्म धेरै हेरेकै कारण यता सफल भएँ । यस्तो लाग्यो, मेरा सफल प्रिन्सिपल त हल साहू पो रहेछन् ।
बाउको स्टाइलमा छोराको धुलाइ
म स्कुल धेरै नजाने, होमवर्क नगर्ने र सरले भनेको नटेर्ने विद्यार्थी थिएँ । त्यसैले कुटाइ त सबै सरको खाइयो । त्यसमध्ये एकजना सरचाहिँ मेरो बुवाले पढाएका विद्यार्थी रहेछन् । उनले गल्ती गर्दा बुवाले मज्जैले पिट्नुभएको रहेछ । पछि उनले मलाई पनि पिट्ने क्रम बुवाको स्टाइल ल्याउँदै भन्थे, ‘तेरो बाउले यस्तो तरिकाले कुट्नुहुन्थ्यो ।’

Deepak Raj Giri 01म्यामको नाम ‘डस्टरकुमारी’
नेपाली पढाउने पूर्णकुमारी नामको म्याम हुनुहुन्थ्यो । अरूका विषयमा भागछल गरे पनि उहाँ चाहिँ असाध्यै कडा हुनुहुन्थ्यो । कुनै पनि हालतमा निबन्ध र कविता याद गर्नुपथ्र्याे । नत्र डस्टरले उल्टो हातमा प्राप्त हुने चोटका लागि तयार हुनुपथ्र्याे । उहाँको निरंकुश शैलीका कारण हामीले उहाँको नामै ‘डस्टरकुमारी’ राखिदियौँ । अरू टिचरको डर लाग्दैनथ्यो मलाई । हिसाबको सरलाई त मलाई प्रश्न सोध्ने होइन भनेर कलासमै थर्काएको थिएँ । तर, उहाँको डरले अलिअलि नेपालीमा ध्यान दिएँ । केही समयअघि सोही स्कुलले कुनै क्षेत्रमा नाम कमाएका आफ्ना विद्यार्थीलाई सम्मान ग¥यो । सुरुमै म परेँ । त्यही मञ्चमा म्यामलाई देखेपछि भनेँ, ‘तपाईंको डस्टरको चोटले म कलाकार भएँ । अभिनयभन्दा स्क्रिप्ट राम्रो लेख्छु । किन दुईचार चोट धेरै हान्नुभएन ?’ उहाँ भावुक हुनुभयो ।

चोरीका धेरै खल्ती भएको ज्याकेट
सानोमा घरमा खूब चोर्थें । हाम्रो जग्गाजमिन रामै्र भएकाले धान राम्रै हुन्थ्यो । सुरुमा मैले चामल चोरेँ । पछि मेरो ग्याङ नै चामल चोर भयो । चामल चोरेर बेच्दै फिल्म हेथ्र्याैं । पछि मेरो परिवारले पोल्ट्री फर्म थाल्यो । त्यसपछि अण्डाचोर भइयो । सबै खाना खाइरहेका बेला पाइखाना जाने नाममा म खोरमा पसेर अण्डा चोर्थें । दशैँको बेला लुगा किन्न लगियो, मेरा चाहिँ आँखा धेरै गोजी भएको ज्याकेटमा हुन्थ्यो । किनभने, जति धेरै गोजी भयो, त्यति धेरै अण्डा चोर्न सकिन्थ्यो । एकपल्ट १६ वटा अण्डा अट्ने गोजी भएको ज्याकेट किनेँ । एक दिन गोजीभरि अण्डा चोरेर बेच्न जाँदै थिएँ, बाटोमा ठेस लाग्यो । भुक्लुक्कै ढलेको त सबै अण्डा फुटेर ज्याकेटै काम नलाग्ने भयो । हिरो हुने धङधङी थियो । साथीहरूले पैसा जुटाएर मुम्बई जानुपर्छ भन्न थाले । मैले ‘स्टेप मम’को कानका सुन चोरेँ । त्यो बन्धकी राखेर केही पैसा झिकियो, तर त्यो यत्तिकै खर्च भयो । पछि घरमा थाहा भयो । बाले रामधुलाइ गर्नुभयो । मलाई कुटेको देखेर ममीले ‘यसले चोरेको होइन, मैले नै कता बिर्सिएँ’ भन्नुभएपछि चाहिँ ‘इमोसनल’ भएँ । त्यसपछि कहिल्यै केही चोरिनँ ।
केटी माग्न जानेकै छोरीसँग झ्याइँ
केटी मन प¥यो कि लभलेटर दिइहाल्ने गर्थें । यस्तो हुँदाहुँदै एकजना युवतीसँग मेरो लभै प¥यो । मेरो लभस्टोरी गाउँभरि हिट भयो । किनभने, एसएलसी फेल भएपछि मेरो कामै उसको घरअघि गएर लाइन मार्ने हुन थाल्यो । दुईपल्ट एसएलसी फेल भएँ । त्यसपछि बिहे गर्ने सोचेँ । केटीको बाले एसएलसी पासलाई मात्रै छोरी दिने अड्डी कसे । भाग्न केटीले मानिन । घरमा चाहिँ जातका कारण माग्ने कुरामा रुचि देखाएनन् । त्यसपछि गाउँकै एक जना आन्टीलाई भनेर माग्न पठाएँ । त्यही रिसमा जसलाई माग्न पठाएको थिएँ, उनकै छोरीसँग झ्याइँ पारेँ । संयोगले बिहे गरेकै वर्ष म पनि एसएलसी पास भएँ ।
डेढ बोतल रक्सीले ठीकठाक
कलेज पढ्न थालेपछि पनि मेरो ग्याङ बनाउने बानी छुटेन । यही कारण नेता भएँ । विभिन्न कामको बहाना गर्दै पैसा उठाइन्थ्यो । काम कहिल्यै गरिएन । साथीभाइसँग घुम्न गएर रमाइलो गरियो । त्यतिबेला रक्सी पनि यति खाइन्थ्यो कि डेढ बोतल मलाई ठीकठाक हुन्थ्यो । त्यति खाएपछि अरू साथीलाई घरमा छाडेर म घर जाने अवस्थामा हुन्थेँ । अहिले त्यति रक्सीले २० दिन पुग्छ ।
अंग्रेजी बोलेपछि बढुवा
सुरुमा मैले फिल्ममा स्पटब्वाई खालको काम गरेँ । मेरो काम हुन्थ्यो, डाइरेक्टर र क्यामराम्यानलाई रक्सीको प्रबन्ध गर्ने । रक्सी लागेपछि उनीहरू अंग्रेजीमा कुरा गर्थे । मैले पनि उनीहरूलाई तपाईंहरूलाई के सेवा गरौँ भनेर अंग्रेजीमै बोलेपछि भने उनीहरू तर्सिए । किनभने, मैले त्यतिबेला बिए पास पनि गरिसकेको थिएँ । उनीहरूले भोलिदेखि रक्सी सर्भ गर्नबाट उन्मुक्ति दिएर अर्कै काम लगाए । अरू नै केही भनेर बोलाउनेहरू नाम लिएर बोलाउन थाले ।

 

 

Comments