मेरो मृत्यु पनि पब्लिसिटी स्टन्ट हुनेछ- राखी सावन्त’
screennepal
प्रकाशित: २०७१, १८ फाल्गुन सोमबार
no img

बलिउड उस्तै हो या राखी सावन्त उस्तै हुन्, बुझिनसक्नु छ । आइटम गर्ल राखी पटक–पटक विवादमा पर्छिन् । उनीमाथि दुव्र्यवहार हुन्छ, पटक–पटक । कहिले उनलाई कसैले जबर्जस्ती चुम्बन गरिदिन्छ, कहिले कसैले शारीरिक छेडखानी । त्यति नपढेकी, कहाँ के बोल्ने, कति बोल्ने हेक्का नभएकी राखी कहिले मिडियामा आँशु झारिरहेकी हुन्छिन्, कहिले गुहार मागिरहेकी अनि कहिले जुधिरहेकी । मानिसहरूलाई लाग्छ– उनी पब्लिसिटी स्टन्ट (चर्चा हतकण्डा) गरिरहेकी छिन् । एउटा सत्य चाहिँ के हो भने राखीलाई धेरैले हेपेका छन् । र, धेरैलाई लाग्छ– त्यो हेपाइ पनि आमन्त्रित हो । बलिउडमा टिक्न र बिक्न, उदाउन र चम्किन गर्नुपर्ने फन्डाहरू राखीले गर्न बाँकी राखेकी छैनन् । र, सबैले उनलाई विवादको पुत्ला मानेका छन् । आफू अपमानित र उत्पीडित भएको सत्य रुँदै बताउँदा पनि उनलाई ठट्टामा उडाइएको छ ।

राखीको जीवनमा थप एउटा काण्ड भयो । यो काण्डको कारण उनी थिइनन्, उनकी सहेली मनीषा कुमारी थिइन् । फिल्म ‘मुम्बई क्यान डान्स साल’को सांगीतिक कार्यक्रममा मनीषाले निर्देशक सचिन्द्र शर्मालाई चड्काइदिइन् । ‘उसले मसँग टाँस्सिने कोसिस ग¥यो र उसको दुव्र्यवहारको जवाफस्वरूप मैले उसलाई थप्पड हानेँ,’ मनीषाले दैनिक भाष्कर डट कमलाई भनेकी छिन् ।
यही प्रकरणको सेरोफेरोमा दैनिक भाष्कर डट कमले राखीसँग गरेको कुराकानी ः

खासमा यो घटना के हो ?
हामी ‘मुम्बई क्यान डान्स साला’को संगीत विमोचनमा गएका थियौँ । मञ्चमा जानुअघि निर्देशक सचिन्द्र शर्माले मनीषालाई भनेछन्, ‘तिमीले सम्झौता गरेकी भए आज राखीको ठाउँमा हुन्थ्यौ ।’ उनको मतलब थियो उनी मेरो ठाउँमा मनीषालाई लिन सक्थे । मनीषाले निर्देशकको टिप्पणीलाई बेवास्ता गरिदिइन् । तर, पछि मञ्चमा जब उनी मनीषासँग टाँस्सिन खोजे, उनले थप्पड हानिन् । त्यसपछि दुवैजनाबीच हात हालाहाल भयो । म फिल्मको टिमसँग निराश थिएँ । मनीषाले जे गरी, त्यसबाट म खुशी नै छु ।

तपाईं फिल्मका निर्माताहरूसँग किन असन्तुष्ट हुनुहुन्छ ?
उनीहरू राजनीति खेलिरहेका छन् । म निर्माता रञ्जीत शर्मासँग खुशी थिइनँ किनभने उनले मेरा केही दृश्य काटिदिएका थिए । फिल्मको संगीत विमोचनमा उनकी छोरी आशिमा शर्माका तस्बिरमात्रै लगाइएका थिए । आशिमा यो फिल्मबाट डेब्यू गरिरहेकी छिन् । उनलाई मात्र प्रमोट गरिएको छ, मलाई बेवास्ता गरिएको छ । रञ्जीतले आफ्नो बाचा पूरा गरेनन् । मैले फिल्ममा राम्रो डान्स नम्बर गरेकी छु । उनले मलाई डेढ करोड भारु पनि दिए । तर, मलाई प्रमोट गर्नु थिएन भने यसको के अर्थ ?

मान्छेहरू त यसलाई पब्लिसिटी स्टन्ट ठानिरहेका छन् नि ?
त्यही त ! राखी सावन्त मरी भने पनि दुनियाँ भन्नेछ– यो एउटा पब्लिसिटी स्टन्ट हो । म बलात्कृत भएँ भने पनि मान्छेहरूले भन्नेछन्– चर्चाका लागि राखीले आफूलाई बलात्कृत गराई । पब्लिसिटीका लागि कोही सार्वजनिक रूपमा थप्पड खान्छ ? यहाँ मनीषा र निर्देशकबीच हानाहान भयो । यो कुनै पब्लिसिटी स्टन्ट थिएन ।

पुलिसमा उजुरी गर्नुभयो कि ?
हामीले सान्टा क्रुज पुलिस स्टेसन, मुम्बईमा एफआईआर दर्ता गराएका छौँ । पुलिस आफ्नो काम गरिरहेको छ । चाँडै नै निर्देशक पक्राउन पर्ने र यस मामिलामा न्याय पाउने आशा गरेका छौँ ।

मनीषा र उनको पृष्ठभूमिबारे केही बताउनुस् न ।
मनीषासँग दुई वर्ष पहिले भेट भएको थियो । ऊ मेरी असल साथी हो । म्यानेजरका रूपमा मलाई सघाइरहेकी छे । यो घटनापछि उसले फिल्म उद्योग छोड्ने निर्णय गरेकी छे ।

Comments