ब्याचलर राजेशपायल र केकीबीच ‘आत्मीयताको टुसो’ !
screennepal
प्रकाशित: २०७१, १७ फाल्गुन आईतवार
no img

एमपी सुब्बा
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा भर्सटायल गायक राजेशपायल राईलाई अहिलेसम्म कति युवतीले प्रेम प्रस्ताव राखे होलान् ? त्यो उनैलाई थाहा नहुन सक्छ । उनले सांगीतिक भ्रमणका क्रममा संसारका अधिकांश मुलुक डुलिसकेका छन्, जहाँ पुग्छन् त्यहाँ उनलाई ‘आई लभ यु’ भन्ने युवतीको कमि हुँदैन । केही साताअघि अमेरिकाको विभिन्न राज्यमा १७ वटा एकल सांगीतिक कार्यक्रम गरेर नेपाल फर्कँदा उनले भनेका थिए, ‘राजेशपायल राई अब धेरै समय एक्लो बस्दैन ।’ अभिनेता राजेश हमालले विवाह गरेको प्रशंग आएपछि उनले यस्तो जवाफ दिएका हुन् ।

IMG_3626

दर्शन नमस्ते क्लव उद्घाटनका क्रममा राजेश–केकी । तस्बिर विशाल राई

गायक राजेशपायल र अभिनेता राजेश हमाल ‘मित’ पनि हुन् । आफ्ना ‘मितज्यु’ले बिहे गरेयता राजेशपायल पनि गम्भीर हुन थालेका हुन् । बिहेबारे प्रश्न राजेश हमालले ‘क्लोज’ गरेपछि राजेशपायलमाथि बर्सिन थालेको हो । तर, उनी निर्धक भन्दै आएका छन्, ‘अब धेरै जाँदैन, सुर्ता नगरे हुन्छ ।’
यी ब्याचुलर भर्सटायल गायकले यसोभन्दा धेरैले अनुमान गरेका थिए, ‘राजेशपायलले अमेरिकन खैरेनी पट्टाएरै पो आएछ कि क्या हो ?’ तर, होइन रहेछ । जब बहराइनमा आयोजित एक कार्यक्रममा सहभागी भएर काठमाडौं आए, तब उनले त्यो कौतुहलता मेटाउँदै नयाँ रहस्य खुलाए । शनिबार साँझ सिमित पत्रकार भेला गराएर राजेशपायलले रहस्य खुलाउँदै भने, ‘बहराइनमा नायिका केकी अधिकारीसँग मेरो हित्तचित्त मिल्यो ।’ राजेशपायलले यसो भनिरहँदा केकी मुस्कुराइरहिन् । जब राजेशपायलले बोल्न छाडे, तब केकीले थपिन्, ‘बहराइनमा सँगै कार्यक्रम गरेपछि म उहाँबाट प्रभावित भएँ ।’ केकीले यसो भनेपछि राजेशपायलले थपे, ‘सकिगो नि’ ।
के अब राजेशपायल राईको ब्याचुलर बस्ने समय सकिन नै लागेको हो त ? साँझपख आयोजित जमघटमा उनले भने, ‘मैले सबै बताइसकेको छु, अब आफै कुरा बुझ्नुस् ।’ साँच्चीकै राजशेपायल र केकीबीच ‘हितचित्त’ मिलेकै जस्तो छ नि ? ‘हामीमा हितचित्त मिल्दा बिग्रने नै क छ र ?’ राजेशपायलले भने, ‘तपाईंहरुले कसरी बुझ्नुभएको छ, त्यसैगरी लिइदिनुहोला ।’ जमघट उनले तीन उद्देश्यले राखेका थिए । तीमध्ये एउटा थियो, ‘केकी र आफ्नो बहराइन यात्रा र उपलब्धीबारे जानकारी’ अनि ‘हालै अमेरिकाको आफ्नो सफल सांगीतिक भ्रमणबारे’ र ‘आफ्नो रेष्टुरेन्ट दर्शन नमस्ते क्लवको उद्घाटन ।’
राजधानीको कमल पोखरीमा सञ्चालनमा ल्याएको ‘दर्शन नमस्ते क्लव’ को उद्घाटन पनि केकीले नै गरिन् । नेपाली चलचित्र क्षेत्रमा थुप्रै अभिनेत्री छन् । तर, राजेशपायलको रोजाइमा केकी नै कसरी परिन् ? केकीले रिबन काटेर क्लव उद्घाटन गरिरहँदा राजेशपायलमाथि यस्तै प्रश्न बर्सिए । राजेशपायलले मुस्कुराउँदै जवाफ दिए, ‘केकी मलाई मनपर्ने मान्छे हो, त्यसैले उनी मेरो रोजाइमा परिन् ।’ राजेशपायलको भनाइमा केकी उत्साहित देखिइन् । र केकीले थपिन्, ‘आगामी वर्षमा पनि केक काट्ने अवसर मैले नै पाउँ ।’ माहोल निकै ठट्टापूर्ण बन्यो । तर, राजेशपायलको अनुहारले केकीप्रति बढी आत्मीयता दर्साउँथे ।
बहराइनमा भएको कार्यक्रमबाट यी दुई नेपाली चर्चित अविवाहित सेलिब्रिटीको ‘हित्तचित्त’ निकै मिलेको देखिन्छ । उनीहरुले त्यहाँ रहँदा खिचेका केही ‘सेल्फी पोज’ले यसअघि चर्चा पाइसकेको छ । उनीहरुको ‘शेल्पी पोज’ सोसल तथा विभिन्न मिडियाबाट सार्वजनिक भएदेखि नै शंका गर्नु थालिएको थियो । कतिले फोटो हेरेर भन्न थालेका थिए, ‘राजशेपायल र केकीबीच केही न केही छ ।’ अन्ततः उनीहरुले शनिबार साँझ आफ्नो झाँगिदो सम्बन्धलाई थप पुष्टि गरे । तर, बहराइनमा पलाएको यी दुई सेलिब्रेटीको ‘आत्मीयतको टुसो’ अब कहाँसम्म झाँगिने र फूल्न पाउने हो कि होइन भन्नेमा पुगेको छ ।

Comments