संगीतकार ओमप्रकाशको दुखेसो ‘मेरो अन्र्तवार्ता लिन्छन्, छाप्दैनन्’
screennepal
प्रकाशित: २०७१, १४ फाल्गुन बिहीबार
no img

Om Prakashनेपाली कला क्षेत्रमा कामभन्दा बढी चर्चा चाहनेहरुको हावी छ । ती आत्मरत्ति चाहनेहरु बीचमा संगीतकार ओमप्रकाश राई फरक छन् । उनी तीन दशकयता निरन्तर संगीत सिर्जनामा छन् । उनका हात साँझ–बिहान हार्मोनियमै हुन्छ । ओमप्रकाशले यस तीन दशकको अन्तरालमा १६ सयभन्दा बढी गीत संगीत गरिसकेका छन् भने दुई दर्जन सोलो संगीत गरेका उनका एल्बम छन् । तर, उनी प्रिन्ट मिडियामा ओझेलमा छन् । ०४८ सालमा ‘बाटो अन्त्यै मोडियो’ बोलको गीत सिर्जना गरेर संगीतलाई औपचारिकता दिएका हुन् । ओमप्रकाशका प्रिति, नियती, स्वीकार, आभार, आकाश, अजम्बरी, विरानो सहर, परिधि, मुस्कान, यात्रा भाग–१, लालिमा, सुसन, जहाज सरर, प्रतीक्षा, मुर्छना भाग–२, वियोगलगायतका दुई दर्जनभन्दा बढी सोलो एल्बम प्रकाशित छन् भने उनले आधा दर्जनभन्दा बढी चलचित्रमा समेत संगीत दिइसकेका छन् । यतिका एल्बम तथा सिर्जनाका स्रष्टा भइकन पनि उनी बाटोमा भौतारिँदै हिडिरहेका भेटिन्छन् । कामअनुसार आफू मिडियामा ओझेल परेको दुखेसो पोख्दै ओमप्रकाश भन्छन्, ‘कसैले नचिनेपछि बाटोमा लठारिँदै हिँड्दा पनि फरक नपर्दौरै’छ ।’ चार वर्षअघि नै ‘एम–म्युज’ गरेका ओमप्रकाश हाल हिन्दी र नेपाली भाषामा आफ्नो एकल स्वरमा एल्बम ल्याउने तयारी गरिहेका छन् । संगीतकार ओमप्रकाश राईसँग एमपी सुब्बाले गरेको कुराकानी :
सांगीतिक यात्रा कस्तो चलिरहेको छ ?
ठिकै भन्नुप-यो । संगीतले नै मलाई काठमाडौंमा टिकाएको छ । साँझ–बिहान खानु र बस्नु पुगेको छ ।
तीन दशकभन्दा बढी यसै क्षेत्रमा क्रियाशील हुनुहुन्छ । कमाउनु पनि भएको होला नि ?
कमाउन न कमाएको छु तर पैसा होइन, इष्टमित्र र साथीभाई । मलाई यसैमा खुसी छु । यहाँ सबैभन्दा ठुलो कुरा भनेको साथीभाई नै रहेछ । साथीभाई भएपछि काम पनि पाइन्छ ।
काम गरेअनुसार मिडियामा तपाईको चर्चा छैन नि ?
खै, मिडियामा आउन नजानेर होला । रातदिन म संगीतमै रटिरहेको छु । तर, मैले मिडियालाई नचिनेको होकि मिडियाले मलाई नचिनेको हो । तालमेल नमिलेर पनि होला । म सोझो मान्छे, लप्पनसप्पन जाँन्दिनँ । यो क्षेत्रमा सोझो मान्छे बाँच्न गाह्रो हुँदोरै’छ । कति पत्रकारले मेरो अन्र्तवार्ता र फोटो लिएर जान्छन्, तर छाप्दैनन् । त्यो किन हो ? म बुझ्दिनँ ।
सांगीतिक क्षेत्रमा लागेर पाएको उपलब्धी के हो त ?
उपलब्धी भनेकै दर्शक, श्रोता र साथीभाईको माया हो । उहाँहरुकै मायाले तीन दशकयता निरन्तर यस क्षेत्रमा छु । म नेपाली संगीतलाई बचाउनुपर्छ भन्ने मान्यताको हुँ । त्यसैले केही नपाएपनि रातदिन संगीतमै खटिरहेको छु । अन्य गायक तथा संगीतकार कमाएको पैसा बैंकमा राख्छन् तर म एल्बममा खन्याउँछु ।
हिजोआज एल्बमको बिक्री–वितरण नै छैन । केका लागि एल्बम निकाल्नुहुन्छ ?
नेपाली संगीत उद्योगलाई धान्न । अरु मेरो कुनै स्वार्थ छैन । यहाँसम्म आइपुग्दा मैले नामभन्दा धेरै पैसा कमाएम् होला । तर, ती सबै पैसा एल्बममै खर्च गर्दै आएको छु । संगीत उद्योग बच्यो भने सबै कलाकार स्रष्टा बाँच्छन् भन्ने मेरो धारणा हो । त्यसैले हरेक वर्ष आफ्नै लगानीमा एउटा एल्बम ल्याउने गरेको छ ।
संगीतमा लाग्ने प्रेरणाचाहिँ कोबाट पाउनुभएको नि ?
मेरो काका शम्सेरसिंह राईबाट । म सानो हुँदा उहाँ गुनगुनाउनु हुन्थ्यो । त्यतिखेर उहाँजस्तै गाउने रहर हुन्थ्यो । उहाँको गुनगुनाइको प्रभावमा परेर१० वर्षकै उमेरदेखि गाउन र संगीत गर्न थालेको हुँ । एक किसिमले गाउँ नै सांगीतिक वातावरण थियो ।
गाउन छाडेर संगीत सिर्जनामा मात्रै लाग्नुभयो नि, किन ?
रहर त मेरो गाउने नै हो । तर गाउँदा शब्द उच्चारणमा गडबडी हुन्थ्यो । मैले गाएको गीतको शब्द अष्पस्ट लाग्थ्यो आफैलाई । त्यसैले गाउन छाडेको हुँ ।
अहिले फेरि किन गाउने इच्छा जगाउनुभएको नि ?
साथीभाईकै करले हो । तिम्रो स्वर पनि राम्रो छ । एउटा एल्बम आफ्नै स्वरमा निकाल्नु भनेपछि हिम्मत गरेको हुँ । अहिले एल्बमको तयारी गरिरहेको छु । र, हिन्दी भाषामा पनि सोलो एल्बम ल्याउँदै छु ।
तपाईले बुझेको संगीत के हो ?
संगीत भनेको अथाहा हुन्छ । यो बुझेर बुझ्न सकिने विषय होइन । संगीत यति गहिरो छ, जो डुबेर पिंधमा पुग्न सकिँदैन । संगीत सुन्दा जति मनोरञ्जन हुन्छ, त्यति नै डुब्दै जाँदा पनि रमाइलो हुन्छ । त्यसैले त संगीतमा लागिसकेपछि बाहिर आउन गाह्रो छ ।
तपाईं संगीतको प्रशिक्षक पनि, अहिले आउने नयाँ पस्ताका गायक÷गायिकालाई के सुझाव दिनुुहुन्छ ?
संगीत भनेको एउटा अध्ययन क्षेत्र पनि हो । यहाँ आउनुअघि केही सिकेर आउनु आवश्यक छ । कतिसम्म संगीतमा डुब्ने र सिक्ने हो, त्यो आफूमा निर्भर हुन्छ । तर, एउटा कुरा के भने यो क्षेत्रमा सोझो व्यक्तिको कामै छैन । जो अहिले म आफै उदाहरण बनेको छु । त्यसैले म भन्छु, जो–जो नयाँ प्रतिभा संगीतमा आउन चाहनुहुन्छ, सबैले धैर्यता र चलाखीपन र मिहिनेत लिएर आउनुहोस् । सफलता र असफलता आफ्नै ठाउँमा छ ।

Comments