बिछोड ब्योहोर्ने बलिउडकर्मीहरु
screennepal
प्रकाशित: २०७१, ९ फाल्गुन शनिबार
no img

दिलीप कुमार बलिउडका महान् कलाकार हुन् । दुःखद भूमिकाका लागि चर्चित भएकाले उनलाई ‘ट्र्याजिडी किङ’ पनि भनिन्छ । रिल लाइफका यी ट्र्याजिडी किङले रियल लाइफमा पनि वियोग नै भोग्नुप¥यो ।

जमानामा उनका लाखौँ फ्यान थिए, अहिले पनि छन् । तर, त्यतिखेर दिलीप भने मधुबालाका फ्यान थिए । उनको र मधुबालाको प्रेम जगजाहेर थियो । यी दुईले आफ्नो प्रेम कहिले लुकाउन पनि खोजेनन् । तर, उनीहरूको गहिरो प्रेम मधुबालाका बुबा अताउल्लाह खानलाई मन परेको थिएन । मधुबाला कुनै प्रेमप्रसंगमा परोस् भन्ने अताउल्लाह चाहँदैनथे । दिलीपलाई उनले पहिले नै अस्वीकार गरिसकेका थिए । फिल्म ‘नयाँ दौर’ मा दिलीपसँगै मधुबाला पनि थिइन् । सुटिङको क्रममा मुम्बईभन्दा बाहिर जानुथियो । तर, मुम्बई बाहिर पठाउन मधुबालाका बुबा मानेनन् । निर्देशकले फिल्मबाट उनको नाम हटाई वैजन्तीमालालाई राखे । यसबाट क्रुद्ध अताउल्लाहले निर्देशकविरुद्ध मुद्दा दर्ता गरिदिए । दिलीपका मुखबाट पनि अताउल्लाहका लागि अपशब्द निस्किए । यस कुराबाट मधुबाला दिलीपदेखि असाध्यै रिसाइन् र उनले आफ्ना बुबासँग क्षमा माग्न भनिन् । तर, दिलीपले अस्वीकार गरे । र, मधुबालाका सामु शर्त राखे कि उनले आफ्ना बुबा र आफूमध्ये एकलाई छानून् । मधुबालाले बुबालाई रोजिन् । यहीँ उनीहरूको प्रेमको अन्त्य भयो ।
यी दुईको प्रेम बलिउडका चर्चित प्रेमप्रसंगमध्ये एक हो । दिलीप कुमारको नाम अर्की अभिनेत्रीसँग पनि जोडिन्छ । उनी हुन्, कामिनी कौशल । यी दुईले फिल्म ‘शहीद’ र ‘नदिया के पार’मा सँगै काम गरेका थिए । फिल्म ‘शहीद’को सुटिङका क्रममा यी दुई नजिकिएका थिए । यस प्रेमप्रसंगमा अभिनेत्रीका भाइ शत्रु बने । कामिनीका भाइलाई उनीहरूको सम्बन्ध मन परेको थिएन । कामिनी पनि आफ्ना परिवारविरुद्ध जान सकिनन् र दिलीपसँग उनको सम्बन्ध टुट्यो । उनीहरूको सम्बन्ध टुटेपछिमात्र दिलीपका जीवनमा मधुबाला आएकी थिइन् ।
मधुबालासँगको बिछोडले दिलीपलाई भित्रैदेखि कमजोर बनायो । उनीसँग छुट्टिनुका पीडाले दिलीपले वर्षाैंसम्म आफूलाई बिहेबाट टाढा राखे । सन् १९६० मा मधुबालाले किशोर कुमारसँग बिहे गरिन् । दिलीपको तेस्रो प्रेम बनिन्, अभिनेत्री वहीदा रहमान । गुरुदत्तसँग सम्बन्धका लागि पहिलादेखि चर्चामा रहेकी वहीदालाई दिलीप धेरै मन पराउँथे । दिलीप उनीसँग बिहे गर्न चाहन्थे । त्यसका लागि उनले वहीदासामु प्रस्ताव पनि राखेका थिए । वहीदाले स्वीकृति पनि जनाएकी थिइन् । त्यतिखेर नै दिलीपको जीवनमा सायरो बानोले ‘इन्ट्री’ गरिन् । भनिन्छ, सायरा बानो कम उमेरकी भएकाले दिलीप उनलाई अरू अभिनेताबाट टाढा रहने सल्लाह दिन्थे । उनको हेरविचार गर्थे । बिस्तारै उनी सायरासँग नजिकिए । सायराका लागि त उनी ‘सपनाको राजकुमार’ थिए । ४४ वर्षीय दिलीपको आफूभन्दा धेरै कम उमेरकी सायरा बानोसँग बिहे गर्ने निर्णयले सबैलाई आश्चर्यमा पा¥यो । त्यतिबेला सायरा २२ वर्षकी मात्र थिइन् । अन्ततः यी दुईले सन् १९६६ मा बिहे गरे ।
सन् १९८२ मा दिलीपको जीवनमा एक मुस्लिम महिलाले प्रवेश गरिन् । उनको नाम अस्मा थियो । दिलीपले उनीसँग बिहे पनि गरे । तर, उनीहरूको सम्बन्ध दुई वर्षभन्दा लामो टिकेन । मुस्लिम भएकाले दिलीपले पहिलो श्रीमती सायरासँग सम्बन्ध–विच्छेद नगरीकन अर्को बिहे गरेका थिए । अस्माले आफ्ना पहिलो श्रीमान्सँग मिलेर आफ्ना निजी जीवनका धेरै कुरा सार्वजनिक गरेको र आफ्नो गलत फाइदा उठाइरहेको भन्ने थाहा भएपछि दिलीपले अस्मासँग सम्बन्ध–विच्छेद गरेर फेरि सायराकोमा फर्किएका थिए ।

एक्ली रेखा
rekha-by-hator[227991]बलिउड अभिनेत्री रेखाले प्रेमबिनाको अधुरो जीवन बाँचिन् । वास्तविक जीवनमा उनले ती सब कुरा पाउन सकिनन्, जो पर्दामा उनले सहजै पाउँथिन् । रेखाले बलिउडलाई धेरै हिट फिल्म दिइन् । ती फिल्मलाई आज पनि धेरैले सम्झिन्छन् । एक समयमा बलिउडकी टप अभिनेत्री रहेकी रेखा उमेरका ६० वसन्त पार गर्दासम्म एक्लो जीवन बिताइरहेकी छिन् ।
रेखाले फिल्म ‘सावन–भादो’ बाट फिल्मी करिअरको सुरुवात गरेकी थिइन् । उनका प्रेमप्रसंग सूचिमा विनोद मेहरा, अभिताभ बच्चन, सञ्जय दत्त र चंकी पाण्डेको समेत नाम सामेल छ । रेखाले व्यापारी मुकेश अग्रवालसँग बिहे गरेकी थिइन् । तर, यो बिहे केही महिनामात्र टिक्यो । पछि, मुकेशले रेखाको सलमा झुन्डिएर आत्महत्या गरेका थिए ।
फिल्म ‘सिलसिला’ बाट रेखा र अमिताभबीच प्रेमका अंकुर फुटे । यो प्रेम लामो समयसम्म झांगियो । तर, पछि विवाहित अमिताभले श्रीमती जयाका कारण पाइला पछाडि सारे । रेखाले गुपचुप तरिकाले विनोद मेहरासँग बिहे गरेको खबर बलिउडमा चल्यो । तर, रेखाले यो खबरलाई अफवाहबाहेक केही नभएको बताइन् ।
रेखाले फिल्म क्षेत्रमा प्रवेश गर्दा अभिनेता शशि कपुरले उनलाई काली र भद्दा भनेका थिए । शशिले रेखा फिल्ममा सफल हुन नसक्ने बताएका थिए । तर, पछि रेखाले शशि कपुरको दाबीलाई गलत साबित गरिन् र बलिउडमा राज गरिन् ।
पर्दामा प्रेममा सफल रहने रेखाले वास्तविक जीवनमा प्रेम पाउन सकिनन् । रेखालाई अमिताभका हरेक हाउभाउ मन पर्थे । भनिन्छ, अमिताभले नै रेखालाई अभिनयका धेरै गुण सिकाएका थिए । उनीहरूको प्रेमको सिलसिला फिल्म ‘सिलसिला’ सम्म मात्र चल्यो । फिल्म ‘कुली’ को सुटिङको क्रममा अमिताभसँग भएको घटनाले उनीहरूबीच दूरी कायम गरिदियो ।

Comments