प्रेमका अघि करिअर ठूलो कुरा होइन – निखिल उप्रेती
screennepal
प्रकाशित: २०७१, ७ फाल्गुन बिहीबार
no img

 

नेपाली फिल्मनगरीमा निखिल उप्रेतीको प्रेमको चर्चा खूब हुन्छ । उनले ‘केटीसँग एक कप कफी खाने मौका पाए पट्याइदिन्छन्’ भन्ने हल्ला सुनिन्थ्यो । कतिले आफ्नो प्रेममा आएको अड्चन निखिलको सहारामा सल्ट्याए भन्ने पनि छ । उनी आफैँ पनि यस्ता प्रेमी हुन् जसले करिअर र प्रेममा प्रेम रोजेर ‘बदनाम’ भए । जो उनी स्विकार्छन् पनि ।

1308641239_152723f9762ca023e644357ef56dd972

पहिलो प्रेम कहिले भयो ?
चार कक्षा पढ्दै थिएँ । हामीले त्यही उमेरमा बिहे गर्ने निर्णय गरेका थियौँ । घरमा समेत भनियो । दुवै ठूलो भएपछि गरिदिने भनेर परिवारले भनेका थिए ।
त्यो साँच्चीकै प्रेम थियो ?
सायद अहिलेसम्मकै सफा प्रेम थियो त्यो । हामी बुझ्ने भएपछि वातावरण, आर्थिक अवस्था र सुन्दरताजस्ता बाह्य कुराले प्रेम धमिल्याउँछन् । त्यो पहिलो प्रेम पनि बाह्य कुराले प्रभाव पार्न थालेपछि टुंगिएको हो ।
पहिलो प्रेमपत्र कहिले लेखियो ?
मेरो बोलीमात्रै हो, तिनलाई कपीमा उतार्न कहिल्यै सकिनँ । फिल्म क्षेत्रमा जम्नका लागि मुम्बईमा संघर्ष गरिरहेको समयमा प्रेमिका नेपालमै हुँदा जसोतसो पत्र लेखेको थिएँ । लेखेपछि बल्ल महसुस गरेको थिएँ, शब्दको जादु । बोल्दा रिसाएको वा खुशी भएको फिलिङ्स समेत आउने भएकाले दोहोरो अर्थ लाग्ने शब्द आफ्नो सुविधामा बुझ्न पाइँदैन । तर, लेखेको पढ्दा त्यो आनन्द लिन सकिने रहेछ । केटाकेटी फोनमा भन्दा च्याटमा त्यही भएर बढी रमाउँछन् ।
अहिलेसम्म प्रेम प्रस्ताव कतिलाई गरियो ?
मैले प्रेमका लागि वातावरण मात्रै बनाएँ । प्रस्ताव उतैबाट आयो । कुरा जति गर्नसक्ने भए पनि प्रस्ताव नै गर्ने मामिलामा म लजालु थिएँ ।
तपाईंको क्षेत्रका मान्छे त तपाईँलाई ‘प्लेब्वाई’ ठान्छन् !
धेरैले ‘निखिल प्लेब्वाई’ भनेको मैले पनि सुनेँ । म त्यस्तो होइन, मैले अहिलेसम्म यौनका लागि प्रेम गरेको छैन । प्रेममा यौन ठूलो कुरा पनि भएन । हरेक कुराको आफ्नो दृष्टिकोण हुन्छ, प्रभाव हुन्छ । हामी अँध्यारोलाई रात र उज्यालोलाई दिन ठान्छौँ । कहिल्यै सोच्दैनौँ, अँध्यारोलाई छर्लंग देख्ने लाटोकोसेरोले दिन कुन र रात कुन ठान्छ होला ?
अहिलेसम्म भएका प्रेममध्ये कति प्रेम र कति आकर्षण थिए ?
धेरै प्रेम आकर्षण मात्रै थिए । गहिराइमा पुग्नै नपाई ती टुटे पनि ।
असाध्यै बढी प्रेम कुन बेला कसलाई गरियो ?
मलाई लाग्छ, जब कसैले धेरै प्रेम गर्छ, त्यसमा पनि शंका गर्नुपर्छ र कम गर्छ, त्यो त यसै शंकास्पद भइगयो । किनभने, सच्चा प्रेम न बढी हुन्छ न कम । बढी गर्छ कसैले भने कुनै स्वार्थ लुकेको हुन सक्छ । जस्तो, हाम्रो शरीरको एउटा तापमान छ । शरीरको तापक्रम त्योभन्दा बढी भयो भने पनि बिरामी भइन्छ, कम भयो भने पनि ।
तपाईंलाई केटीहरूले किन प्रेम गर्छन् होला ?
मेरो खुलापनका कारण । जोसँग कुरा गरेँ, खुलेर गरेँ । मनमा पाप बोकेर कहिल्यै कुरा गरिएन । आफूलाई राम्रो भनेर प्रस्तुत गरिन्छ भने अरूले खोट देखाउने ठाउँ हुन्छ । आफ्नो कमजोरी आफैँले भनिदिएपछि उसलाई त राम्रो मात्रै देख्न बाँकी रह्यो नि । कसैले तपाईंको ‘कुरा मन प¥यो वा अनुहार मन प¥यो’ भन्छ भने त्यसलाई मैले कहिल्यै प्रेम ठानिनँ । किनभने, म कुरा गर्न नसक्ने हुनेबित्तिकै वा मेरो कपाल खुइलिनेबित्तिकै त्यो प्रेम पनि सकिन्छ ।
प्रेममा कतिपल्ट बहकिनुभयो ?
जतिपल्ट परेँ, त्यतिपल्ट नै बहकिएँ । प्रेममा पर्दा कहिल्यै कन्ट्रोल गर्न सकिनँ । दुनियाँको नजरमा कमजोरी र मेरो नजरमा बलियो पक्ष नै यही हो कि ।
यही बहकावले जल्दोबल्दो करिअर पनि डुबाउनुभयो है तपाईंले ?
प्रेमका अघि करिअर वा जीवन ठूलो कुरा होइन ।

Comments