‘वान–वे’का भानुप्रताप भन्छन्, ‘मलाई हिरो हुन छैन’
screennepal
प्रकाशित: २०७१, २६ माघ सोमबार
no img

काठमाडौं  । बलिउड अभिनेता सञ्जय दत्त अभिनीत फिल्म ‘वास्तव’ र ‘काँटे’ जस्ता नेपाली चलचित्र कहिले बन्ला ? यदि बन्यो भनेचाहिँ भानुप्रतापलाई पनि दर्शकले हिरोका रुपमा देख्न पाउनेछन् । नत्र उनी सधैं ‘भिलेन’ मात्रै । थुप्रै फिल्ममा भिलेनका रुपमा देखिसकिएका भाुनप्रताप भन्छन्, ‘यहाँ मलाई हिरो सुहाउँदो फिल्म नै बन्दैन ।’ फिल्म ‘वान–वे’ का खँुकार डनका रुपमा देखिन लागेका भानुप्रताप हिरोभन्दा कमचाहीँ छैनन् । तर, उनलाई हिरो हुने पटक्कै मन छैन । ‘तीन फिल्मबाट हिरोका लागि अफर आएको थियो । तर, छाडिदिएँ’ हाल फिल्म ‘वान–वे’ रिलिज मिति कुरिरहेका उनले भने, ‘मलाई भिलेनमै जम्ने इच्छा छ । अर्को कुरा, मलाई हिरो सुहाउँदो नेपाली फिल्मै बन्दैन यहाँ ।’ बलिउड अभिनेता सञ्जय दत्तको ‘वास्तव’ र ‘काँटे’ जस्ता नेपाली फिल्म बन्यो भने हिरो खेल्न तयार रहेको भानुप्रतापले सुनाए ।

Bhanu Pratap

भानुप्रताप

भानुप्रताप फिल्म क्षेत्रमा लागेको धेरै भएको छैन । करिब दुई वर्षयता कलाकारिता गरिरहेका उनले अहिलेसम्म ८ फिल्ममा अभिनय गर्न भ्याइसकेका छन् । तर, ती आठै फिल्ममा उनले खलपात्र अर्थात् भिलेनको भूमिका निर्वाह गरेका छन् । केही दिनअघि मात्र उनले फिल्म ‘रातोघर’ को सुटिङ सिध्याए । सो फिल्ममा भानुप्रतापले खुँकार भिलेनको भूमिका निभाएका छन् । तर, त्योभन्दा पनि खुँकार डनका रूपमा फिल्म ‘वान–वे’ मा देखिँदैछन् । राजिव गुरुङ ‘दीपक’ निर्मित ‘वान–वे’ मा भानुप्रताप राजधानीको ‘डन’ को भूमिकामा देखिँदै छन् । यो फिल्ममा राजधानीमा हुँदैआएको ‘डनगिरी’कै प्रसंगलाई चित्रण गर्ने प्रयास गरिएको छ । ‘वान–वे’ मा दुईजना ‘डन’ हुन्छन्, जो एक भानुप्रताप र अर्को ‘डन’को भूमिकामा रकगायक रविन तामाङ दखिँदै छन् । भानुप्रताप अहिले आफै फिल्म निर्माण गर्ने तयारीमा जुटेका छन् । उनले फिल्मको नाम ‘लालटिन’ राखेका छन् ।
आरसी पिक्चर्सको ब्यानरमा निर्मित यस चलचित्रको अर्को निर्माता रहेका छन्, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई । यो बिग ब्यानर र बिग बजेटको फिल्म हो । त्यसैले यसअघि थुप्रै फिल्ममा अभिनय गरेर पनि ‘वान–वे’बाट भानुप्रताप आशावादी छन् । उनी भन्छन्, ‘वान–वेबाट आफूलाई स्थापित गर्ने अपेक्षा गरेको छु । यसअघि पनि राम्रै भूमिका गरेको हो, तर, आफूलाई स्थापित गर्न ब्यानर र टिम पनि राम्रो हुनुपर्छ भन्ने लाग्छ ।’ नेपाली फिल्म क्षेत्रमा भिलेनको भूमिका गर्ने कलाकारको आवश्यकता महसुश भइरहेका बेला भानुप्रतापको उदय हुँदै गरेको हो । उनी भन्छन्, ‘भिलेनको भूमिका गर्ने कलाकारको अभावलाई टार्ने मेरो उद्देश्य हो ।’ हुन पनि एक समय सुनील थापा भिलेनमा जमेका थिए । उनको उपस्थिति पातलिँदै गएपछि नेपाली फिल्ममा भिलेन सुहाउँदो कलाकार आएका छैनन् । भानुप्रताप त्यो अभाव टार्ने विश्वास दिलाउँछन् । उनी भन्छन्, ‘फिल्म क्षेत्रमा भिलेनमै जम्न आएको हुँ । भिलेनमै जमेर देखाउने छु । यो कुरा वान–वे रिलिजपछि थाहा हुने छ ।’ निर्माता राजकुमारले समेत भनिसकेका छन्, ‘वान–वेबाट दुईजना कलाकार अगाडि आउनेछन् ।’ उनका अनुसार भानुप्रताप र अर्को कलाकार सिद्धार्थ गुरुङ । सिद्धार्थ यसै फिल्मबाट रजतपटमा डेब्यु गर्न लागेका हुन् । फागुन १ गतेदेखि रिलिज हुने ‘वान–वे’ मा करिश्मा मानन्धर, सिद्धार्थ, माला सुब्बा, रविन तामाङ र भानुप्रतापको मुख्य अभिनय रहेको छ । यस चलचित्रलाई सुरज सुब्बाले निर्देशन गरेका हुन् ।

Comments