रञ्जिता भन्छिन्, ‘पैसाका लागि मिस तामाङ गरेकी होइन’
screennepal
प्रकाशित: २०७१, १४ माघ बुधबार
no img
Ranjeeta lama

रञ्जिता लामा

रञ्जिता लामालाई पर्दामा नदेखिएको निकै भयो । कुनै समय तामाङ भाषाका चलचित्रमा उनको एकछत्र राज थियो । र, छोटो समयमै एक दर्जनबन्दा बढी चलचित्रमा अभिनय गर्न भ्याइन् । तर, चलचित्रमा अभिनयमा व्यस्त रहेकै बेला उनी लागे इभेन्ट मेनेजमेन्टतिर । ‘एभरेष्ट फेसन होम’ नामक इभेन्ट संस्था स्थापना गरेर ‘मिस तामाङ’, ‘मिस नेशनल क्वीन’जस्ता सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी रञ्जितालाई हिजोहाज पनि अभिनयका लागि प्रस्ताव राख्नेको कमी छैन । तर, उनको प्राथमिकता इभेन्टमा छ । उनी भन्छिन्, ‘जसरी पनि म आफ्नो समुदायमा चेतना फैलाउन चाहन्छु । मिस तामाङमार्फत तामाङ समुदायको कला, संस्कृति र भेषभूषाको प्रवद्र्धन गर्दै आएकी छु ।  पैसाको लागि गरेकी होइन ।’ ‘मिस तामाङ–२०७१’ को तयारी गरिरहेकी एभरेष्ट फेसन होमकी अध्यक्ष तथा नायिका रञ्जितासँग एमपी सुब्बाले गरेको कुराकानी ।

ranjeeta

रञ्जिता लामा

इभेन्ट पेसामा लाग्नुभएको कति भयो ?
सन् २००९ देखि निरन्तर इभेन्ट गर्दै आएकी छु । मिस तामाङ र मिस टिन तामाङमा संलग्न भएपछि इभेन्ट सुरु गरेकी हुँ ।
अभिनयमै व्यस्त भइरहेका बेला किन लाग्नुभयो यतातिर ?
मेरो उद्देश्य भनेको तामाङ समुदायमा कुनै न कुनै क्षेत्रबाट चेतना जगाउनु हो । त्यो समयमा मात्र नभएर अहिले पनि मलाई तामाङ चलचित्रमा अभिनयका लागि प्रस्ताव आइरहेका छन् । तर, मैले समय दिन पाएको छैन । यता, मिस तामाङ आयोजना गरेर पनि तामाङ समुदायको भाषा, संस्कृति र कलाको प्रवद्र्धन गरिहेकी छु ।
अभिनय र इभेन्टमध्ये फाइदा कुनबाट भएको छ ?
आर्थिक फाइदा गर्छु भनेर काम गरेकी छैन । इभेन्ट क्षेत्रमा आउनुअघि तामाङ चलचित्रमा अभिनय गर्थेँ । त्यो आफ्नो समदायका लागि थियो । र, अहिले पनि मिस तामाङ र मिस नेशनल क्वीन गर्दै आएकी छु । तर, फाइदा लिएकी छैन ।
फाइदा नहुने काम किन गर्नुहुन्छ ?
मैले भने सके नि, आफ्नो समाज र आफ्नो समुदायका लागि केही गर्नका लागि हो । मिस नेशनल क्वीन गर्दा त मलाई घाटा छ । तैपनि गरिरहेकी छु । कतिपय नेपाली चेलीहरुले आफ्नो प्रतिभा भएरपनि प्लेटफर्म पाइरहेका छैनन् । त्यसैले उनीहरुलाई प्लेटफर्म निर्माण गर्नलाई कार्यक्रम गरेकी हुँ ।
पछिल्लो समय सौन्दर्य प्रतियोगिता व्यापारकै रुपमा फस्टाएका छन् नि ?
हुन सक्छ, यहाँ थुप्रै नाम र जातजातीमा सौन्दर्य प्रतियोगिता हुँदै आएका छन् । कतिपयले आर्थिक लाभका लागि पनि गर्दै आएका होलान् । त्यो उनीहरुलाई नै थाहा छ । तर, मैले आर्थिक आम्दानी गर्छु भनेर इभेन्ट गरेकी होइन । पैसा कमाउने नै सोच भए अरु व्यवसायिक गर्थेँ होला ।
दिनैजस्तो हुने सौन्दर्य प्रतियोगिताहरु निष्पक्ष हुन्छन् ? अर्थात् भनेजस्तो प्रतिभाले अवसर पाउँछ त ?
म अरुको जिम्मा लिन सक्दिन । तर, मिस तामाङ र मिस नेशनल निष्पक्ष हुन्छ । निर्णायकहरुले जसलाई चाहनुहन्छ, उसले नै जित्छ । र, यसरी वीनर भएकाहरुले प्लेटफर्म पनि पाएका छन् ।
अहिलेसम्म ‘मिस तामाङ’को ताज पहिरिएकाहरुले के पाए ?
आ–आफ्नो ठाउँमा राम्रै प्लेटफर्म पाएका छन् । मिस तामाङको ताज जितेकाहरु मिस नेपालदेखि मिडिया पर्सनसम्म भएका छन् । केही ग्ल्यामरस क्षेत्रमा छन् । उनीहरुले पनि राम्रै गरिरहेका छन् ।
नेपालमा यतिका धेरै सौन्दर्य प्रतियोगिता आवश्यक छ त ?
आवश्यक छ किनकि, हरेक क्षेत्रमा प्रतिस्पर्धा हुनपर्छ भन्ने मेरो मान्यता हो । धरै प्रतियोगिता भए धेरै नेपाली चेलीले अवसर पाउँछन् । र, पाइरहेका पनि छन् । तर, समाजले हेर्ने दृष्टिकोणमा सौन्दर्य प्रतियोगिता नकरात्मक भएको छ । यो मिडिया फिल्ड भएकाले पनि होला । यहाँ अरु क्षेत्रमा पनि यस्तै लहर छ, तर त्यो चर्चा गरिँदैन ।
अब चलचित्रमा अभिनयचाहिँ गर्नुहुन्न ?
गर्छु । करिब तीन वर्षयता अलि व्यस्त भएँ । त्यसैले समय दिन पाइनँ । राम्रा चलचित्रहरु पनि छाडनुप¥यो । तर, अबचाहिँ अभिनय गर्छु । सायद चाँडै नै एक चलचित्रमा अभिनय गर्ने छु ।

Comments