‘विश्व कीर्तिमान’को पखाई । यसै साता प्रमाणपत्र आउँदै
screennepal
प्रकाशित: २०७१, ६ माघ मंगलवार
no img

एमपी सुब्बा

सौगात विष्ट । वर्ष ८, कक्षा २ मा अध्ययनरत । अब यतिले मात्रै पुग्दैन ८ वर्षीय सौगातको परिचय । अब उनी चलचित्र निर्देशक हुन् । र, संसारकै सबैभन्दा कान्छो उमेरका पनि । ८ वर्षकै उमेरमा चलचित्र ‘लभ यु बाबा’ निर्देशन गरेर संसारकै कान्छो निर्देशक बन्ने दौडमा रहेका सौगातको हातमा केही दिनमै पर्दै छ ‘गिनिज बुक अफ वल्र्ड रेर्कड’ को सर्टिफिकेट । यसअघिका किसन श्रीकान्तको रेकर्डलाई तोड्दै सौगातले ‘संसारकै कम उमेरका चलचि निर्देशक’ को रेकर्ड राख्न लागेका हुन् । भारतको बैंलोरका ९ वर्षीय किसनले सन् १९९६, जनवरीमा गिनिज बुकमा आफ्नो नाम लेखाएका थिए ।
कलाकारकै पारिवारिक वातावरणमा जन्मिएका सौगातले विश्व रेर्कड राख्न लागेपछि उनका बाबु–आमा खुसीले फुरुंग छन् । सौगातका बाबु अभिनेता गजित विष्ट र आमा सम्झना पोखरेल विष्टले कमाण्डर पोष्ट दैनिकसँग कुराकानी गर्दै भने, ‘सबै डकुमेन्ट पठाइसकेका छौं । अब एक साताभित्र प्रमाणपत्र आउँदै छ ।’ सौगातलाई कान्छो निर्देशक प्रमाणित गर्न उनीहरुले निकै मिहिनेत गरे । गजितले भने, ‘सौगातले काम गरेकै भएपनि प्रमाणित गर्न विभिन्न कागजपत्र, भिडियो फुटेजजस्ता डकुमेन्ट पठाउनपर्ने भएकाले निकै संघर्ष गर्नुप-यो ।’

Saugat his famale
सौगातकी आमा सम्झनाले भनिन्, ‘चाँडै नै छोराको कीर्तिमानी रेर्कड हेर्ने मन छ ।’ चलचित्र रिलिज भइसकेको र सबै प्रक्रिया पनि भइसकेकाले ढिलो–चाँडो सौगातले रेर्कड राख्ने छन् नै, तर  गिजित र सम्झाना छोराको प्रतिभाको कदर र कीर्तिमान हेर्न आतुर छन् । सौगातको यो विश्व कीर्तिमान उनका बाबु–आमाका लागि मात्र नभएर सारा नेपालीको पनि गौरवको विषय बन्ने छ । पक्कै पनि यी ८ वर्षीय सौगातको कीतिमानीले नेपालीको पनि शिर ठाठो हुनेछ ।
विश्व कीतिमान राख्नु चानुचुने कुरा होइन । प्राय असम्भव विषयले मात्र यस्तो कीतिमान राख्ने गर्छ । यस्तै, सुरुमा सौगात पनि निर्देशक बन्न भन्ने अरुका लागि मात्र नभई उनकै आमा–बाबुका लागि पनि अपत्यारिलो थियो । अरुलाई त विश्वास नै थिएन । त्यही अविश्वासिलो काम गरेरै सौगात यो साता विश्व कीर्तिमान कायम गर्दैछन् ।
सौगातकी आमा सम्झनाले भनिन्, हामीले उनको प्रतिभा देखेरै चुनौती मोलेर चलचित्र निर्देशन गर्न दिएका हौं ।’ सम्झाना सौगातले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’ की निर्मात्री पनि हुन् । उनका अनुसार सौगातले सानैमा विभिन्न क्रियाकलापमा ध्यान दिन्थे र ५ वर्षकै उमेरमा ‘मेरी गोल्ड’ को विज्ञापनमा मोडलिङ गर्न भ्याएका थिए । सम्झनाले भनिन्, ‘टिभीमा आएका हरेक कार्यक्रमहरु नियालेर हेर्थे । र, म पनि यस्तै बन्छु भनेर सुनाउँथ्यो । यस्तो छोराका क्रियाकलाप हेर्दा ठूलो भएपछि केही न केही गर्छ जस्तो लाग्थ्यो । तर, सानैमा गरेर देखायो ।’ अभिनेता गजित विष्टका छोरा हुन् सौगात । तर, अहिले गजितका छोरा सौगात भन्न थालिएका छ । गजित भन्छन्, ‘८ वर्षीय छोरा सौगातलाई चलचित्र निर्देशन गर्न दिनु हामी आमा–बाबुका लागि चुनौती थियो । तर, जब काम सुरु भयो र फिल्डमा गइयो । त्यसपछि म नै अचम्ममा परेँ ।’
हुन त सौगात एकैचोटी निर्देशनमा आएका होइनन्, उनले ‘लभ यु बाबा’ निर्देशन गर्नुअघि केही चलचित्रमा अभिनय गरेका थिए भने फ्लोरमा जाुनअघि वर्कशपसमेत गरेका थिए । सौगातले ७ वर्षकै उमेरमा बृत्तचित्र ‘कखरा’ मा अभिनय गरेका थिए । त्यसपछि उनले चलचित्र ‘जन्मभूमि’ मा अभिनय गरे । यसै चलचित्रमा अभिनय गर्दा सौगातले निर्देशनबारे थप ज्ञान लिएको उनका बाबु गजितले बताए ।
हुन त चलचित्र निर्माण एउटा टिमवकै हो । त्यसैले एउटा राम्रो चलचित्र बन्नमा पूरै टिमको संलग्नता हुनुपर्छ । तर, सौगात यस्तो निर्देशक दरिए, जसले आफैले सबै क्रिएट सिर्जना गर्दथे । ‘लभ यु बाबा’ मा गजितले मुख्य भूमिका निर्वाह गरेका छन् । थुप्रै चलचित्रमा अभिनय गरिसकेका गजितले आफ्नै ८ वर्षीया छोरा सौगातले निर्देशन गरेको ‘लभ यु बाबा’ मा आफू खुसी काम गर्न पाएनन् । गजितले भने, ‘सुरुमा त मलाई कस्तो अप्ठ्यारो लाग्यो भने कसरी काम गर्ने होला भन्ने सोचे । तर, विस्तारै सौगातको क्रियटिभ देखेर सबै उनको आदेशअनुसार काम गरेँ ।’
चलचित्रको संवाद तथा पटकथा गम्भीर विष्ट (जो सौगातकै काका हुन्) ले लेखेका हुन् । ती संवादभित्र पनि सौगातले नयाँ १४ वटा दृश्य सिर्जना गरेको गजितले बताए । ‘सुटिङ अवधिभर सौगातले कति खट्थे भन्ने त स्पटमै आउनेहरुलाई पनि थाहा छ’ उनले भने, ‘तर, नदेख्नेहरुले पनि के ८ वर्षीयले निर्देशन गर्लान् र भन्ने प्रश्न गरे ।’ तर, चलचित्र सोचेभन्दा राम्रो बन्यो । चलचित्र जतिले हेरे, कसैले नराम्रो भनेनन् । तैपनि बालकले बनाएको चलचित्र भनेरै धेरैजस्तो दर्शक सिनेमा हल पुगेनन् । यसमा गजित दुखित छन् । उनी भन्छन्, ‘चलचित्र देशका ५३ सिनेमा हलमा एकैसाथ रिलिज भएको थियो । तर, धेरैले बालकको चलचित्र भनेर हेरेनन् । यसमा दुःख लाग्छ । सौगातकै स्थानमा कुनै विदेशी बालक भएको भए वाह भन्थे । हामी नेपालीको कमजोरी नै यही हो ।’ जेहोस्, आफ्नो छोरोको प्रतिभा र कामदेखि गजित र सम्झाना मख्ख छन् । उनीहरुको खुसीले चाँडै अर्को मोड लिँदैछ, त्यतिखेर सारा नेपालीले पनि खुसी मान्ने छन्, ‘वाह, संसारकै कान्छो चलचित्र निर्देशक नेपाली’ भनेर । ‘लभ यु बाबा’ फेमिली ड्रामा चलचित्र हो, जुन यस वर्ष रिलिज भएका चलचित्रमध्ये मन पराइएकोमा पर्छ । यसमा विष्ट परिवार पनि खुसी छन् ।

Comments