डोटेली नाटक ‘झुमा’ उडिसा जाने (कथासारसहित)
screennepal
प्रकाशित: २०७१, ६ माघ मंगलवार
no img

jhuma 1

काठमाडौं । क्रियटिभ एकेडेमी कीर्तिपुरले लोकदृष्टि थिएटरको सहकार्यमा नाटक ‘झुमा’ सोमबार क्रियटिभ नाटकघर कीर्तिपुरमा  मञ्चन गरेको छ । नेपालको सुदूरपश्चिम विकास क्षेत्रको रहनसहन तथा प्रचलित देउकीप्रथामा आधारित यस नाटकलाई डोटेली भाषामा तयार पारिएको छ । यो नाटक १२ माघमा भारतको उडिशा राज्यमा हुने ‘ग्लोवल थिएटर फेस्टिवल’ मा प्रस्तुत हुने भएको छ । निर्देशक पौडेलका अनुसार  करिब २ हप्तासम्म सो फेस्टिवलमा नेपाल, अमेरीका, दक्षिण कोरिया, श्रीलंका, भारत, पाकिस्तानलगायत देशका नाटकको सहभागिता रहने छ ।

jhuma
एक गरिब परिवारमा जन्मिएका दुई सन्तान दाज–बहिनीले एक अर्कालाई निकै माया गर्छन् । आर्थिक रुपमा निकै कमजोर त्यो परिवारले हुनेखानेको खेत अधियामा कमाएर जिविका चलाइरहेका हुन्छन् । बावु–आमाले छोरालाई जसोतसो स्कुल पठाएपनि छोरीलाई पढाउन सकिरहेका हुँदैन । एकदिन छोरो अकस्मात बिरामी पर्छ । गाउँकै एक धामीलाई बोलाएर के भएको हो  ? भनी सोध्दा धामीले देउता रिसाएर यस्तो भएको  बताउँछन् । साथै, अब एउटी कन्यालाई देउकी बनाएर मन्दिरमा चढाएमात्र छोराको निको हुने सुनाउँछन् ।
साँझ–बिहान छाक टार्न धौ–धौ त्यस परिवारले अर्काकी छोरीलाई किनेर ‘देउकी’ बनाएर मन्दिरमा चढाउन सक्ने अवस्था हुँदै । त्यसैले आफ्नै छोरी झुमालाई देउकी बनाएर मन्दिरमा चढाउने निधो गर्छन् । धामीले पनि झुमालाई देउकी बनेपछि सबैले देवी भनेर पूजा गर्ने, राम्रोे लगाउन पाइने भनेर फुकाउँछन् । र, देउकी बनेर मन्दिरमा बसेपछि मात्र झुमाले ‘देउकी’ बनेर मन्दिरमा बसेपछि त घर जान नपाइने, जीवनभर मन्दिरमै बस्न पर्ने, बिहे गर्न नपाइने, मन्दिरमा आउने भक्तजनले जे चढाउँछन् त्यही खाएर बाँच्नुपर्ने भन्ने जस्ता अनेकौँ कुरा थाहा पाउँछिन् । उता दाजुलाई भने आफ्नी बहिनीलाई ‘देउकी’ बनाएर राखेको बावु–आमाले बताएको हुँदैनन्  एकदिन गाउँकै एकजनाले त्यो कुरा बताएपछि उनी बहिनीलाई खोज्दै मन्दिरमा पुग्छ । बहिनीले भोग्नु परेका अनेकौ दुःख कष्टहरु देखेर दाजुलाई खपिनसक्नु पिडा हुन्छ । त्यसपछि दाजुले अब जस्तोसुकै सजाय भोग्नु परेपनि आफुले नै भोग्छु भन्दै बहिनीलाई आफूसँगै घर लिएर गएपछि नाटक अन्त्य हुन्छ ।

jhuma 2
प्रेम पौडेलको लेखन तथा निर्देशनमा तयार पारिएको नाटकमा प्रयूला पौडेल, शुसान्त अधिकारी, एलिसा पौडेल, अभिशेख बुढाथोकी, अपेक्षा पौडेल, सन्तोष पोख्रेल, सोनीया केसी, सन्दिप भण्डारीलगायतका कलाकारले अभिनय गरेका थिए । चन्द्रदेव भट्टको भाषा रुपान्तरण, सुमित्रा गिरीको भेषभूषा, अनिल काफ्लेको संगीत संयोजन तथा राजमान महर्जनको सेट निर्माण रहेको यस नाटकको संयोजन शिवप्रसाद गिरीले गरेका हुन्  ।

Comments