अध्यक्षका ‘एक्लो दाबेदार’
screennepal
प्रकाशित: २०७१, १७ पुष बिहीबार
no img

काठमाडौं । नेपाली चलचित्रसम्बन्धी सरकारी मातहतको एकमात्र  संस्था हो, चलचित्र विकास बोर्ड । त्यसैले चलचित्रकर्मीका लागि बोर्ड एउटा आकर्षण केन्द्र बन्ने गरेको छ । विशेषगरी बोर्डको अध्यक्षका लागि चलचित्रकर्मीबीच नै राजनीत चलखेल हुने गर्छ ।  यतिखेर पनि बोर्डको अध्यक्ष पदमा कसलाई ल्याउने भन्ने चर्चा राजनीतिबृतबाटै चर्चा सुरु भएको छ ।

Rajkumar Rai

निर्माता राजकुमार राई

चर्चामा अहिले निर्माता राजकुमार राईको नाम एक्लो छ । वर्तमान नेपाल चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका राईको स्पर्धी  देखिएका छन् अर्थात् सरकारले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्ती गरिहाले पनि कतैबाट विरोधभाष हुने देखिदैन अहिले । यो कुरा निर्माता राई पनि स्वीकार्छन् । उनी भन्छन्, ‘बोर्ड मेरो नाम चर्चामा आएको छ श्र अहिलेसम्म मेरो स्पर्धी देखिएका छैनन् ।’ एकपटक राजकुमार राई बोर्ड अध्यक्ष हुनुपर्ने चलचित्रकर्मीको पनि इच्छा छ ।
विकास बोर्डको अध्यक्ष पदमा सिधै राजनीति नियुक्ती हुने भएकाले पनि निर्माता राईको सम्भावना प्रबल देखिएको हो । जुन पार्टी नेतृत्वको सरकार छ, तिनै पार्टी समर्थक चलचित्रकर्मीलाई बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्ने पुरानो संस्कार छ । वर्तमान सरकार नेपाली कांग्रेस नेतृत्वको भएकाले राईको नाम चर्चामा आएको हो । निर्माता राई कांग्रेसनिकट मात्र नभई एक कुसल र सफल चलचित्रकर्मी पनि हुन् । चलचित्रकर्मीको चाहना यो होकि, बोर्ड अध्यक्ष चलचित्र क्षेत्र र चलचित्रकर्मीको भावना बुझ्ने होस् । माओवादी कोटामा नियुक्ती गरिएका वर्तमान बोर्ड अध्यक्ष धमेन्द्र मरबैता सक्रिय चलचित्रकर्मी नभएको भन्दै विवादमा आएका थिए । मानौ, मरबैताले आफ्नो कार्यकाल विरोधकै आवाज सुनेर बिताए । एक बरिष्ठ चलचित्रकर्मीले भन्छन्, ‘जो सुचना तथा सञ्चारमन्त्री नजिक छन्, उनलाई बोर्ड अध्यक्ष हुन कुनै सकस हुँदैन ।’ निर्माता राई डा. मिनेन्द्र रिजालनिकट मानिन्छन् ।
सरकारले निर्माता राईलाई अध्यक्ष नियुक्त गरे विकास बोर्डमा कांग्रेसनिकट चलचित्रकर्मीको बाहुल्यता हुने छ । यसमा कुनै संकोचसमेत छैन । किनकि, जसको सरकार, उसैको बोर्ड भन्ने मान्यता बसिसकेको छ । केही समयअघि मात्र सरकारले बोर्डको सदस्यमा सुरेश दर्पण पोखरेल, रुपा राना र राजेन्द्र केसीलाई सदस्यमा नियुक्ती गरेको हो । उनीहरु कांग्रेसनिकट चलचित्रकर्मीका रुपमा चिनिन्छन् ।
चलचित्र विकास बोर्ड एउटा यस्तो संस्था हो, जसलाई चलचित्रकर्मीका लागि अभिभावक संस्था मानिन्छ । त्यसैले पनि उक्त स्थानमा पुग्ने व्यक्ति चलचित्रकर्मीको भावना बुझ्ने हुनुपर्ने छ । यसमा निर्माता राई सक्षम रहेको एक चलचित्रर्मीले बताए । ‘नाम नलेख्नु होला, फेरि राजनीति ग¥यो भन्छन्, ‘ति चलचित्रकर्मीले भने, ‘तर, अहिले मैले देखेको राजकुमार राई नै हुन, जो संस्था चलाउन सक्षम छन् ।’ निरन्तर दुई कार्यकाल निर्माता संघको अध्यक्ष भएकाले पनि राईमाथि चलचित्रर्मीको विश्वास छ । निर्माताहरुको छाता संगठन निर्माता संघमा आएपछि राईले केही सुधार पनि ल्याएका छन् ।
के राजकुमार बोर्डका अध्यक्ष बन्छन् त ? उनी भन्छन्, ‘त्यो समयले बताउँछ । तर, यदि बोर्ड अध्यक्ष भए भने चलचित्र क्षेत्रलाई कसरी चलाउनुपर्छ मलाई थाहा छ । मेरो पक्षमा सारा चलचित्रकर्मी छन् । एउटा जिम्मेवारी पदमा पुग्न ठूलो कुरा होइन, कार्य सञ्चालन गर्नु अहम विषय हो । साथ भएन भने कहीँकतै पनि केही गर्न सकिँदैन । त्यसमा मलाई डर छैन किनकि, मलाई चलचित्रकर्मीको साथ छ ।’
त्यो राजनीति नियुक्ति नै किन नहोस् । तर, चलचित्रकर्मी नै बोर्ड अध्यक्ष हुनुपर्ने कलाकार तथा चलचित्रकर्मीको माग हो । यसअघि यादव खरेल, नीर शाहजस्ता चलचित्रकर्मी बोर्डमा आएपनि चलचित्रकर्मीको पक्षमा उदारणीय काम गरेको पाईंदैन । पछिल्लो अध्यक्ष मरबैता चर्चामा आए । तर, उनले कुनै उपलब्धीपूर्ण काम नगरेको गुनासो आइरहेको बेला बोर्डमा नयाँ अध्यक्ष नियुक्तीको चर्चा सुरु भएको हो । राजनीति नियुक्ती भएकाले सरकार परिवर्तनसँगै नैतिक रुपमा अध्यक्षले राजीनामा दिने संस्कार छ । तर, मरबैताबाट राजीनामा नआएपछि सरकार आफै अध्यक्ष नियुक्ति प्रक्रियामा लागेको हो ।

Comments