‘आइ लभ यू’को उत्तरै जानिनँ– मुना थापा
screennepal
प्रकाशित: २०७१, ४ पुष शुक्रबार
no img

मुना थापामगर लोकगायिकामध्ये सामाजिक सञ्जाल फेसबुकमा धेरै फ्यान फलोअर भएकी गायिका हुन् । उनलाई झन्डै सात लाखले फ्यान पेजमा पछ्याएका छन् । पछिल्ला वर्षमा विदेशमा कार्यक्रमका लागि बढी बोलाइने गायिकामा पनि उनी पर्छिन् । तर, बोलेर पिठो बिकाउने वर्तमान समयमा पनि उनी निकै कम बोल्छिन् । जति बोल्छिन्, तौलेर बोल्छिन् । यी स्टेजबाहिरकी मुना हुन् । जब स्टेजमा उक्लिन्छिन्, मुना उल्टो हुन्छिन् । दर्शकलाई रमाइलो लाग्ने प्रसंग बोल्छिन् । अझ कुराकानी गर्दा भन्दा बलिया तर्क र ख्यालठट्टा गीतमार्फतै प्रस्तुत गर्न सक्छिन् । उनले आफैँले सवालजवाफ गरेर ०६३ सालमा दोहोरी प्रतियोगिता समेत जितेकी छिन् । ‘हावा सरर’ लोकगीतबाट आफूलाई चिनाएकी उनका ‘तिते करेलीले’ जस्ता डान्सिङ बिटका गीत पनि चर्चित छन् । उनीसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः

यो सिजनमा त लामै समय नेपाल रहनुभयो ?
त्यस्तै प¥यो । कुवेतको कार्यक्रम क्यान्सिल भयो । अर्काे एउटा देशका लागि अफर आएको थियो, त्यसैले कार्यक्रम लिइनँ । त्यो देशले भिसा दिएन । त्यसैले यतै छु ।
तपाईंलाई अरू लोकगायिकाभन्दा बढी नै विदेश कार्यक्रमका अफर आउँछन् । खास कारण के होला ?
धेरैले मेरो प्रस्तुति र गीत मन पराएर बोलाउँछन् । अर्काे भनेको हाम्रो (मगर) समुदायकाले गर्ने कार्यक्रममा मलाई प्रायः सम्झन्छन् ।
कहाँ, कहाँ पुगियो ?
अमेरिका जान पाएकी छैन । युरोपेली देशहरू, हङकङ, मलेसिया दुबई, जापानलगायत देशमा त दोहो¥याएर, तेह¥याएर पुगिसकेँ ।
अहिलेको जमानामा ‘बोल्नेको पिठो पनि बिक्छ’ भनिन्छ । तपाईं निकै कम बोल्नुहुन्छ । तर, पनि आफ्नो प्रतिभा बिकाइरहनुभएको छ है !
आफूसँग पिठो हुनेले बिकाउनका लागि बोल्ने हो । मसँग चामल नै छ कि ? त्यै भएर मैले बोलेर बिकाउनुपरेको छैन । मैले नबोले पनि सबैले मन पराएर मेरो प्रतिभाको कदर गरिदिएका छन् ।
स्टेजमा त दर्शकसँग राम्रै बोल्नुहुन्छ । तर, बाहिर कम बोल्नुहुन्छ । धेरै बोल्दा बिग्रेला, त्यो भन्दा नबोलेकै बेस भनेर हो ?
होइन । म सानैदेखि कम बोल्ने स्वभावकै थिएँ । अहिले अझ बढी बोल्ने भएकी छु । स्टेजमा चाहिँ आफैँ बोल्न आउँछ । रमाइलो गर्न आउँछ । नबोली हुँदैन भनेर हो वा भगवान्ले नै मलाई यस्तो क्षमता दिएका हुन्, थाहा छैन ।
तपाईंका सर्कलका मान्छेका अनुसार तपाईं त्यति हँसीमजाक गर्नुहुन्न । तर, लाइभ दोहोरी गाउँदाचाहिँ त्यस्तो ठट्टा र घोचपेच कसरी आउँछ ?
मलाई कसैसँग यत्तिकै गफ गर्दाभन्दा गीतबाट बढी कुरा भन्न आउँछ । यो सानोदेखिको बानी होला । मलाई त गफ पनि गीतैमा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
गाउँतिर छँदा रोदीमा खूब दोहोरी गाइयो ?
हाम्रो पालामा पुरानो जस्तो रोदी त थिएन । तर, मेलापर्वमा दोहोरी बसिन्थ्यो । म केटासँग जुहारी खेल्थेँ । सायद, त्यसैले गीतमा धेरै कुरा भन्न आएको हो ।
फेसबुकतिर धेरै muna(2)सक्रिय हुनुहुन्छ र फ्यान पेजमा पनि धेरैले लाइक गरेका छन् । यो रमाइलोको लागि कि प्रविधिको युगलाई बुझेर ?
धेरैले मेरो क्षमतालाई मन पराएर फेसबुक पेज लाइक गरिदिएका छन् । उनीहरूलाई मेरा नयाँ÷पुराना गीत फेसबुकमार्फत सेयर गरेर सुनाउनुपर्छ जस्तो लाग्छ । मैले कहाँ कार्यक्रम गर्दैछु, त्यसबारे जानकारी दियो भने उनीहरू आउँछन् । अहिले धेरैले फेसबुक चलाउँछन् । उनीहरूलाई आफ्नो कार्यक्रम र गीतबारे चाँडो थाहा दिने माध्यम यही भएकाले फेसबुक चलाइरहेकी हुन्छु ।
सेलिब्रिटीलाई त फेसबुकमा खूब दुःख दिन्छन् रे । तपाईंले फेसबुकका कारण त्यस्तो तनाव भोग्नुभएको छ ?
अहिलेसम्म छैन । मैले कसैको केही नबिगारेकाले मेरो केही बिगार गर्नुअघि उनीहरूले पनि सोच्छन् होला ।
फ्यानले प्रेम प्रस्ताव राखेर हैरान लाउँदा हुन् ?
अनेकथरी म्यासेज पठाएका हुन्छन् । रिप्लाई गरिसाध्य लाग्दैन । गर्दा पनि गर्दिनँ । बोल्नैपर्नेसँग पनि आफूभन्दा पाको मान्छेलाई दाइ र कान्छोलाई भाइ भनेर पहिल्यै नाता लगाउँछु ।
नयाँ गीत केही ल्याउँदै हुनुहुन्छ कि ?
केही दिनअघिमात्रै ‘आई लभ यू को उत्तरै जानिनँ’ भन्ने गीत रेकर्ड गरेकी छु ।
रमाइलो छ जस्तो छ । त्यसको एक टुक्का भन्नुहोस् न ?
अहिलेसम्म आवश्यक ठानिनँ
आई लभ यू को उत्तरै जानिनँ
उखु पेले गुलियो, तोरी पेले तेल
पढ्न लेख्न भइनँ कहिल्यै पनि फेल
बुझ्न कठिन रहेछ पिरतीको खेल
जहिले पनि फेल म त जहिले पनि फेल


तपाईंको जीवनसँगै मिल्ने रहेछ ! आफ्नै भावना पो हुन् कि ?

गीत त गीतै हो । तर, गीतकार वसन्त थापाका गीत मन पर्थे । उहाँसँग कहिल्यै काम गर्न पाएकी थिइनँ । यसपल्ट उहाँलाई मेरा लागि गीत लेखिदिनुस् भनेकी थिएँ । यस्तो लेखिदिनुभयो । गीत मन प¥यो । मसँग मात्रै होइन, अविवाहित सबै युवतीको जीवनसँग मिल्ने छ । यसकारण धेरैले रुचाउँछन् भन्ने अपेक्षा गरेकी छु ।
तपाईंले चाहिँ अहिलेसम्म विवाह नगर्नु भएको आवश्यक नठानेर कि ‘आई लभ यू’ को उत्तर नजानेर !
अहिलेसम्म आवश्यक नठानेर पनि होला । खासमा चाहिँ लगन नजुरेर होला ।
लगन त तपाईंले चाहे न जुर्ने हो ?
अझै दुईतीन वर्ष नजुराऊँजस्तो लागेको छ । घरमा मभन्दा माथि र तलका सबैको बिहे भइसक्यो । त्यसैले कहिलेकाहीँ बाआमाले नि कुरा गर्नुहुन्छ । तर, यस्ता कुरामा हतार नगरौँ जस्तो लाग्छ ।
यस्तो भन्दै जाँदा राम्रा मान्छे पनि त छुट्लान् ?
बिहे भनेको राम्रो मान्छेसँग भन्दा पनि जोसँग लेखेको छ, उसैसँग हुन्छ रे ।
तपाईंको जीवनसाथीको कुनै स्केच छ दिमागमा ?
राम्रो संस्कार भएको परिवारको, राम्रो मन भएको र मेरो क्षेत्रलाई इज्जत गर्ने खालको होस् ।
अहिले तपाईं चर्चित हुनुहुन्छ । कहिलेकाहीँ विगततिर फर्किंदा के–के सम्झिनुहुन्छ ?
मसँग मिल्ने साथीको खूब याद आउँछ । हामी सँगै मेलापात जान्थ्यौँ । ऊ मभन्दा राम्रो गाउँथी । तर, परिवारको सहयोग नभएकाले गायन क्षेत्रमा आउन पाइन । बीचमा एकपल्ट मैले उसलाई काठमाडौँ ल्याएँ पनि । तर, परिवारकै कारण उसले निरन्तरता दिन सकिन । अलिकति धैर्य र मेहनत ग¥या भए ऊ पनि चर्चित गायिका हुन्थी ।
तपाईंलाई चाहिँ गायिका बन्ने दौडमा केही गुमाएँजस्तो लाग्छ कि लाग्दैन ?
पढ्न सकिनँ । काठमाडौँ आएपछि दोहोरी साँझमा बेलुका गाइन्थ्यो । बिहान वा दिउँसो कलेज गएको भए हुन्थ्यो भनेर अहिले सोचिरहेकी हुन्छु ।
दोहोरी साँझमा लामै समय गाइयो ?
पाँच वर्षसम्म गाएँ । पछि कार्यक्रम र रेकर्डिङमा व्यस्त हुन थालेपछि छाडेकी हुँ ।
काठमाडौँ आउनेबित्तिकै दोहोरी साँझमा गाउन थाल्नुभएको हो ?
हो । गणेश गुरुङ नामका चिनेकै दाइ दोभान दोहोरी साँझमा हुनुहुन्थ्यो । उहाँले सुरुमै त्यहीँ काम लगाउनुभयो । सजिलो पनि भयो । अरूजस्तो बस्न, खान पनि समस्या भएन । गायिका शकुन्तला थापा दिदीसँग बसेँ ।
शुक्रवार पत्रिकाबाट

Comments