सुमिना घिमिरे सम्पर्कमै छैनन् : शम्भु प्रधान
screennepal
प्रकाशित: २०७१, १५ मंसिर सोमबार
no img

काठमाडौं । अहिले निर्देशक शुम्भु प्रधानको मनै ‘रंगबैजनी’ भएको छ । आफ्नो हरेक कुरामा उनी रंग बैजनी मिसाउँछन् । आइतबार नुतन स्टुडियो आयोजित कार्यक्रममा पनि उनले ‘बैजनी’ कुरा गरे । ‘बैजनी अर्थात् पर्पल कलर मायाको प्रतिक हो’ उनले भने, ‘त्यस्तै चलचित्र रंग बैजनीमा पनि मायाकै कुरा छ ।’ शुक्रबारबाट रिलिज हुन गइरहेको ‘रंग बैजनी’ बारे कुरा गर्दै निर्देशक प्रधानले भने, ‘चलचित्रमा इमोसनल बढी छ । अहिलेका दर्शकको भावना बुझेर यो चलचित्र निर्माण गरेको हुँ ।’

ranga baijani
पुराना निर्देशकले नया युवापुस्ता सुहाउँदो आफ्नो चलचित्र बताएपछि धेरैलाई पत्यार लागेन । र, उनीमाथि प्रश्न तेर्सिए । जवाफमा निर्देशक प्रधानले भने, ‘रंग बैजनी मायाको प्रतिक हो, त्यो पनि आमाको मायाजस्तै । आमाको माया न पुरानो हुन्छ, न त नयाँ नै । त्यस्तै, हो रंग बैजनी ।’ यसै चलचित्रबाट प्रधान १२ वर्षपछि चलचित्र क्षेत्रमा कम्ब्याक भएका हुन् । त्यसैले उनको आगमनलाई चलचित्रकर्मीले नजिकबाट नियालिरहेका छन् । तर, उनी निर्धक्क भन्छन्, ‘माया बाँडेर माया खोज्नु आएको हुँ । अवश्य दर्शकको माया पाउने छु ।’

baijani garima and dikpal
चलचित्र प्रमोसनकै लागि निर्मात्री नुतन प्रधान केही दिनअघि मात्रै अमेरिकाबाट नेपाल आएकी छन् । उनले एकपटक आफ्नो चलचित्र हेरिदिन आग्रह गरेकी छन् । ‘लामो समयपछि चलचित्र क्षेत्रमा कम्ब्याक भएजस्तो लागेपनि म निरन्तर यसै क्षेत्रमा छु’ कार्यक्रममा नुतनले भनिन्, ‘रंग बैजनी हेरेर माया गरिदिनु होला, तपाईहरुको मायाले अझै हामीलाई हौसला मिल्नेछ । ‘रंग बैजनी’ को प्रमोसन कार्यक्रममा नायक दिक्पाल कार्की र नायिका गरिमा पन्तको उपस्थिति भएको भए पनि अर्की नायिका सुमिना घिमिरे भने देखिइनन् । सुमिना नदेखिएपछि उनको खोजी भएको थियो । तर निर्देशक प्रधानले सुमिना आफ्नो सम्पर्कमै नरहेको बताए । प्रधानले भने, ‘सुमिना पहिलो पत्रकार सम्मेलनमा आएपनि त्यसपछि मोबाइल स्विच अफ गरेर बसेकी छन् । कहाँ छिन् मलाई थाहै छैन ।’ ‘रंग बैजनी’ को कथाकारसमेत रहेकी नुतनले चलचित्र नारीप्रधान भएको बताउँदै एउटी नारीका लागि नारी नै दुश्मन हुने बताइन् । उनले भनिन्, ‘रंग बैजनीमा नारीको अन्तरसंघर्ष चित्रण गरिएको छ ।’

Comments