मंसिर महिना मेरो चुनौतीः कोमल वली
screennepal
प्रकाशित: २०७१, ६ मंसिर शनिबार
no img

विवाहको सिजन आएपछि धेरैले सम्झिने सेलिब्रिटी हुन्, अविवाहित गायिका कोमल वली । ‘बिहे भा’ छैन’, ‘पोइल जान पाम्’ जस्ता बिहेसँग सम्बन्धित गीत गाए पनि उनी अहिलेसम्म अविवाहित छिन् । विवाह यामका रूपमा लिइने मंसिर सुरु भइसकेको छ । यही सन्दर्भमा कोमलले डिबी खड्कासँग बिहेसम्बन्धी आफ्ना धारणा बाँडेकी छिन् ।

चुनौतीपूर्ण मंसिर

मंसिर महिनाको मौसम असाध्यै रमाइलो लाग्छ । न त धेरै जाडो, न गर्मी र अलि–अलि बादलले ढाकेको आकाशले उत्साहित बनाउँछ । लहलह झुलेका धानले समृद्धिको संकेत गर्छ । सबै कुराले भरिपूर्ण हुने भएकाले यो मौसमलाई विवाहका लागि अनुकुल ठानिएको होला । साथीभाइका विवाह, पार्टीतिर जाँदा झन् रमाउँछु । भेटघाट र रमाइलोले गर्दा मंसिर मन पर्छ । तर, मेरा लागि मंसिर चुनौतीपूर्ण पनि छ । साथीभाइ, आफन्तले सोध्छन्, ‘कहिले निम्तो आउँछ ?’ मंसिरमा पत्रकारहरूको फोन आयो वा कुराकानी गर्ने भनेर बोलाए भने मलाई ‘बिहे कहिले गर्ने ?’ प्रश्नको जबाफ दिनुपर्ला भनेर असहज हुन्छु । किनकि, मसँग यसको उत्तर छैन ।
दुलहीको कल्पनाkomal-oli-copy_20130204092904
अरूले विवाह गर्दा असाध्यै रमाइलो लाग्छ । महिला दुलही हुँदा जति राम्री अरू समय देखिन्नन् । किनभने, गरहगना र पहिरनमा सजिँदा साह्रै सुन्दर देखिन्छन् । म पनि आफूलाई ती दुलहीका ठाउँमा राखेर कल्पिन्छु । कस्ती देखिउँला ? कस्तो रमाइलो होला ? यी कुरा मनमा खेलाउँछु । धेरैपटक आफूलाई दुलहीका रूपमा कल्पिएकी छु । दुलहीको साइडमा बस्नेलाई हेरेर मेरो छेउमा बस्ने भाग्यमानी को होला ? भन्ने सोच्छु । तर, अहिलेसम्म यी सब कल्पनामै सीमित छन् ।
पहिलो बिहे प्रस्ताव
आईए पढ्दाखेरि पहिलोपल्ट विवाहको प्रस्ताव आएको थियो । मेरो मिल्ने साथीलाई केटा हेर्न आएको थियो । म उसको साथी भएर बसेकी थिएँ । केटाले साथीलाई अस्वीकार ग¥यो । पछि थाहा भयो, उसले मलाई मन पराएछ । घरपरिवामार्फत मलाई पो विवाहको प्रस्ताव ग¥यो । आफूलाई अस्वीकार गरेर मकहाँ विवाहको प्रस्ताव ल्याएको कुरा साथीले थाहा पाइछे । मसँग बोलचालै बन्द गरी । आफैँले केटालाई भेटेर बिहेका लागि म तयार नभएको बताइदिएँ ।
सोच्न बाध्य पार्ने प्रस्ताव
मलाई दुई, तीनटा बिहे प्रस्तावले सोच्न बाध्य बनाएका थिए । तीमध्ये एउटा प्रस्तावमा आफूलाई मानसिक रूपमा तयार गरिरहेकी थिएँ । विवाहका लागि तयार हुन धेरै कुराको त्याग गर्नुपर्छ । म ती त्यागका लागि समेत तयार भइसकेकी थिएँ । केटा राम्रो थियो । उसको घरपरिवार राम्रो थियो । प्रतिष्ठित र धनी पनि थियो त्यो परिवार । तर, केटाको बुबाको एउटा शर्त थियो, मैले बुहारी भएर मात्रै बस्नुपर्ने । हाम्रो बुबाले भन्नुभयो, ‘तिमी कोमल वली बन्ने कि बुहारीमात्रै ?’ बुबाको सोच त यस्तो छ भने म किन सम्झौता गर्ने भन्ने भयो । मनमा केही बन्नुपर्छ भन्ने भएकाले बुहारी मात्रै भएर बस्ने कुरा स्विकार्न सकिनँ र बिहे भएन ।
प्रस्ताव आउँदा खुशी
मलाई बिहेको प्रस्ताव आउन मंसिर आउनुपर्छ भन्ने नै छैन । सधैँ प्रस्ताव आइरहेका हुन्छन् । साथीभाइ, घरपरिवारले पनि भन्छन्– यस्तो केटाले तिमीलाई बिहेको प्रस्ताव गरेको छ । मन फुरुङ्ङ हुन्छ, ए हो भनेर खुशी हुन्छु । तर, त्यत्तिमै सकिन्छ । बिहे गरेको भए, मेरा पनि यतिबेला छोराछोरी हुन्थे, तिनको पठपाठनमा ब्यस्त हुन्थेँ । तर, मैले ती झञ्झट लिन चाहिनँ । सानैदेखिको आफ्नो स्वभावलाई परिवर्तन गरिनँ । त्यसैले प्रस्ताव आइरहेका छन्, म टारिरहेकी छु । एकैजनाले चार वर्षसम्म पनि प्रस्ताव गरेका थिए ।
बिहे नगर्दा बेफाइदा छैन
बिहे नगर्दा मैले कुनै बेफाइदा बेहोरेकी छैन । एउटै कुरा– श्रीमती कोमल वली लेख्न पाइएन । बिहे नगर्दाको मुख्य फाइदा भनेको आफ्नै मर्जीले बाँचिरहेकी छु । घरबारमा अल्झिएकी भए आजको कोमल वली बन्न सक्दिनथेँ । सानैदेखि हठी छु । आफूले चाहेको कुरा पाउनुपर्छ । बिहेका निश्चित बन्धन हुन्छन् । तिनले मलाई यति स्वतन्त्र हुन दिन्थेनन् । झगडा छैन, रोकावट छैन । मञ्चबाट केटाहरूलाई किन ‘आई लभ यू’ भन्या भनेर कसैले निहुँ खोज्दैन । फाइदैफाइदा छन् ।
दुई वर्षमा च्याप्टर क्लोज
समाजका लागि बिहे आवश्यक छ । जसले सृष्टि चलेको छ, समाज वैराग्यतिर उन्मुख हुन पाएको छैन । विवाहपछिको जीवन रंगिन हुन्छ । सन्तान बिग्रन थाल्यो भने ‘अब बिहे गर्नुपर्छ’ भनेर सपार्नकै लागि गरिन्छ । विवाहले कुलतबाट पनि जोगाउँछ । किनभने, व्यक्तिलाई घरपरिवारमा व्यस्त बनाउँछ । मैले अबका दुई वर्षमा पनि बिहे गरिनँ भने बिहेको च्याप्टर नै क्लोज हुन्छ । किनभने, त्यसपछि म पूर्णतः बिहे नगर्ने निर्णयमा पुग्नेछु ।
–शुक्रवार

Comments