‘श्री ५ अम्बरे’की निर्देशकका निर्देशन अनुभव
screennepal
प्रकाशित: २०७१, १ मंसिर सोमबार
no img

नेपाली फिल्म निर्देशनमा फाट्टफुट्ट महिला देखिए पनि निरन्तरता दिन सकिरहेका छैनन् । तर, अघिल्लो वर्ष फिल्म ‘अन्तराल’बाट निर्देशनमा देखिएकी दीपा बस्नेतले यो इतिहास बदल्ने संकेत गरेकी छिन् । किनभने, उनले निर्देशन गरेको दोस्रो फिल्म ‘श्री ५ अम्बरे’ मंसिर ५ गते रिलिज हुँदैछ । पहिलो फिल्मबाटै चलचित्र विकास बोर्डले दिने उत्कृष्ट निर्देशकको पुरस्कार पाइसकेकी छिन् उनले । यो वर्ष धेरै फिल्म अवार्डको नोमिनेसनमा समेत परेकी दीपाले महिलाले फिल्म निर्देशनमा खेप्नुपर्ने चुनौती र अवसर सुनाएकी छिन् ।

depaतेहोरो भूमिका
बच्चा जन्मिएको छ महिनामात्रै भएको थियो । फिल्म गर्ने अफर आयो । जीवनसाथी (बस्नेत) जीले स्क्रिप्ट देखाएर भन्नुभयो, ‘हामीले गर्दा राम्रै हुन्थ्यो तर बच्चा छ ।’ मलाई पनि दोधार भयो, गर्दा बच्चा सानै छ, नगरौँ तीन वर्ष ब्याक हुने भइयो । स्क्रिप्ट पनि राम्रो छ । मैले आँट गरेँ, जसरी पनि म्यानेज गर्छु । बहिनीलाई बच्चाको सहयोगीका रूपमा लिएँ । तर, बच्चाका लागि आमाको भूमिका बाँड्न मिल्ने कुरै भएन । फिल्म निर्देशन र बच्चा हुर्काउने दुइटै जिम्मेवारी लिनुप¥यो । त्यस्तै घरको जिम्मेवारीबाट पनि पन्छिनु भएन । हाम्रो समाजले महिलाका निमित्त घरका काम अनिवार्य गरेकै छ । सुटिङ यी तीनटा भूमिकामा आफूलाई अभ्यस्त बनाउँदा सुत्ने सेड्युल नै भएन । मैले १८ घण्टा निरन्तर काम गरेका दिन पनि थिए ।
निर्माताको हस्तक्षेप
फिल्म ‘अन्तराल’ रिलिज भएपछि मलाई निर्देशक बनाएर फिल्म निर्माण गर्ने प्रस्ताव धेरैले गरेका थिए । ‘श्री ५ अम्बरे’का अघिल्ला निर्माता पनि मप्रति सद्भाव राखेरै लगानी गर्न तयार हुनभएको हो । पुरुषवादी हाम्रो समाजको अंश कतै न कतै गएर प्रस्तुत हुँदो रहेछ । म त्यो टिमको क्याप्टेन थिएँ, तर उहाँले हस्तक्षेप गर्नुभयो । मेरो ठाउँमा पुरुष भएको भए के गर्नुहुन्थ्यो, थाहा छैन । तर, निर्देशक महिला भएर पनि होला, बढी नै हस्तक्षेपको महसुस गरेँ । त्यसपछि मैले फिल्म रोकिदिएँ । मेरो ठाउँमा पुरुष भएको भए सम्झौता गरेर फिल्मलाई निरन्तरता दिन्थे सायद । मैले उहाँको निर्माणमा काम गर्न नसक्ने बताइदिए र निर्देशकीय अधिकार सुरक्षित गर्न सकेँ । फिल्म निर्देशकको हो भन्ने पनि देखाएँ ।
हेर्ने नजर नराम्रो
महिला भएर हिँड्न अप्ठ्यारो छैन । महिलालाई हेर्ने पुरुष नजरले कतिपय ठाउँमा अप्ठ्यारो पार्ने रहेछ । फिल्म ‘श्री ५ अम्बरे’ सडकलाई संसार बनाएकाहरूको कथा हो । सडकमै भए पनि आफूलाई पावरफुल देख्न चाहने त्यस्तो व्यक्तिको कथा भएकाले उसका गतिविधिमाथि अनुसन्धान गर्न सडकदेखि ठमेलका बारसम्म राति–राति घुम्नुप¥यो । त्यहाँ जान कुनै अप्ठ्यारो भएन । तर, त्यहाँ रहेका पुरुषले हेर्ने नजरले अप्ठ्यारो महसुस गरायो । आफू त्यस्ता ठाउँमा दिनदिनै चहार्दा गर्व गर्ने तर महिला आउँदा नराम्रो नजरले हेर्ने कारणले कति ठाउँमा पुग्न अप्ठ्यारो लाग्थ्यो ।
प्रोत्साहन पनि गर्छन् पुरुष
हाम्रो समाज महिलामैत्री छैन, तर केही गर्न खोज्ने महिलाले पुरुषको तुलनामा धेरै सहयोग पाउने समाज पनि यही हो । मैले फिल्म निर्देशन थालेपछि यस्ता सहयोगी पुरुष हात धेरै पाएकी छु । अघिल्लो निर्मातासँग काम गर्न नसकेपछि फिल्म रोकिएको थियो । धेरै कुरासँग सम्झौता गरेर फिल्म बनाउन तयार भइसकेपछि फिल्म रोक्नुपर्दा कम्ता तनाव भएन । यही अवस्थामा जीवनसाथीजीको एक वचनमा मलाई विश्वास गरेर चार्टड एकाउन्टेन्ट टीएन आचार्य र दीपक आचार्य लगानी गर्न तयार हुनुभयो । उहाँले मलाई प्रोत्साहन दिनुभयो । यी दुइटा फिल्मले गर्दा धेरै पुरुषले म महिला भएका कारण प्रोत्साहन दिनुपर्छ भनेर मन खोलेर सहयोग गर्नुभएको छ ।
महिलालाई आह्वान
समाजका अरू क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको छ । तर, फिल्म क्षेत्रमा (महिला कलाकारबाहेक) महिलाको उपस्थिति कमजोर छ । निर्देशकका रूपमा महिला, क्यामेरामा महिला, एडिटिङमा महिला आउनुपर्छ । स्वभावतः महिला काममा डेडिकेटेड हुन्छन् नै । उनीहरू यो ठाउँमा भए फिल्मको स्तरोन्नित हुन्थ्यो जस्तो लाग्छ । किनभने, फिल्म जस्तो साना–साना कुरामा ध्यान दिने ठाउँमा महिला भए अझ राम्रो हुन्छ । फिल्म क्षेत्रमा महिलाका लागि राम्रो अवसर पनि छ । म मान्छु अझै फिल्म क्षेत्रलाई समाजले राम्रो दृष्टिले हेर्दैन । किनभने, यहाँ पुरुषको बाहुल्य छ । निर्देशन, क्यामेरा, एडिटिङदेखि निर्माणसम्मका उच्च तहमा पुरुषको सहभागिता हुने भएकाले यो क्षेत्रमा काम गर्ने महिलालाई शोषण गर्ने वा बाध्य हुनुपर्ने अवस्था छ । तर, यी ठाउँमा महिला नै भए कसले शोषण गर्न सक्छ ? लाइटम्यानले नै प्रतिदिन ७÷८ सय कमाउँछ भने त्यो ठाउँमा महिला किन नआउने ?
महिला निर्देशक होइन, निर्देशक महिला
म अधिकार माग्ने होइन, अवसर खोज्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ । म पहिला निर्देशक हुँ, त्यसपछि महिला । त्यसैले फिल्ममा मैले महिला भएर होइन, निर्देशक भएर काम गरेकी छु । फिल्म ‘अन्तराल’मा कतै पनि म महिला देखिइनँ र ‘श्री ५ अम्बरे’मा पनि त्यस्तै हो । मैले फिल्मको टिमलाई पनि त्यो महसुस गर्न दिएकी छैन जस्तो लाग्छ । ‘अन्तराल’ फिल्म हेरेपछि दर्शकले मेरो काममा त्यो महसुस गरेका छैनन् । यो फिल्ममा त अघिल्लो फिल्मका कमजोरी पनि पुरेकी छु । दर्शकले रुचाउनेमा अझ बढी विश्वस्त छु ।
शुक्रवारबाट

Comments