अलविदा आलोक : ‘मृत्युअघि तनावमा थिए उनी’
screennepal
प्रकाशित: २०७१, २१ कार्तिक शुक्रबार
no img

– एमपी सुब्बा

काठमाडौं । बिहीबार राति साढे आठ बजेतिर सामाजिक सञ्जाल फेसुबकको वालहरु पोतिन थाले, ‘चर्चित निर्देशक आलोक नेम्बाङ मृत भेटिए’ र कुनैले लेखे, ‘आलोकद्वारा आफ्नै कोठामा झुन्डिएर आत्महत्या ।’ तर, धेरैले पत्याएनन् । दिउँसो साढे पाँच बजेसम्म टेलिफोन सम्पर्कमा रहेका व्यक्तिले आत्महत्या गरेभन्दा विश्वास गर्ने कुरो थिए । तर, स्टाटस सही थिए । चर्चित म्युजिक भिडियो तथा चलचित्र निर्देशक आलोक नेम्बाङले कसैलाई विस्वाश नलाग्ने गरी बिहीबार साँझ सधैका लागि देह त्यागे ।

subash

सात सयभन्दा बढी म्यूजिक भिडियो तथा तीन चलचित्र निर्देशन गरेका आलोकले टोखास्थित आफ्नै अपार्टमेन्ट झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले ८ बजे बाथरुम छेउको रेलिङमा उनलाई मृत अवस्थामा फेला पारेका थिए । सबैभन्दा अगाडि उनलाई मोडल निराजन प्रधानले देखेका थिए । फोन गर्दा नउठेपछि कोठमै जाँदा मृत भेटिएपछि प्रहरीलाई खबर गरेको निराजनले बताएका छन् । उक्त अपार्टमेन्टमा उनी एक्लै बस्दै आएका थिए । आलोकको साथबाट ‘पटक–पटक मर्नुभन्दा एकपटक मर्नु राम्रो’ बेहोराको सुसाइट नोट भेटिएको जनाइएको छ । तर, सुसाइट गर्नु कारण कतैबाट खुल्न सकेको छैन ।
आलोक केही समययता निकै तनावमा रहेको बताइन्छ । उनका नजिक साथी तथा कलाकारको भनाइअनुसार उनले पटक–पटक आत्महत्या गर्ने कुरा गर्थे । उनी किन तनावमा थिए भन्ने कसैबाट खुलेको छैन । तर, आफू तनावमा रहेको र जे पनि हुन सक्ने बताउँदै आएको उनी आफ्ना नजिककालाई सुनाउँथे । आलोकले बहिनी बनाएकी मोडल एलिजा बस्नेतका अनुसार बिहीबार दिउँसो पनि तनावमा थिए । साँझ साढें पाँचतिर आलोकसँग फोनमा कुरा गरेको सुनाउँदै एलिजाले भनिन्, ‘म केही भइहालेँ भने मेरो कुकुर र बिरालोलाई मसँगै पठाउन होला । फोनमा आलोक दाई निकै गर्दा तनावमा भएजस्तो लाग्यो । त्यसपछि पुनः फोन गर्दा उठाउनुभएन ।’ आलोकको अन्तिम कुराकानी  एजिलासँग भएको थियो ।

sss
आलोक जनावर प्रेमी थिए । उनले घरमा दुईटा कुकुर र २ वटा विरालो पालेका थिए भने विभन्न ठाउँमा पुगेर भुस्याहा कुकुरसमेतलाई खाना खुवाउँथे । नक्साल, कमलादीलगायतका स्थानमा उनले नियमित रुपमा कुुकुरलाई विस्कुट तथा खाना खुवाउँने गर्दथे ।
४१ बर्षीय आलोक अविवाहित थिए । उनी केही महिनाअघि मात्र नक्सालबाट ग्राण्डी भिल्ला हाउजिङमा सरेका थिए । शान्त र शालिन स्वभावका आलोक बढी होहल्ला भएको भन्दै नयाँ अपार्टमेन्टमा सरेका थिए ।
कान्तिपुर र इमेज टेलिभिजनमा भिजेका रुपमा काम गर्दागर्दै म्युजिक भिडियो निर्देशनमा लागेका आलोकले पहिलोपटक गायक नविन के भट्टराईको ‘लाखौंपटक कोसिस गरेँ’ गीतको भिडियो निर्देशनबाट म्युजिक भिडियोमा लागेका थिए । आलोक निर्देशित ‘कसको आँखा लाग्यो बरै’, ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, ‘लाजको लाली’, ‘सान्नानी तिमीलाई’, ‘आखाँभरि आँसु किन’ लगायतका दर्जनौ म्युजिक भिडियो चर्चित छन् । नेपालका ख्याती प्राप्त मोडल तथा अभिनेत्रीहरु समेत आलोकले निर्देशन गरेको भिडियोमा मोडलिङ गर्ने सपना बुन्थे ।
म्युजिक भिडियो निर्देशनमा चर्चा कमाइरहेका बेला चलचित्र ‘सानो संसार’ बाट निर्देशनमा डेब्यु गरेका आलोकले ‘कोही मेरो’ र ‘अझै पनि’ निर्देशन गरेका छन् । ‘अझै पनि’ १५ फागुनमा प्रदर्शन हुने जनाइएको छ ।
६ वर्ष अमेरिकामा उच्च शिक्षा लिएका आलोक भन्नेवित्तिकै टाडा हुन चाहन्थे । उनी भन्थे, ‘बिहेको लागि मानसिक रुपमा म तयार छैन ।’ उनका परिवार अमेरिकामा बसेकाले उत्तैबाट करिअर बढाएका थिए । ललितपुर झम्सिखेल घर भएपनि उनी परिवारसँग बस्न रुचाउँदैनथ्यो । आलोककी दिदी रक्षाले अभिनेता तथा पाइलट बिजय लामासँग बिहे गरेका हुन् । उनकी ७० वर्षीय आमा छिन् भने बाबुको निधन भइसकेको छ ।
आलोकको शवलाई शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टन गरी अन्तिम श्रद्धाञ्जलीका लागि करिब तीन घन्टा नेपाल प्रज्ञम प्रतिष्ठान कमलादीमा राखिएको थियो । प्रज्ञा परिसरमा श्रद्धाञ्जली दिन उपस्थित भएका कलाकारको आँखा रसाएको थियो । केही समयअघि मात्र उक्त ठाउँमा अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अन्तिम विदाइ गर्न पुगेका कलाकर्मी आलोकलाई श्रद्धाञ्जली दिदै गर्दा भक्कानिए । आलोककी ७० वर्षीया आमा छोराको शरिरमा पुष्पगुच्छा चढाउँदै भक्कानिइन् । अभिनेत्री नम्रता श्रेष्ठ, सञ्चिता लुइँटेल र पूजा शर्मा पछिल्लो समय आलोकसँग निकै निकट थिए ।
आलोकलाई अन्तिम श्राञ्जली दिन सभामुख सुवासचन्द्र नेम्वाङ, सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल प्रज्ञा प्रतिष्ठान पुगेका थिए । आलोक श्रद्धाञ्जली दिन करिश्मा मानन्धर, सुष्मा कार्की, आनन्द कार्की, दीपाश्री निरौला, सुनिल कुमार थापा, झरना थापा, सञ्चिता लुइँटेल, केकी अधिकारी, नन्दिता केसी, रिमा विश्वकर्मा, बाबु बोगटी, दीपकराज गिरी, प्रियंंका कार्की, मलिना जोशी, जीवन लुइँटेल, आर्यन सिग्देललगायत चलचित्र निर्देशक, निर्माता, प्राविधिक, गायक, गायिका, संगीतकार, पत्रकार पनि प्रज्ञा पुगेका थिए । आलोकको शुक्रबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम दाहसंस्कारका उनका आफन्तजनको पनि ठूलो उपस्थिति थियो । आलोकको शवमा उनका काकाले दागबत्ति दिएका थिए ।

Comments