बलिउड अभिनेत्री रविनाको सगरमाथा चढ्ने इच्छा
screennepal
प्रकाशित: २०७१, १९ कार्तिक बुधबार
no img
Raveena-Tandon-Nepal-1

मंलगबार याक एन्ड यति होटलमा आयोजित पत्रकार सम्मेलनमा रविना टन्डन (बिच) ।

काठमाडौं । एक समयकी चर्चित बलिउड अभिनेत्री रविना टण्डन काठमाडौं आएकी छन् । उनी मंगलबार काठमाडौं आइपुगेकी हुन् । नेपाल सुनचाँदी तथा रत्न तथा आभुषण महासंघले बुधबार आयोजना गर्ने फेशन सो तथा ज्वेलरी एक्स्पोमा सहभागी हुन यहाँ आएकी हुन् । रविनाले मंगलबार बेलुकी राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘नेपाल आउन पाउँदा खुशी लाग्यो ।’
कार्यक्रममा रविनाले सगरमाथा र गौतमबुद्धको भूमि नेपालमा आउन पाउँदा खुसी लागेको बताउँदै चलचित्र ‘हरे राम हरे कृष्ण’ मा काठमाडौँ देखेदेखि नै आउने मन लागेको सुनाइन् । उनले भनिन्, ‘आज मेरो एउटा सपना पूरा भएको छ ।’ विमान चालकले ‘हामी सगरमाथाको नजिक छौ’ भन्दा आफ्नो मनमा आनन्द आएको सुनाउँदै उनले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने इच्छा व्यक्त गरिन् । उनले भनिन्, ‘सगरमाथा चढने मौका त नमिल्ला तर नेपाल आउँदा सगरमाथाको नजिक हुन पाएको महसुस भयो ।’ रविनाले नेपाल र भारतमा धेरै कुरामा समानता रहेको बताइन् ।
‘नेपाल र गहना दुबै मेरो प्राथमिकतामा भएकाले आयोजकबाट सहभागिताको प्रस्ताव आउनासाथ केही नसोची ओके भनिदिएँ’ उनले भनिन्, ‘नेपालमा भिन्दै खालको संस्कृति र परम्परा छ । मेलामा मेरो सहभागिताले गहनालार्ई अझ विश्वव्यापी बनाउन मद्दत गर्नेछ ।’
नेपाल सुनचाँदी तथा रत्न तथा आभुषण महासंघको आयोजनामा नेपाल रत्न तथा आभूषण संघले शुक्रबारदेखि दोस्रो बृहत रत्न तथा आभूषण प्रदर्शनी आयोजना गर्न लागेको छ । ‘नेपालको गहना विश्वभर पुर्याउँदै’ भन्ने नाराका साथ बुधबारदेखि दरबारमार्गस्थित याक एन्ड यती होटलमा उक्त प्रदर्शनी सञ्चालन हुनेछ । रविना प्रदर्शनीको मुख्य शो टपरका रुपमा देखा पर्नेछिन भने नेपालका तर्फबाट नायिका तथा मोडलहरु पनि नेपाली गरगहनाका साथमा ¥याम्पमा उत्रनेछन् ।

Comments