सुनितालाई एकैदिन तीनसय भन्दा बढी प्रेम प्रस्ताव !
screennepal
प्रकाशित: २०७१, ११ कार्तिक मंगलवार
no img

-एमपी सुब्बा

चाहेजस्तो केटा पाए यसै वर्षभित्र बिहे गर्ने सुनिताको सोच छ

काठमाडौं । यसअघि प्रेम प्रस्ताव कति आए–आए, त्यो उनलाई गन्ती छैन । हुनपनि उनलाई एकैदिन एक हजारभन्दा बढी म्यासेज आउँछ, जसमा तीन सयभन्दा बढी म्यासेज ‘आई लभ यु सुनिता । म तिमीविना बाँच्न सक्दिन । तिमीलाई मनपराउँछु । यदि तिमीलाई पाइनँ भने जीवनभर बिहे गर्दिनँ’ भन्ने खालमा हुन्छन् । आफ्ना लाखौ फ्यानबाट यस्ता किसिमका प्रेम प्रस्तावहरुलाई हाँसेरै टार्दै आएकी चर्चित लोकगायिका तथा कार्यक्रम उद्घोषिका सुनिता दुलाल अब भने स्वीकार्ने सोचमा पुगेकी छन् । तर, त्यसका लागि उनको भावना बुझ्ने पुरुष हुनुपर्ने छ ।
कला, प्रेम र जीवनबारे स्क्रीन नेपालसँग कुराकानी गर्दै सुनिताले भनिन्, ‘धेरै आए प्रेम प्रस्तावहरु तर, अहिलेसम्म हाँसेरै टार्दै आएकी छु । अबचाहिँ चित्तबुझ्दो प्रस्ताव आयो भने स्वीकार्ने सोचमा छु, किनकि एकपटक घरजम गर्नैपर्छ । त्यसैले मेरो भावना र पेसाको सम्मान गर्ने पुरुषबाट बिहेका लागि प्रस्ताव आए स्वीकार्ने छु ।’ उनले यो पनि स्पष्ट पारिन्, ‘मेरो हुनेवाला राजकुमार धनी नै हुनुपर्छ भन्ने छैन । न त विदेशमै बसेको हुनुपर्छ, शिर्फ मेरो पेसाको सम्मान गर्ने र पढेलेखेको भए हुन्छ ।’

sunita dulal
सुनिता गायनमा मात्रै नभएर सामाजिक सञ्जाल फेसबुकमा समेत उत्तिकै लोकप्रिय छिन् । उनको फेसबुक फ्यान पेजमा करिब ६ लाख २२ हजार फ्लोअर्स (यो समाचार बनाउँदासम्म) छन् । उनका अनुसार फेसबुकमा रहेका फ्यानहरुले समेत बारम्बार प्रेम प्रस्ताव राख्ने गरेका छन् । हुन त सेलिब्रेटी भइसकेपछि फ्यानले ‘मन पराउँछु’ भन्नु सामान्य हो । तर, कुनै कुनै यस्ता फ्यान हुन्छन्, जो पागल नै हुन खोज्छ । सुनिताले भनिन्, ‘कुनै फ्यानका कुराले गम्भीर भएर सोच्न बाध्य बनाउँछ । तैपनि करिअर आफ्नो पेसा र करिअर सम्झिएर हाँसेर टार्नुपर्ने हुन्छ । तिमीलाई पाइँन भने जीवनभर बिहे नै नगरी बस्छु भन्नेहरु पनि आए । यस्ता कुराले धेरैपटक म गम्भीर भएकी छु ।’ उनले आफ्नो जन्मदिनमा नियमित उपहार र केक पठाउने फ्यानसमेत भएको सुनाइन् । आफू राम्री भएरभन्दा पनि प्रतिभा देखेर फ्यानहरु क्रेजी भएको सुनिताको भनाइ छ । ‘म खाशै राम्री छैन’ उनले भनिन्, ‘मेरो ट्यालेन्ट देखेर फ्यान क्रेजी भएका हुन् ।’

sunita dulal 1
एकपटक ‘सुनिता दुलालले बिहे गरिन्’ भन्ने गाईगुईंसमेत चलेको थियो । तर, ति गाईंगुईं हल्लामात्र भएको उनले बताइन् । करिब एक वर्षअघि आफ्नो फ्यान पेजमा फ्यानसँग खिचेको तस्बिर अपडेट गरेपछि यस्तो हल्ला चलेको हो । सुनिता भन्छिन्, ‘मेरो फ्यान महिलाभन्दा पुरुष धेरै छन् । कुनै कार्यक्रममा जाँदा अटोग्राफ लिनु र फोटो खिच्नकै लागि तीन घन्टासम्म लाइनमा बसेको हुन्छ । त्यसैले फोटो खिच्नै पर्नेहुन्छ । त्यो बेला त्यस्तै भएको हुनसक्छ । फेरि म लुकीछिपी बिहे गर्नेवाला पनि छैन । सबैलाई बोलाएर बाजा बजाएरै बिहे गर्नेछु ।’ चाहेजस्तो केटा पाए यसै वर्षभित्र बिहे गर्ने सुनिताको सोच छ । तर, सोचेजस्तो र भनेजस्तो कहाँ पो पाइएला र ?
लोक गायन तथा सञ्चार क्षेत्रमा लागेर देश–विदेशमा उत्तिकै लोकप्रियता बटुलेकी सुनिता नेपालको एकमात्र यस्ती गायिका हुन्, जो १२ महिनामा १० महिना बिदेमैमा व्यस्त हुन्छिन् । यो वर्ष अर्थात् सन् २०१४ मा मात्रै अमेरिका, युके, क्यानडा, जापान, कतारलगायतका मुलुकमा १४ पटकभन्दा बढी कार्यक्रम गर्न भ्याएकी सुनिता चाँडै अष्ट्रेलिया जाँदैछिन् । २६ नोभेम्बरदेखि डिसेम्बर अन्तिम साता करिब एक महिनाका लागि अष्ट्रेलिया जान लागेकी सुनिताले भनिन्, ‘अष्ट्रेलिया भ्रमण भने यो मेरो पहिलोपटक हुन लागेको हो ।’ खाडीका अधिकांश मुलुक तथा युरोप र अमेरिकाका दर्शकको मन जित्न सफल सुनिताले अष्ट्रेलियामा रहेका नेपाली दर्शकको पनि मन जित्न सक्छु भन्नेमा उनी विस्वस्त छिन् ।

sunita dulal 6

Comments