अवार्डको सपिङ–दीपेन्द्र लामा
screennepal
प्रकाशित: २०७१, १ कार्तिक शनिबार
no img
drpendra

दीपेन्द्र लामा

अचेल नेपालमा ९० प्रतिशतजति फिल्म फ्लप हुन्छन् । न त कलात्मक रूपमा तारिफयोग्य फिल्म नै बनेका छन् । तैपनि फिल्म र कलाकारहरूले देशभित्र धमाधम अवार्ड पाइरहेकै छन् । महिना दिन बिराएर हुने फिल्म अवार्ड कार्यक्रमहरूको करामत हो यो ।
अवार्ड कार्यक्रमको संख्या बढेसँगै अवार्ड नपाउने कलाकारको संख्या घटेको छ । सबैको भागमा अवार्ड परिसकेको छ । नपरोस् पनि किन ? २५ देखि ५० हजार रुपैयाँ चन्दा दिएमा ट्रफी उचाल्ने सौभाग्य कलाकारले पाउन सक्छ । यस्तो किनबेच हुने अवार्डका कारण क्षणिक खुशी त मिल्ला तर कालान्तरमा यसले न आयोजकलाई फाइदा गर्छ, न कलाकारलाई नै ।
पैसा तिरेर अवार्ड उचाल्ने कलाकारहरू आयोजकप्रति सधैँ कृतज्ञ हुनुपर्ने हुन्छ । आयोजकले गोपनीयता भंग गरिदिन्छन् कि भन्ने डर त पाल्नुपर्छ नै, हरेक वर्षको अवार्ड वितरण समारोहमा बिनापारिश्रमिक नाचगान गर्नुपर्ने बाध्यतासमेत आइलाग्न सक्छ ।
अवार्ड जित्नेबित्तिकै कलाकारको बजार र क्रेज बढ्छ भन्ने हुँदैन । किनभने, अवार्ड वितरणमा हुने आन्तरिक जोडघटाउदेखि प्रायः फिल्म निर्माता÷निर्देशक परिचित नै हुन्छन् । उनीहरूले आपूmलाई मन परेको कलाकारलाई काम दिन्छन्, अवार्ड जितेकालाई होइन ।
धेरै कलाकारलाई भ्रम हुन सक्छ, अवार्ड जित्नेबित्तिकै मिडियामा छाउन सकिन्छ । अन्तर्वार्ता लिन पत्रकारहरूले हानथाप गर्नेछन् । तर, त्यस्तो हुँदैन । किनबेच हुने अवार्डलाई मिडियाले पनि महŒव दिँदैन । अवार्डका लागि भएको मोलमोलाइ मिडियाको नजरबाट लुकेको हुँदैन ।
प्रायोजक नै नभेटाएको गुनासो अवार्ड आयोजकहरूले गर्ने गर्छन् । तर, उनीहरूले के बुझ्नुपर्छ भने प्रायोजकले प्रतिष्ठित कार्यक्रमलाई नै साथ दिन्छन् । र, कार्यक्रमलाई प्रतिष्ठित बनाउन स्टेज डेकोरेसनमात्र भव्य भएर पुग्दैन, योग्य कलाकार र दाबेदार फिल्मलाई अवार्ड दिइन्छ भन्ने सन्देश पनि जानुपर्छ ।
कार्यक्रम र त्यसका आयोजकलाई बदनाम गराउन अरूले होइन, स्वयं अवार्ड किन्नेहरू नै अग्रसर हुन्छन् । आपूmले तिरेको रकम र गरिएको सम्झौताका सम्बन्धमा उनीहरू बेलाबेला खुलासा गर्दै हिँड्छन् । आयोजकले तत्काल पैसा त कमाउला तर उद्योगभित्र उसले कहिल्यै इज्जत कमाउन सक्दैन । अवार्डका लागि पैसा तिर्ने कलाकारहरू आयोजकसँग भित्रैदेखि खुशी हुने कुरै भएन ।
एकपटक पैसाकै भरमा अवार्ड जितेको कलाकारले अर्कोपटक साँच्चीकै अवार्ड पाउनलायक काम गरेको हुनसक्छ । तर, आयोजकलाई के मतलब ? उसले अवार्ड पाउन फेरि पनि पैसा तिर्नैपर्छ । उसले पैसा तिरेन भने अर्कै कलाकारले अवार्ड पाउने पक्का हुन्छ । किनभने, नाफाखोरी आयोजकले योग्य कलाकारको कहिले पनि कदर गर्दैन । जुन कलाकारले बढी पैसा तिर्छ, आयोजकले उसैलाई ट्रफी थमाइदिन्छ ।
भर्खरै सरकारी तवरमा भएको नेसनल फिल्म अवार्डमा पनि जुरी सदस्यहरूले आर्थिक लाभकै लागि आफ्ना सिफारिसकर्ता कलाकारलाई धोका दिएको गसिप सुनिएको थियो । अवार्ड आफ्नै नाममा पर्ने विश्वास सिफारिसकर्तालाई थियो । तर, नतिजा आफ्नो पक्षमा नआएपछि सिफारिसकर्ता र उनका समर्थकहरूले अवार्ड कार्यक्रम बहिष्कार गरे ।
अवार्डको पनि ‘सपिङ’ गर्न पाइने भएपछि किन मेहनत गर्ने ? यही सोचेर आफ्नो सीप, ज्ञान र क्षमतालाई बढाउनतिर लाग्नुको सट्टा भनसुन वा पैसाका भरमा अवार्ड हात पार्ने बाटो रोज्न सक्छन् कलाकारहरू । र, निश्चित छ, यस्तो बाटो रोज्ने कलाकारहरूको व्यक्तिगत विकास कहिल्यै हुँदैन । अवार्ड किन्नेलाई जीवनभर ग्लानि भइरहन्छ । निर्धक्क काम गर्ने जाँगर पनि आउँदैन । आपूmभन्दा योग्य कलाकारका अगाडि सधैँ निहुरिनुपर्ने अवस्था रहन्छ ।
सधैँ र सबै कार्यक्रममा अयोग्य कलाकारहरूलाई अवार्ड दिइयो भने इमानदार तथा प्रतिभाशाली कलाकारहरूको मनोबल घट्न सक्छ । नेपाली फिल्ममा काम गर्दा त्यति धेरै कमाइ हुँदैन । र, हौसला तथा ऊर्जाका स्रोत मानिने अवार्डहरू पनि अन्यायपूर्ण भएमा त्यसले हतोत्साहित भई योग्य कलाकारहरू पलायन हुन सक्छन् । यसतर्पm आयोजकहरूले विचार गर्नुपर्छ ।
झुर फिल्मलाई अवार्ड दिँदा त्यस्ता फिल्म खोजीखोजी हेर्ने दर्शक निराश हुन सक्छन् । निराशमात्र होइन, उसले भविष्यमा अरू नेपाली फिल्म नहेर्ने सम्भावना पनि हुन्छ । दर्शक भड्किएमा नयाँ–पुराना कलाकार र सबै खाले फिल्मलाई बेफाइदा हुन्छ । स्वदेशीमात्र होइन, विदेशी दर्शकले पनि अवार्ड विजेता फिल्म खोजेर हेर्न सक्छ । त्यस्तो अवस्थामा नेपाली फिल्मप्रति विदेशीहरूमा नकारात्मक भावना पैदा हुन्छ ।
कमसल ‘प्रोडक्ट’ उत्पादन हुने क्षेत्रका रूपमा आलोचित नेपाली फिल्म उद्योग बिकाउ अवार्ड कार्यक्रम हुने क्षेत्रका रूपमा पनि चिनिन थालेको छ । सही र योग्यलाई पुरस्कृत नगर्नु भनेको फिल्म उद्योगमा प्रदूषण बढाउनु हो ।
संसारमा जहाँ पनि राम्रा फिल्म बन्ने वातावरण तयार पार्न अवार्ड वितरण गर्ने गरिन्छ । उत्कृष्ट फिल्म र उत्कृष्ट कलाकारहरू पुरस्कृत भए फिल्म उद्योगको सुधार हुँदै जान्छ । त्यसैले उद्योगलाई सुन्दर बनाउने हो भने सबैभन्दा पहिले अवार्ड कार्यक्रमलाई ‘सेयर मार्केट’बाट बाहिर निकालौँ ।
शुक्रवारबाट

Comments