अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर हुँदै ‘सुन्तली’
screennepal
प्रकाशित: २०७१, १३ आश्विन सोमबार
no img

काठमाडौं । एसियाको सबैभन्दा ठूलो मानिने बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘सुन्तली’ प्रिमिएर हुने भएको छ । दक्षिण कोरियाको बुसानमा आगामी अक्टोबर २ देखि ११ सम्म हुने फेस्टिभलमा भाष्कर ढुंगानाद्वारा निर्देशित ‘सुन्तली’ अप्रतियोगी खण्ड ‘अ विन्डो अन एसियन सिनेमा’अन्तर्गत छानिएको हो । फिल्मको वल्र्ड प्रिमियर फेस्टिभलको पाँचौं दिन अक्टोबर ६ मा हुने जानकारी दिइएको छ ।
यसअघि सिनेमा हल सञ्चालन, निर्माण र वितरणमा संलग्न रहँदै आएका भाष्कर ढुंगानाद्वारा निर्देशित यो पहिलो फिचर फिल्म हो । आइतबार कुमारी हलमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै निर्देशक ढुंगानाले ‘सुन्तली’लाई प्यारोडी फिल्मका रुपमा चिनाउन चाहेको बताए । ‘यसलाई मसला फिल्म भने पनि हुन्छ, विभिन्न देशका प्रचलित स्टाइलहरुलाई मिसाएर नेपाली कथामा प्रस्तुत गरेको छु, सकेसम्म मनोरञ्जक बनाउन खोजेको छु,’ उनले भने । फिल्मलाई मिति टुंगो लगाएर तिहारपछि नेपालमा रिलिज गर्ने उनको योजना छ ।
फिल्ममा शीर्ष भूमिका अर्थात् सुन्तली बनेकी छन् प्रियंका कार्की । आपूmलाई गाउँले पारामा प्रस्तुत गर्न निकै मिहनेत गर्नुपरेको प्रियंकाले सुनाइन् । ‘सहरमै जन्मेहुर्केको मलाई सुरुमा गाउँले युवतीको भूमिकामा न्याय गर्न सकिन्छ कि सकिँदैन लागेको थियो,’ उनले भनिन्, ‘तर निर्देशकको प्रोत्साहन र विभिन्न तयारीपछि मैले हात हालेकी हुँ ।’ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने आशा उनले पालेकी छन् ।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अभिनेत्री सूर्यमाला शर्मा ‘सुन्तली’बाटै फिल्ममा फर्केकी छन् । उनलाई पछिल्लो समयमा फिल्म खेल्ने खासै इच्छा थिएन । तर, पुराना सहकर्मी कलाकार अशोक शर्माको आग्रहमा उनले यसमा अभिनय गरेकी हुन् । ‘विगतमा पनि धेरै सिरियलहरुमा छुच्ची भएर अभिनय गरेँ, यसमा पनि छुच्ची नै छु,’ उनले खुलाइन् ।

suntali
फिल्ममा सूचीकारको भूमिका निर्वाह गरेका अभिनेता अर्पण थापाले लुगा सिउने मेसिन चलाउन निकै लामो अभ्यास गरेका थिए । उनले ठट्टा गरे, ‘मैले चारवटा पेटिकोट र दुइटा म्याक्सी सिलाइएछ । लुगा सिलाउन आउँछ मलाई । पेशा परिवर्तन गर्न कुनै कठिनाइ हुँदैन होला ।’
अन्तिम अवस्थामा ‘सुन्तली’मा आवद्ध भएका कर्माले आपूmलाई रंगमञ्चको अनुभव सहयोगी साबित भएको बताए । पटकथा लेखक प्रवीण अधिकारीले फिल्मको कथा नेपालीपन लागे पनि दृश्य संरचना अलि नौलो देखिनसक्ने अवगत गराए ।
कार्यकारी निर्माता अशोक शर्माका अनुसार फिल्ममा डेढ करोड रुपैयाँ जति खर्च भएको छ । ‘फिल्मको बजेटमात्र होइन बजार पनि बढाउन हामी लागिपरेका छौं, नेपाली फिल्मको बजेट यतिउति हुनुपर्छ भनेर खुम्चेर बस्नु ठिक होइन,’ शर्माले भने, ‘यसले लगानी उठाउँछ वा उठाउँदैन, भन्न सकिन्न तर फिल्म जस्तो बनेको छ, त्यसमा हामी सन्तुष्ट छौं ।’
यसअघि एउटा छोटो फिल्ममा काम गर्दा निर्देशक ढुंगाना र लेखक अधिकारीसँग राम्रो तालमेल मिलेकोले ‘सुन्तली’मा पनि सहकार्य गरिएको निर्माता प्रचण्डमान श्रेष्ठले बताए । आइतबारको कार्यक्रममा ‘सुन्तली’को टिजर देखाइएको थियो । फिल्ममा प्रमोद अग्रहरि, राजकुमार पुडासैनी, आशान्त शर्मा, विपीन कार्की, सरस्वती चौधरी लगायतको पनि अभिनय हेर्न पाइनेछ ।

 

Comments