गुनगुनाउँने बानीले बनेकी गायिका
screennepal
प्रकाशित: २०७१, १० आश्विन शुक्रबार
no img

-एमपी सुब्बा

काठमाडौं । नेपाली साहित्यको उर्वर भूमि हो, भोजपुर । सुन्दर हरियाली पहाड, नदी–नाला र हिमशृंखलाहरुको धनी भोजपुरमा जन्मिएका स्रष्टा–सर्जकहरु अहिले नेपाली साहित्यको शिखरमा छन् ।

Laxmi Rai 1

लक्ष्मी राई, गीतकार तथा गायिका ।

हो, त्यही जिल्ला भोजपुर, कटुञ्जेमा जन्मिएकी लक्ष्मी राई भने हिजोआज नेपाली गायनमा उज्वल भविष्य कोर्न तत्पर छिन् । गायिका तथा गीतकार लक्ष्मीलाई पनि साहित्यले नगाँजेको होइन, सानैमा आफ्नो जिल्लाको मनोरम दृश्य र हावापानीको प्रभावमा परेर उनलाई गीत तथा कविता फुर्न थालेको थियो । तर, आफ्नो सुरिलो स्वरकै कारण लक्ष्मीले गायन अँगालिन्, आधुनिक गीति एल्बम ‘पहिलो भेट’मार्फत ।
‘पहिलो भेट’ लक्ष्मीको पहिलो एल्बम हो । तर, एल्बम ल्याउनुअघि नै उनले थुप्रै गीतमा माधुर्य स्वर दिइसकेकी थिइन् । कलेक्शन एल्बमहरुमा गाएपछि मात्र सोलो एल्बम ल्याएकी लक्ष्मीले भनिन्, ‘मलाई एल्बम निकाल्ने सोचै थिएन । साथीसंगीको सल्लाह र सुझावले एल्बम ल्याएकी हुँ ।’ लक्ष्मीले एल्बम ल्याएको धेरै भएको छैन । तर, उनका स्वरहरु विभिन्न एफएम रेडियोमा गुञ्जिन थालेको छ । श्रोताबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाउन थालेपछि उनी अहिले गायनप्रति हौसिएकी छन् । र, लक्ष्मी भन्छिन्, ‘कविता र गीत लेख्दालेख्दै गायिका भइयो । श्रोताको प्रतिक्रिया पनि राम्रै पाइरहेकी छु । अबचाहिँ गायनलाई प्राथमिकता दिनेछु ।’
उनको भनाइअनुसार लक्ष्मी कवियत्री बन्नु पर्ने हो, नभएर कुसल गीतकार । तर, उनी उदाउँदो गायिकाको रुपमा चम्किन थालेकी छन् । लक्ष्मीलाई गायिकाका रुपमा श्रोताले पाउनुमा एउटै कारण छ, त्यो हो उनको गुनगुनाउँने बानी । ‘यदि मेरो गुनगुनाउँने बानी नहुँदो हो त सायद अहिलेसम्म पनि कविता र गीत लेखिरहन्थे होला’ लक्ष्मीले भनिन्, ‘अनि ती मेरा कविता र गीत केवल कापीमै सिमित हुन्थ्यो होला ।’ उनका अनुसार सानैदेखि गायिका अरुणा लामा र तारादेवीका गीत भनेपछि हुरुक्कै भएर सुन्थिन् । लक्ष्मीले भनिन्, ‘जतिखेर पनि अरुणा लामाको एक्लै बस्दा सम्झना तिम्रो आइदिन्छ र तारादेवीको सोचेजस्तो हुन्न जीवन गीत गुनगुनाइरहँथे । म आफू रोमान्टिक भएपनि सेन्टिमेन्टल गीत सुन्न मनपराउँथे र गुनगुनाउँथे । अहिले पनि गुनगुनाउँने मेरो बानी यथावत छ ।’
हुन त रेडियो नेपालले धेरैलाई गायक÷गायिका बनाएको छ । एक दशकअघिसम्म रेडियो नेपालको एकछत्र राज थियो । श्रोता त्यही एउटा रेडियो सुन्न बाध्य थिए । रेडियोमा गीत सुनेरै गायक÷गायिका हुने सपना देख्नेहरु आज राष्ट्रका ठूला कलाकार भइसकेका छन् । यसबाट गायिका लक्ष्मी पनि अछुतो छैनन् । अरुणा लामा र तारादेवीका गीत गुनगुनाउँथेँ, ती गीत रेडियोमै उनले सुनेका हुन् । लक्ष्मीले सुनाइन्, ‘एक समय रेडियो मेरो सहारा बनेको थियो । १३ वर्ष उमेरसम्म म रोगी थिएँ, जतिखेर पनि विरामी भइरहँथे । त्यो समयमा मसँग २४सै घन्टा रेडियो हुन्थ्यो । सेन्टिमेन्ट गीत आउँथ्यो कि गुनगुनाउन मन लागिहाल्थ्यो । त्यो समयमा रेडियो नभएको भए गायिका हुन्थिनँ होला ।’ गायिका लक्ष्मीसँग यस्तै–यस्तै गायन अँगाल्नुका कारणहरु थुप्रै छन् । तैपनि उनी बेला–बेला भन्ने गर्छिन्, ‘म कसरी गायिका भएँ होला ।’

laxmi  Cover
लक्ष्मीले गायक सिक्न थालेको ८ वर्षपछि मात्र एल्बम ल्याएकी हुन् । ०६५ सालदेखि पुल्चोकस्थित इन्दिरा संगीत महाविद्यालयमा संगीत प्रशिक्षण लिँदै आएकी लक्ष्मीले भनिन्, ‘गायिका नै बन्छु भनेर संगीत सिक्न सुरु गरेकी होइन, मेरो गुनगुनाउने बानी छ र संगीतबारे ज्ञान सिक्दा राम्रो होला भनेर सिक्न थालेकी हुँ । तर, सधैं म गुनगुनाइरहेको साथीहरुले सनेपछि तिम्रो स्वर राम्रो छ, गीत रेर्कड गर्नु, चल्छ भनेर सल्लाह दिएपछि एल्बम निकाल्ने सोच बनाएकी हुँ । सोच बनाएको एक वर्षमा गएको भदौमा पहिलो भेट एल्बम ल्याएकी हुँ । तर, अहिले साथीहरुले भनेजस्तै श्रोता÷दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छु । जसले गर्दा मलाई गाउने हौसला मिलेको छ ।’ एल्बम ‘पहिलो भेट’ भेडी गोठको, मिलन मात्र, कुनै दिन, पृथ्वी पारी, संसारलाई र पहिलो भेट बोलका ६ वटा गीत छन् । एल्बममा अधिकांश गीतको शब्दरचना पनि लक्ष्मीकै रहेको छ ।

Comments