कविका विम्बमा दयाहाङ (कविता पनि)
screennepal
प्रकाशित: २०७१, ७ आश्विन मंगलवार
no img
10411936_868351509841810_794446113910603860_n

दयाहाङ

लामो कपाल, चुच्चो नाक र चकलेटी अनुहार, हिरोको परम्परागत फिल्मी फ्रेम हो यो । यो फ्रेममा अटाउदैनन् ‘हिरो’ दयाहाङ राई । तर, दयाहाङ राई नेपाली फिल्म क्षेत्रमा मुख्य भूमिकाका लागि अहिले सबैभन्दा धेरै खोजिने कलाकार हुन् । यही फ्रेम दिमागमा लिएर घुम्नेले हिरो नदेखेपनि आफ्नै अभिनयका दमले दयाहाङ ‘हिरो’ भइरहेका छन्, पर्दाभित्र र बाहिर । नेपाली फिल्ममा नयाँ पुस्ताका निर्देशक÷निर्माताहरु परम्परागत फ्रेम भत्काइरहेका छन् र हिरो बनाइरहेका छन् माथिका कुनै योग्यता नभएका ‘योग्य’ दयाहाङ राईहरुलाई ।
नयाँ पुस्ताका शशक्त कवि सङ्गीत श्रोताले दयाहाङ राईलाई आफ्नो कविताको विम्ब बनाएका छन् । कान्तिपुरको ‘कोसेली’मा शनिवार प्रकाशित कवितामा ‘दयाहाङलाई दुवैतिर खतरा’ भन्दै नेपाली ‘फिल्म प्रवृत्ति’माथि चोटिलो ब्यंग्य कसिएको छ । कुनै कलाकारलाई बिम्ब बनाएर यति शशक्त कविता लेखिएको नेपालको इतिहासमा संभवत यो पहिलो हो ।
अभिनेता दयाहाङले कविता साह्रै राम्रो लागेको प्रतिक्रिया दिए । उनले स्क्रिन नेपालसँग भने, ‘कविको शिल्पले मलाई छोयो, म अर्थात् कविताको दयाहाङ प्रतिनीधि पात्र मात्रै हो । उहाँले नेपाली फिल्मजगत्लाई नै कविताका मार्फत सम्बोधन गर्नुभएको छ ।’

 

कविता पढ्नुहोस् 

दयाहाङलाई दुवैतिर खतरा

sang

सङ्गीत श्रोता

पछाडि हेर अलिकति
पिशाच जस्तो एउटा क्यामेरा
ताकिरहेछ तिम्रै कठालो
अगाडि हेर अलिकति
किन्नरी जस्तो सेक्सी क्यामेरा
पछ्याइहेछ तिम्रै पदचिन्ह

तिमीलाई खतरा छ दुवैतिरबाट
दयाहाङ राई !
के तिमीले हेरिरहेका छौ
दायाँ–बायाँ दुवैतिरका दृश्य ?

देखाउँदै तिमीलाई चोर औंलाले
सोधिरहेछ एउटा क्यामेरा मसिनो आवाजमा–
‘यो हो कि होइन कुनै बाबुसाहेबको नाति ?
किन पालिरहेको छैन यसले लामो–लामो कपाल ?
यसले दिन्छ कि दिन्न अङ्ग्रेजी साहित्यको गफ ?
किन छैन यसको नाक लामो र ज्यान अग्लो ?
किन भेटिन्छ यो सडक किनाराका चिया पसलमा पनि
र किन हाँस्छ खित्का छाड्दै कविहरूका जोक्स सुनेर ?’

तिमीलाई खतरा छ यो फुसफुस आवाजबाट
दयाहाङ राई !
के तिमीले सुनिरहेका छौ
यो स–सानो स्वरभित्र लुकेको ठूल्ठूलो रहस्य ?

बोलाउँदै तिमीलाई दाहिने हातले
प्रशंसा गरिरहेछ अर्को क्यामेरा हाँसी–हाँसी
र मस्की मस्की तिमीलाई दिइरहेछ रातो गुलाब
आँखाको शानले गरिरहेको छ सान्निध्यको आह्वान
दैहिक भङ्गिमाले गरिरहेको छ प्रेमालापको आमन्त्रण
बजाइरहेछ सुस्त–सुस्त कालिदासको कविता
र गरिरहेछ लयात्मक इशारा मायावी मुम्बईतिर

तिमीलाई खतरा छ यो मीठो मुस्कानबाट
दयाहाङ राई !
के तिमीले महसुस गरिरहेका छौ
यो मायाभित्रको मायाजाल ?
०००

Comments