५५ सयबाट सुरु गरेको अहिले दुई लाख लिन्छु : शैलेन्द्र
screennepal
प्रकाशित: २०७१, ३ आश्विन शुक्रबार
no img

काठमाडौं । सायद पर्दा पछाडि बसेर काम गर्नेहरुको नियती नै यस्तै हो । उदाहरणका लागि शैलेन्द्र खोखाली, जसले दुई सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । काँचको पर्दामा उनका सिर्जनासँगै नाम धेरैले पढेकै हुनपर्छ । र, सुनेका पनि छन् । विशेषगरी नेपाली संगीतप्रेमी दर्शक÷श्रोतामाझ चर्चित नाम हो, शैलेन्द्र । यो कुरा उनी पनि स्वीकार्छन् । शैलेन्द्र भन्छन्, ‘पर्दा पछाडि बसेर काम गर्नु एक किसिमले रमाइलो हुन्छ । तर, कसैले नचिन्दा भने नरमाइलो ।’ २०६० सालदेखि म्युजिक भिडियो निर्देशनमा रहेका शैलेन्द्रले अहिलेसम्म दुई सयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । उनले निर्देशन गरेका अधिकांश म्युजिक भिडियो लोकप्रिय पनि छन् ।

shailendra

शैलेन्द्र खोखाली, म्युजिक भिडियो निर्देशक

साधना कला केन्द्रमा नृत्य प्रशिक्षकका रुपमा काम गरिहेकै बेला गायक रोज मोक्तानको ‘दुई चुल्ठे बाटेकी’ गीतको म्युजिक भिडियो निर्देशन गर्ने अवसर पाएको शैलेन्द्रले बताए । ‘यो ०६० सालको कुरा हो’ उनले भने, ‘पहिलोपटक निर्देशन गरेको भिडियो नै हिट भएपछि निर्देशनमा लागेको हुँ । त्यस यता निरन्तर यसै क्षेत्रमा छु ।’ शैलेन्द्रले निर्देशन गरेका दुई सय बढी म्युजिक भिडियोमध्ये गायक पविन राईको ‘विस्तारै विस्तारै’, हवल लामाको ‘फर्केर आउँछ कि आउँदैन’, विशाल एनएस क्षेत्रीको ‘खुसी छु मायालु’, सुनिल सिंह ठकुरीको ‘तिमी नै भन’ राजेशपायल राईको ‘मनैको दैलो’ ¥यापर निर्णय श्रेष्ठको ‘आज मेरो नेपाल’लगायत दुई दर्जन बढी टेलिभिजन च्यानलमा अत्याधिक लोकप्रिय बने । उनले पछिल्लो निर्देशन गरेको गायक प्रमोद खरेलको ‘तिम्रो लागि’ गीतको भिडियोमा पनि अहिले चर्चामा रहेको छ । उनका अनुसार केही म्युजिक भिडियो चाँडै टेलिभिजनबाट सार्वजनिक हुँदैछन् । जसमध्ये गायक निर्णय श्रेष्ठको पनि रहेको छ । शैलेन्द्रले केही दिनअघि मात्र गायक श्रेष्ठको ‘ह्याप्पी बर्थडे’ बोल गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् ।
म्युजिक भिडियो निर्देशनमा स्थापित शैलेन्द्रसँग यस्ता अनुभव पनि छन्, जो सुन्दाखेरी धेरैलाई पत्यार नलाग्न सक्छ । भिडियो निर्देशनको अनुभव शेयर गर्दै शैलेन्द्रले ‘मैले ५ हजार ५ सय रुपैयाँमै एउटा म्यजिक भिडियो तयार गर्थे । अहिले सोच्दाखेरी आफैलाई अनौठो लाग्छ ।’
हुन पनि हिजोआज गायक÷गायिका एउटै म्युजिक भिडियो निर्माण गर्दा डेढ लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च गरिहेका छन् । शैलेन्द्रसमेत अहिले एउटा म्युजिक भिडियो निर्देशन गरेको दुई लाख रुपैयाँ लिने गरेका छन् । दुई दशकको अन्तरालमा कसरी यति धेरै अन्तर आयो त ? ‘सबै टेक्नोलोजी नै हो ।’ शैलेन्द्रले भने, ‘पहिले–पहिले ह्याण्डी क्यामेरासमेत म्युजिक भिडियो खिचिन्थ्यो । त्यो समयमा वन सेभेन्टीले खिच्नु ठूलो कुरा थियो । तर, अहिले टेक्नोलोजीमा फड्को मारिसकेका छौं । त्योसँगै महँगो हुन थालेको छ ।’ महँगो भए पनि गायक÷गायिकाले अनिवार्य म्युजिक भिडियो निर्माण गर्दैआएका छन् । यो कलाकारको बाध्यता हो । ‘म्युजिक भिडियो निर्माण नगरी गीतको प्रचारै हुँदैन’ उनले भने, ‘त्यसैले कलाकारले अहिले म्युजिक भिडियोका लागि लाखौ खर्च गरिहेका छन् ।’ एल्बम गाह्रो छैन तर, प्रचार गर्नु कलाकारका लागि चुनौती हो । शैलेन्द्रले आफूले निर्देशन गरेको म्युजिक भिडियोको प्रमोसनको जिम्मा आफैले लिने बताए ।
त्यसो त शैलेन्द्र निर्देशन मात्र गर्दैनन्, उनी एक कुसल भिडियो एडिटर र ग्राफिक्स डिजाइनर पनि हुन् । उनले थुप्रै विज्ञापन र कम्पनी लोगोको ग्राफिक्स डिजाइन गरिसकेका छन् । हिजोआज शैलेन्द्र टेलिभिजन कार्यक्रम ‘नाइन्टी मिनटस्’ ल्याउने तयारीमा छन् । उनले भने, ‘एक साताभित्र कार्यक्रम एनटिभी प्लस मा अन इयर गर्ने तयारीमा छु ।’ साँझ ५ बजेदेखि साढे ६ बजेसम्म प्रसारण हुने ‘नाइन्टी मिनटस्’ मा म्युजिक भिडियो, कलाकारको अन्तर्वाता, गीतसंगीत गतिविधिलगायत मनोरञ्जनमूल कार्यक्रम प्रस्तुत हुनेछ ।

Comments