अञ्जु भन्छिन्, ‘सबै धर्मका गीत गाउनेछु’
screennepal
प्रकाशित: २०७१, ३ आश्विन शुक्रबार
no img

काठमाडौं । हिन्दु धर्मका देवीदेवता उल्लेख भएको गीत गाउन अस्वीकार गरेको भनी विवादमा तानिएका गायिका अञ्जु पन्तले आइन्दा सबै धर्मका गीत गाउने बताएकी छन् ।
anju‘सबै धर्म र भाषाका गीतप्रति मेरो समान सद्भाव छ । नितान्त व्यक्तिगत कारणले गर्दा मैले दुई वर्षदेखि अन्य धर्मावलम्बीका गीत गाइरहेको थिइनँ तर मेरो कारणले अन्य धर्मावलम्बीको मन दुखेको कुराले म दुःखी भएकी छु । आइन्दा सबै धर्मका गीत गाउनेछु,’ अञ्जुले भनिन् ।
उनले आफूले क्रिस्चियन धर्म अपनाएका कारण बीचको समयमा अन्य धर्मका गीतलाई क्रिस्चियन बनाएर गाएको कुरा दुई वर्षअघिको घटना भएको जानकारी गराउँदै त्यसका लागि पनि क्षमा मागेकी छिन् ।
‘गाउने क्रममा गलामा आएको समस्या प्रभु येशुमा गएर सन्चो भएको कुरा साँचो हो र यही समयमा मैले गाएका केही गीतमा भगवान शिव, भगवान अल्लाह, भगवान साईको साटो अन्य शब्द राखेर गाएकी थिएँ । तर ती सबै दुई वर्षअघिका घटना हुन् । आजका दिनमा ती सबै कुरा अन्जानमा भएको हो भनेर आफूलाई सच्याउँदै त्यस्तो नगर्ने प्रण गर्दछु,’ अञ्जुले भनिन् ।
उनले कुनै धर्मप्रति आफ्नो पूर्वाग्रह नभएको भन्दै आफूलाई जबर्जस्ती हिन्दु धर्मविरोधी भनेर दुष्प्रचार गर्ने प्रयास गरेकोमा भने चित्त दुखेको बताएकी छन् ।
‘अरु धर्मप्रति पूर्वाग्रह राख्ने मेरो उद्देश्य थिएन र रहने पनि छैन तर केही मानिसले मलाई धर्मसँग जोडेर गलत तरिकाले प्रस्तुत गरे,’ अञ्जुले भनिन्, ‘म मेरा श्रोताको मायाप्रति सदा अनुग्रहित छु र उहाँहरुको भावनालाई श्रद्धा गर्दछु । कृपया मलाई अन्यथा नलिनु होला भन्ने आग्रह गर्न चाहान्छु ।’
अञ्जुले अघिल्लो हप्ता सहदेव कोइरालाको शब्द संगीत रहेको दशैंको शुभकामना गाउन नमानेपछि विवादमा आएकी थिइन् । वीरगञ्जबाट काठमाडौं फर्किएलगत्तै आफू सबै धर्मका गीत गाउन तयार रहेको पनि अञ्जुले बताएकोे नागरिक दैनिकमा समाचार छापिएको छ ।

Comments