पूर्वपति प्रेमलाई ‘मिस गर्दै’ सोनु
screennepal
प्रकाशित: २०७१, २२ भाद्र आईतवार
no img

– एमपी सुब्बा
काठमाडौं । थारु भाषा चलचित्रकी चर्चित अभिनेत्री तथा निर्मात्री सोनु थारुले जसरी चलचित्र कर्ममा कडा संघर्ष गरेकी छन्, त्यस्तै नीजि जीवनमा पनि । उनले आफ्नो जीवनमा थुप्रै उताव–चढाव बेहोरकी छन् । पहिलो बैवाहिक जीवन टुटेपछि दोस्रो विवाह गरेकी सोनुले जीवनलाई ‘एक संघर्ष’ का रुपमा लिन्छिन् । थारु चलचित्रका अभिनेता प्रेम चौधरीसँगको करिब चार वर्षे बैवाहिक जीवन टुटेपश्चात एनआर चौधरीसँग बिवाह गरेकी सोनु भन्छिन्, ‘जीवन भनेको आखिर यस्तै रहेछ । कहिले खुसी, कहिले दुखी ।’ अहिले सोनु आफ्ना पूर्वपतिलाई मिस गर्दै बसेकी छन् ।

sonu tharu
दोस्रो बिवाह गरेर पनि आफ्नो घरबार राम्रो चलिरहेको सोनुले बताइन् । एनआरको जेठी पत्नी भएको थाहा हुँदाहुँदै बिवाह गर्ने निर्णय गरेकी सोनुले भनिन्, ‘अहिलेसम्म उहाँबाट कुनै नराम्रो भएको छैन । उहाँले हामी दुवैलाई मिलाएर राख्नु भएको छ ।’ एनआरको तर्फबाट सोनुको दुई वर्षीया छोरी प्राञ्जेली छिन् । एनआरसँग बिवाह गरेर पनि पूर्वपति प्रेमलाई ‘मिस’ गर्दै आएको उनले सुनाइन् । ‘म प्रेमलाई कहिल्यै बिसर्न सक्दिनँ’ उनले भनिन्, ‘उहाँसँग थुप्रै चलचित्रमा काम गरेकी छु । म उहाँलाई पूर्वपतिका रुपमा भन्दा पनि कलाकारिताको सहकर्मीका रुपमा सम्झिने गरेकी छु । प्रेम एकदमै राम्रा कलाकार हुन् । मैले थुप्रै कलाकारसँग काम गरेकी छु तर उहाँजस्तो राम्रो कलाकारसँग काम गर्न पाएकी छैन ।’
करिब एक दशकयता थारु भाषा चलचित्र निर्माण तथा अभिनयमा सक्रिय रहँदै आएकी सोनुले भविष्यमा नेपाली चलचित्र निर्माण गर्ने लक्ष्य बनाएकी छन् । ‘दरार’, ‘यि कैसिन नाता’ र ‘डगर’ जस्ता चलचित्र निर्माण गरिसकेकी सोनुले आफ्ना संघर्षका दिनलाई कोट्याउँदै भनिन्, ‘चलचित्र क्षेत्रमा एक महिला भएर काम गर्दा निकै अप्ठ्याराहरु पनि सहनुपरेको छ । तैपनि हतास नभई आफ्नो कला, संस्कृति र समुदायका लागि निरन्तर डटिरहेकी छु ।’
सोनुले कलाकारिता बाहेक राजनीतिमा पनि इच्छा र रुचि राख्दै आएकी छन् । थारु समुदाय र समाजका लागि आफू चलचित्र निर्माणमा लागेको बताउँदै सोनुले भनिन्, ‘समाज र देशका लागि कलाकारितासँगै राजनीति पनि गर्ने सोच छ ।’ गएको संविधानसभा चुनावमा थरुहट नेपालको तर्फबाट समानुपातिक उम्मेदवार सुचिमा समेत रहेकी सोनुले भनिन्, ‘कलाकारिता मेरो पेसा हो । राजनीतिचाहिँ रुचि, जसबाट राष्ट्र र समाजको सेवा गर्न सकिन्छ भन्ने मान्यता हो ।’ केही नेपाली चलचित्र र म्युजिक भिडियोमा समेत मोडलिङ गर्दै आएकी सोनुले हालै थारु भाषा चलचित्र ‘मोर्जन’ मा अभिनय गरेकी छन् । ‘मोर्जन’ अर्थात् ‘मेरो लडाईं’ मा उनी पत्रकारको भूमिकामा देखिँदैछिन् । चलचित्रको पर्दामा पत्रकारको भूमिका निर्वाह गरेकी सोनुले भनिन्, ‘पत्रकारिता एकदमै जिम्मेवारीपूर्ण पेसा हो, जसमा चुनौती पनि छ ।’ चलचित्र ‘मोर्जन’ मा आफ्नो भूमिकाबारे खुलाउँदै सोनुले भनिन्, ‘समाजमा व्याप्त विकृति तथा विसंगतिविरुद्ध लड्ने एक निर्डर पत्रकारको भूमिका गरेकी छु । सो चलचित्रमा अभिनय गरेपछि पत्रकारहरु कतिसम्म जिम्मेवार हुनुपर्दोरहेछ भन्ने बुझ्न पाएँ ।’
सोनु करिब दुई वर्ष गुमनाम बसिन् । एनआरसँग बिवाह गरेपछि घरायसी कामले गुमनाम भएको उनको तर्क छ । ‘एनआर चौधरीसँग बिहे गरेको वर्ष दिनमा छोरी जम्यो’ उनले भनिन्, ‘त्यसेपछि छोरी स्याहार्दैमा करिब डेढ वर्ष वित्यो । तर अब फेरि कलाकारितामा सक्रिय भएकी छु ।’ अहिले आफ्नो होम प्रोडक्सन सोना फिल्मस्को ब्यानरमा दुई चलचित्र निर्माणको तयारी गरिरहेको सोनुले सुनाइन् । उनका अनुसार ‘तुम मिल गिलो’ र ‘मस्तैली’ चाँडै सोना फिल्मस्को ब्यानरबाट बन्ने छ । उनले चलचित्र ‘तुम मिल गिलो’ को स्क्रिप्ट तयार भइसकेको र ‘मस्तैली’ को पनि काम सुरु भइसकेको सुनाउँदै भदौबाट छायांकन सुरु गर्ने बताइन् ।

Comments