राष्ट्रकविले हलमैं पुगेर हेरे ‘ठूली’
screennepal
प्रकाशित: २०७१, १७ भाद्र मंगलवार
no img

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेले नेपाली फिल्म ‘ठूली’ हेरेका छन् । कवि घिमिरेले पत्नी महाकालीसहित बागबजारको सिटीम्याक्स हलमा सोमबार ‘ठूली’ हेरेका हुन् । कवि घिमिरेले फिल्म मन परेको प्रतिक्रिया दिए ।
‘नारीलाई शक्तिशाली रुपमा प्रस्तुत गरिएको रहेछ । राम्रो लाग्यो । कलाकारको अभिनय पनि ठिक लाग्यो, खास गरी सानी बच्चीको । उनको कला देखेर म दंग परेँ,’ घिमिरेले भने । घिमिरेले फिल्मको प्रस्तुति पनि उच्च कोटीको लागेको बताए । घिमिरेले यसअघि गरिमा पन्त अभिनित ‘झोला’ हेरेको बताए ।
घिमिरेसँगै साहित्यकारहरु धु्रवचन्द्र गौतम, गीताकेशरी, सन्ध्या पहाडी आदिले पनि ‘ठूली’ हेरेर फिल्म प्रगतिशील रहेको धारणा व्यक्त गरे ।
‘नेपाली फिल्मले प्रस्तुतिमा प्रगति गदै गइरहेको देखेँ । प्रस्तुतिसँगै यो फिल्मको कथा पनि राम्रो लाग्यो,’ उपन्यासकार धु्रवचन्द्र गौतमले भने ।
कथाकार गीताकेशरीले पनि फिल्मले शोषित महिलाका पक्षमा आवाज उठाएको विचार व्यक्त गरिन् । उनले भनिन्, ‘यो फिल्मले समस्यामात्र होइन समाधान पनि दिन खोजेको रहेछ । राम्रो लाग्यो ।’
निर्देशक सूर्य बोहराले साहित्यकारको प्रतिक्रियाले उत्साहित तुल्याएको बताए । ‘कोहिनूर’का कारण फिल्म सबैतिर रिलिज हुन बाँकी रहे पनि चलेको ठाउँमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको उनको कथन थियो ।
‘एउटी महिला कसरी सामाजिक कुसंगति र कुरीतिविरुद्व लड्छे भन्ने कुरालाई फिल्ममा देखाउने प्रयत्न गरेका थियौं । राष्ट्रकवि लगायत सबै साहित्यकारले फिल्म राम्रो बनेको प्रतिक्रिया दिनुभएको छ । यसले मेरो हौसला बढेको छ,’ निर्देशक बोहराले भने ।
भदौ ६ मा रिलिज भएको फिल्ममा जीवन लुइँटेल, गरिमा पन्त, कञ्चन ठकुरी आदिले अभिनय गरेका छन् ।

Comments