गजल गायनमा सुधा प्रथम, बराल, जंगम र देशार वर्षका उत्कृष्ट
screennepal
प्रकाशित: २०७१, १६ भाद्र सोमबार
no img

काठमाडौं । राजधानीमा भएको दोश्रो राष्ट्रिय गजल गायन प्रतियोगिता २०७१ मा गायिका सुधारत्नको गायनले प्रथम स्थान हासिल गरेको छ । गजल प्रबद्र्धक मोतिराम भट्टको सम्मानार्थ एवं दाङका बाढीपीडितहरुको सहयोगार्थ रापती समाजले आयोजना गरेको उक्त कार्यक्रममा उत्कृष्ट १० गजलहरुबाट सुधा रत्नको गजल गायन प्रथम बनेको हो । गायिका सुधा रत्नको गायनलाई उत्कृष्ट मान्दै निर्णायकहरुले प्रथम बनाएपछि सुधाले रु १०,५०० राशिसहित प्रथम स्थानको पुरस्कार चुमेकी हुन् । त्यसैगरी विपिन घिमिरेको गायनले दोस्रो स्थान चुम्यो भने सुदीप बरालको तेश्रो र गोपाल तामाङले सान्त्वना स्थान हासिल गरे । उनीहरुले क्रमशः ७५००, ५५००, र २५०० राशिसहित पुरस्कार प्राप्त गरेको हो । त्यस्तै उत्कृष्ट गजल रचना बुँद रानाको गजल भयो भने उत्कृष्ट गजल संगीत धनबहादुर गोपालीको संगीत बन्न सफल भयो ।
रापती समाज काठमाडौंले प्रत्येक वर्ष आयोजना गर्दै आएको गजल गायन प्रतियोगितामा यस वर्ष पनि गजल गायनमा दर्जनौं गजल सहभागी भएका थिए । निर्णायकहरुबाट उत्कृष्ट दश गजल छानेर शनिबार आयोजना गरिएको प्रतियोगितामा दशभित्रबाट सुधा रत्नको गजलले प्रथम स्थान चुमेको हो । उत्कृष्ट दश गजलहरुममा अंकित न्यौपाने, विष्णु पराजुली, संगीता तिमिल्सिना, रकेश ओली, गोपाल अधिकारी, केशव अधिकारीका गजलहरुले भने पुरस्कार चुम्न सकेनन् । गजल प्रतियोगितामा संगीतकार शक्ति बल्लभ, गजलकार रवी प्राञ्जल र गायक नरेन्द्र प्यासी निर्णायकका रुपमा रहेका थिए । कार्यक्रमको सभापतित्व रापती समाजका अध्यक्ष शशि शर्मा मगजैयाँले गरेका थिए भने प्रमुख अतिथि गजलकार ललिजन रावल रहेका थिए ।
सम्मान र अभिनन्दन
rapti nepal (8)रापती समाजले दोश्रो गजल गायन प्रतियोगिता २०७१ को अवसर पारेर गजलको तीन विधालाई सम्मान गरेको छ । वर्षको उत्कृष्ट गजल रचनातर्फ मर्ने कसैलाई रहर हुँदैन गजलबाट डा. कृष्णहरी बराललाई वर्षको उत्कृष्ट गजल रचनाको सम्मान गरिएको छ । त्यस्तै गायिका निशा देशार वर्षको उत्कृष्ट गजल गायिका बनेकी छिन् भने संगीतकार दीपक जंगमको संगीत वर्षको उत्कृष्ट संगीत बनेको छ । देशार र जंग मयति धेरै बोलको गीतबाट उत्कृष्ट बन्न पुगेका हुन् । सम्मानितहरुलाई १५०० राशिसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । त्यसैगरी राप्ती क्षेत्रबाट गजलमा योगदान गरेवापत पूर्ण पंकजलाई अभिनन्दन गरिएको थियो भने २०७० मा गजल गायनमा प्रथम स्थान चुमेका गायक शरद अधिकारी सागरलाई पनि अभिनन्दन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ललिजन रावलले कार्यक्रममा बोल्दै मोतिराम भट्टको गजल लेखनको सुरुवातलाई इँटा थप्दै रापती समाज काठमाडौंले गरेको यो प्रतियोगिताले पक्कै पनि गजलका विद्यार्थीहरुलाई हौसला थपेको छ भनेका थिए । रावलले प्रथम गजलकार भट्टको योगदानलाई कसैले पनि भुल्न नहुने बताउँदै उनको अभियानलाई हामी सबैले पूरा गर्नेतर्फ लाग्नुपर्ने बताउँदै प्रथम स्थान हासिल गर्ने गायिका सुधा रत्न र द्वितीय, तीतृय, सान्त्वना पाउने सबैलाई बधाइ तथा शुभकामना दिएका थिए । त्यस्तै निर्णायक रवि प्राञ्जलले आफूहरुले सकेसम्म निष्पक्ष बनाएको बताउँदै सहभागी सबैलाई धन्यवाद दिएका थिए । पुरस्कृत हुनेलाई बधाई र सहभागीहरुलाई पुनः आगामी वर्षहरुमा त्यो स्थान चुम्नका लागि अनुरोध गर्दै गजलको क्षेत्रमा रापती समाज काठमाडौंले गरेको योगदानमा सबैको महत्वपूर्ण भूमिका रहनुपर्ने बताएका थिए । कार्यक्रममा उत्कृष्ट दशमा परेका गजल, निर्णायक र सहयोगी सबैलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।

Comments