किशोर कुमार किस्साः ढोकाको बोर्डमा लेख्थे, ‘किशोरदेखि होसियार’
screennepal
प्रकाशित: २०७१, ९ भाद्र सोमबार
no img
गायक, संगीतकार, अभिनेता, निर्माता र लेखक किशोर कुमारका अनेक रूप थिए। गायक र अभिनेताका रूपमा उनी बढी चर्चित थिए। संगीतको तालिमबिना नै बलिउड संगीतमा उनले आफ्नो छुट्टै पहिचान बनाए। हालै उनको ८५ औँ जन्मदिवस मनाइयो। अक्टुबर १९८७ मा उनको मृत्यु भएको थियो। तर, आफ्ना गीतहरूमा उनी अहिले पनि जीवितै छन्। उनको मधुर आवाजले अहिले पनि स्रोताको मनलाई झंकृत बनाउँछ।
 किशोरको वास्तविक नाम आभासकुमार गांगुली थियो। बलिउडमा प्रवेश गरेपछि उनले आफ्नो नाम परिवर्तन गरी किशोर कुमार राखेका थिए। उनी जति उम्दा कलाकार थिए, त्यति नै रोचक मानिस थिए। उनी मिजासिला थिए र चुलबुले पनि। कति बेला के गर्न सक्छन्? कसैलाई थाहा हुँदैनथ्यो। उनका जीवनका केही रोचक किस्साः
1249161482bebe2278644f22a0bf80c8_L
• उटपट्याङ कुरालाई उनी अनौठो अन्दाजमा प्रस्तुत गर्थे। गीतका पंक्तिलाई दायाँबाट बायाँ र बाँयाबाट दायाँ गाउन उनले महारथ हासिल गरेका थिए। आफ्नो नाम पनि उनी उल्ट्याएर भन्थे। कसैले नाम सोध्यो भने उनी भन्थे– रशोकि रमाकु।
• किशोर इन्दौरको क्रिश्चियन कलेजमा पढ्थे। कलेज पढ्दाताका उनी क्यान्टिनबाट उधारोमा आफू पनि खान्थे र साथीहरूलाई पनि खुवाउँथे। दश पैसाले पनि धेरै महत्त्व राख्ने त्यो समयमा उनको उधारो पाँच रुपैयाँ बाह्र आना भयो। क्यान्टिनको साहूले ‘पैसा तिर’ भन्दा उनी क्यान्टिनको टेबलमा बसेर गिलास र चम्चा बजाएर ‘पाँच रुपैयाँ बाह्र आना’ गाई–गाई कतिपय धुन निकाल्थे र क्यान्टिन साहूको कुरा नसुनेजस्तो गर्थे। पछि उनले एक गीतमा यसै ‘पाँच रुपैयाँ बाह्र आना’लाई रमाइलो तरिकाले प्रयोग गरे।
• बाह्र वर्षको उमेरमै उनी सिपालु गायक भइसकेका थिए। रेडियोमा गीत सुन्थे, फिल्मी गीतका किताब किन्थे, त्यसमा भएका गीत कण्ठ गर्थे। घर आएका पाहुनालाई ती गीत अभिनयसहित सुनाउँथे। गीत सुनाएपछि ‘मनोरञ्जन कर’ भन्दै पाहुनाबाट पैसा पनि उठाउँथे।
• किशोरले आफ्नो घर बाहिर एउटा बोर्ड लगाएका थिए। जसमा लेखिएको थियो–’किशोरदेखि होसियार।’ एकपटक फिल्म निर्माता र निर्देशक एचएस रावेल किशोरसँग लिएको उधारो फिर्ता गर्न उनको घर पुगे। किशोरले पैसा फिर्ता लिए। फर्किने बेलामा रावेलले किशोरसँग हात मिलाउन आफ्नो हात अघि बढाए। किशोरले उनको हात समातेर टोकिदिए र भने –’तिमीले बाहिर साइनबोर्ड पढेनौ?’
• भनिन्छ, किशोर रूखसँग कुरा गर्थे। एक अन्तरवार्तामा उनले भनेका पनि थिए –’मेरो कोही साथी छैन। कसैलाई साथी बनाउनुको साटो रूखसँग कुरा गर्न म उपयुक्त ठान्छु।’
• एक पटक उनी फिल्मको सुटिङ गरिरहेका थिए। निर्माताले उनलाई आधी पैसामात्र दिएका थिए। यस कुराबाट खिन्न भई उनी आधा मेकअप गरेर सुटिङ स्थलमा पुगे। निर्देशकले उनलाई पूरा मेकअप गर्नका लागि भनेपछि उनले भनेका थिए–’आधा पैसा आधा काम, पूरा पैसा पूरा काम।’
• किशोरको जीवनको एक रमाइलो किस्सा फिल्म निर्माता आरसी तलवारसँग जोडिएको छ। तलवारसँग काम गर्दा उनले आधी पैसामात्र पाए। यसो हुँदा उनी हरेक बिहान तलवारको घरअगाडि जान्थे र चिच्याई–चिच्याई भन्थे– ‘हे तलवार, देऊ मेरो आठ हजार।’
• उनी काउली असाध्यै मन पराउँथे। आफ्नो परिवारलाई भन्थे– ‘काउली काट र मलाई त्यसले चारैतिरबाट छोपिदेऊ। म त्यसभित्र बसी काउली खान्छु। त्यसपछि मात्र म काउलीदेखि अघाउनेछु।’
• किशोर भूतको फिल्न हेर्न डराउँथे। उनले भनेका थिए– ‘मलाई थाहा छ मेरा हर्कत बौलाहाका जस्ता छन्। तर, म हरर फिल्म हेर्न सक्दिनँ। मलाई धेरै डर लाग्छ।’
• भारतमा संकटकाल लागेको बेला कांगे्रस सरकारले किशोर कुमारका गीत प्रतिबन्धित गरेको थियो। त्यतिबेला कांग्रेस अप्ठ्यारो समयबाट गुज्रिरहेको थियो। पार्टीको एउटा र्याकलीका क्रममा किशोरलाई प्रस्तुति दिन प्रस्ताव गरियो। उनले अस्वीकार गरे। यसबाट क्रुद्ध भएर कांग्रेस सरकारले दूरदर्शन र रेडियोमा उनका गीत प्रसारण गर्न रोक लगाएको थियो।
• किशोर दा पैसा नपाउञ्जेलसम्म काम गर्थेनन्। यदि कसैले आधा पैसा दियो भने उनी आधै काम गरेर हिँडिदिन्थे। उनको यस्तो स्वभावका कारण धेरै फिल्म निर्माता उनीसँग काम गर्न डराउँथे।

 

Comments