मण्डलामा जम्पिङ फ्रग
screennepal
प्रकाशित: २०७१, ७ भाद्र शनिबार
no img

काठमाडौं । मण्डला नाटकघरमा आगामी शुक्रवारदेखि नाटक जम्पिङ फ्रगको मञ्चन भइरहेको छ । मास्क, पपेट र सङ्गीतको मिश्रण रहेको नाटक जम्पिङ फ्रगमा एउटा कलाकारको कल्पनाले सिर्जित मान्छेलगायत भ्यागुता, कछुवा, खरायो, मुसा र कमिलाजस्ता प्राणीहरुको कथा भनिएको छ । खासमा यो एउटा भ्यागुतोको प्रेमकथा हो । आफ्नी प्रेमिका भ्यागुतीको खोजमा गाउँबाट शहर आइपुग्ने एउटा भ्यागुताले पाारिवारीक रोकावटका बावजुद आफ्नी प्रेमिकालाई पाउन गरेको संषर्ष नाटकमा देखाइएको छ । मान्छेभन्दा बढी अन्य जनावरहरु पात्रका रुपमा भएको यो नाटकमा ती प्राणीहरुले पृथ्वीका बारेमा गर्ने गरेको चिन्तालाई दर्शाइएको छ । यसमा जलवायु परीवर्तन र त्यसले पृथ्वीलाई पार्दै गरेको असरका बारेमा एउटा भ्यागुतोले गरेको चिन्तन देखाइएको छ । नाटकमा कुनै संवाद छैन तर नाटक हाँसोमय छ ।
jumping frog
नेपालमा नेपाली कलाकारहरुद्वारा पपेट नाटक पहिलोपटक मञ्चन गरीदैंछ । युरोपियन देशहरु विशेषगरी जर्मनी, स्पेनजस्ता ठाउँहरुमा यस्तो नाटकको अभ्यास बढी रहेको पाइन्छ । नेपालमा सन् २०१० मा आरोहण गुरुकुलद्वारा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी कुलुन्का टिएट्रो, स्पेनको नाटक आन्द्रे एण्ड दोरीन नेपालमा देखाइएको पहिलो पूर्ण पपेट नाटक थियो ।
बारुल्लाजः ए ग्यांग अफ पफर्मर्ससँगको सहकार्यमा मण्डला थिएटर नेपालको प्रस्तुति रहेको नाटक जम्पिङ फ्रगलाई सजन थापाले परिकल्पना तथा निर्देशन गरेका हुन् । सजन थापा बहुप्रतिभाशाली कलाकार हुन् । उनी नाटक खेल्छन्, बाजा बजाउँछन्, कलात्मक चित्र बनाउँछन्, मुर्ति बनाउँछन् र पपेट निर्माण पनि गर्छन् । नाटक जम्पिङ फ्रगमा प्रयोग हुने सवै पपेटहरु सजनले नै बनाएका हुन् । लामो समय आरोहण गुरुकुलमा काम गरेका उनले मण्डलाका थुप्रै नाटकहरुको आवरण बनाएका छन् । निर्देशनमा यो उनको पहिलो प्रयास हो ।
नाटकमा अनुपम शर्मा, बिजय बराल, बिकाश जोशी, मोहम्मद नाजीर हुसेन, रुरु पोखरेल, प्रकाश गन्धर्व, आदित्य कटुवाल, कमल देवकोटा र बिराट बस्नेतलगायतको अभिनय रहेको छ ।
यो नाटक भदौ ६ गते शुक्रवारदेखि एक महिनासम्म मण्डला नाटकघरको प्रेक्षालयमा सोमबार बाहेक नियमित मञ्चन हुनेछ । नाटक मञ्चनको समय साँझ ५ः १५ बजे राखिएको छ ।

Comments