कलाकारले पनि २६ सभासदमा भाग खोजे
screennepal
प्रकाशित: २०७१, १ भाद्र आईतवार
no img

काठमाडौं । कलाकारले सरकारले मनोनित गर्ने २६ जना सभासदमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कलाकारले कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागि आफूहरुको पनि संविधानसभामा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेलले राष्ट्रिय जीवनमा कलाकारले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै आगामी दिनमा कला, भाषा, संस्कृति र सिर्जनाको जर्गेना गर्न पनि संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने माग गरे । खरेलले भने, ‘हुन त नै हामी त्यो ठाउँमा पुग्नुपर्छ भन्ने हाइन, तर कला, संस्कृतिको ज्ञाता संविधान सभामा पुग्दा सवैको अधिकार सुनिश्चित हुन्छ । नीति निर्माणमा यस क्षेत्रको मर्म र भावना समावेश हुन सक्छ । अन्यथा यो क्षेत्र उपेक्षित हून्छ ।’ कलाकार सामाजिक परिवर्तनको एजेण्डा बोकेर हिँड्ने भएकाले आफूहरुको अधिकारका लागि कलाकारको प्रतिनिधित्व संविधान सभामा हुनुपर्ने उनको धारणा थियो ।
kalakar
त्यस्तै, वरिष्ठ रंगकर्मी अशेष मल्लले सरकारले मनोनित गर्ने २६ सभासदमा कलाकारको प्रतिनिधित्व हुनुपर्छ भन्ने नभएर कला र संस्कृतिको जर्गेना गर्न राष्ट्रिय रुपमा महत्वपूर्ण योगदान गर्ने मान्छेको संविधान सभामा उपस्थिति अनिवार्य रहेको स्पष्ट पारे । मल्लले भने, ‘साम्प्रदायिक सोचभन्दा माथि उठेर राष्ट्र र राष्ट्रियताको लागि योगदान गर्ने व्यक्तिहरुको संविधान सभालाई खाँचो छ । त्यसैले कलाकारहरुको प्रतिनिधित्व भए राम्रो नभए कलाकारको मर्म र भावना बुझ्ने मान्छे जानुपर्छ भन्ने मेरो बुझाई हो ।’
त्यस्तै नेपाल साँस्कृतिक संघका सभापति तीर्थ थापाले सांस्कृतिक क्षेत्रको सम्मान, सूरक्षा र पहिचानको लागि अनिवार्य रुपमा संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने जिकिर गरेका छन् । थापाले कला र संस्कृतिको उत्थानको लागि नीति, निर्माणमा प्रतिनिधित्व हुँदा यस क्षेत्रको मर्म सहितको विषयले प्राथमिकता पाउने विश्वास व्यक्त गर्दै कम्तीमा पनि ४ जना साँस्कृतिक कर्मीको सहभागीता अनिवार्य रहेको बताए ।
लोक गायिका कोमल ओलीले पनि कलाकारलाई राज्यले सँधै उपेक्षा गरेको आरोप लगाउँदै आफ्ना एजेण्डालाई घनिभूत रुपमा संविधानमा दर्ज गराउन पनि आफूहरुको संविधान सभामा उपस्थिति अनिवार्य रहेको बताइन् । चलचित्र निर्देशक समाजका महासचिव नीलहरी काफ्लेले सरकारले मनोनयन गर्ने २६ सभासदमा कला क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागी अनिवार्य रहेको बताउँदै कला र संस्कृतिलाई उपेक्षा गरे राज्य पाखन्ड हुने चेतावनी दिए । चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले पनि कलाकारलाई अनिवार्य रुपमा संविधान सभामा प्रतिनिधित्व गराउनुपर्ने धाराण राखेका थिए ।

Comments