‘कहाँ छिन् लोक गायिका विष्णु माझी ?’
screennepal
प्रकाशित: २०७१, ३० श्रावण शुक्रबार
no img

bishnu majhi

काठमाडौं । तिज नजिकिँदै गर्दा लोकगायक÷गायिका तिज गीतमा रमाइरहेका छन् । रातो सारीमा खिचिएका उनीहरुका तस्बिरले अनलाइन र पत्रपत्रिका रंगाइरहेको अवस्था छ । तर, लोक कला क्षेत्रकै चर्चित गायिका विष्णु माझी भने गुमनाम छिन् । गायिका विष्णुका लाखौ–लाख लोकसंगीत प्रेमी श्रोता तथा शुभचिन्तक छन् । ती श्रोताले विष्णुलाई विरलै मात्र देख्न पाएका छन् । यस्तो किन भइरहेको छ ? जो देशकै एक चर्चित कलाकार गुमनाम हुन दुभाग्र्य हो । कवि तथा कलाकार बादल घिमिरेका अनुसार विष्णु चरम शोषणमा छिन् । उनले सोसल मिडिया फेसबुकमार्फत गायिका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै सञ्चार माध्यम र अधिकारकर्मीलाई गुहारेका छन् । यसैबाट रहस्य विस्तारै खुल्दैछ ।

यस्तो छ, बादल घिमिरेले फेसबुकमा जारी गरेको विज्ञप्ति :

Capture

विज्ञप्ति
(लगभग तीन बर्षको अन्तरालपछि पुन: गायिका विष्णु माझीको बारेमा केही लेख्दैछु | बिष्णुको बारेमा आवाज उठाए वापत् यो भन्दा अगाडी मलाई अपरिचितबाट ज्यान मार्ने धम्की आएको थियो तर यसपटक पनि जीवनलाई अचानोमा राखेरै भए पनि हिम्मत जुटाएको छु | चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका (साविक रत्नपुर ) काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् |जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो |मेरो घरबाट विष्णुको घर पुग्न लगभग पन्ध्र मिनेटको दुरी पर्छ | विष्णुको बारे पछिल्लो समयमा सञ्चार माध्यममा आवाज उठ्न थालेको छ | म चाहन्छु यथार्थ वाहिर आओस् र विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस् |

एक दशक अगाडी (ठ्याक्कै साल भूलेँ ) बुटवल महोत्सवबाट विष्णुको जादुयी स्वर सुनेर सुन्दरमणी अधिकारीले गायिका बनाउँछु भनेर विष्णुलाई काठमाण्डौँका लागि रात्रीबस चढाएका थिए | आज विष्णु यो देशकी महंगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणीले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्यो कसैलाई पत्तो छैन – लाग्छ विष्णु स्वयं अनभिज्ञ छन् | विष्णुको स्वर नसुन्ने त यो देशमा बिरलै होलान् तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाह होला | देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश विदेशको कन्सर्टमै देखा पर्छिन् | न उनीसंग आफ्नो घर छ न एउटा मोबाइल | आखिर विष्णुलाई यस्तो कस्ले बनायो ? उत्तर : सुन्दरमणी अधिकारीले | विष्णु गीत गाँउछिन् – सुन्दरमणी पैसा बुझ्छन् | विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ | लाग्छ विष्णुले श्वास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ | हुन त केही बर्ष अगि सुन्दरले विष्णुलाई बिहे गरे भन्ने सुनियो तर बिष्णुले गाएर कमाएको करोडौँ पैसासंग गरे बिष्णुसंग थाह भएन | आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न विवश तुल्याउने अधिकार श्रीमानलाई हुन्छ ? विष्णु सुन्दरमणीको नजरबन्दमा छिन् – उनको अवस्था के छ कसैलाई थाह छैन | न त उनका पिता तारा माझीलाई थाह छ न दाजु बाबुराम माझीलाई नै | गीत त गाउँछिन् अझै पनि तर रोबोट शैलीमा | रिमोट सुन्दरको हातमा छ | अन्तमा : विष्णुको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू ? रेखा थापाको पाइन्ट एक इन्च तल झरे हेडलाइन खबर बनाउने पत्रकार महोदयहरू किन चुपचाप छन् ? डन चरी मारिँदा सदन अवरूध्द गराउने दलहरू के गरिरहेका छन् ? यो देशमा महिला अधिकारकर्मी छन् कि छैनन् ? छन् भने कहाँ रत्यौली खेलेर बसिरहका छन् ? हामी सम्पूर्ण संगीतप्रेमीहरूलाई एकमुष्ट जवाफ चाहियो |

यस अघि गायीका विष्णु माझीको भूमिगत जीवन शैलीको विषयमा नेपाल साप्ताहिकमा पनि एउटा फिचर प्रकाशित भएको थियो । उक्त फिचरका लेखक पत्रकार गोकर्ण गौतमले पनि विष्णु माझीलाई उनीसँग विवाह गरेको भनिएका कलाकार सुन्दरमणि अधिकारीले सम्पूर्ण नियन्त्रणमा राखेको उल्लेख गरेका थिए । उनले लेखेका छन् ‘पाँच हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी बिष्णुको जीवन गुममान छ, लगभग भूमिगत शैलीमा । एक दशकको बीचमा उनी कुनै सार्वजनिक समारोह वा सञ्चारमाध्यममा देखा परेकी छैनन् । एउटा गीत गाएको अरु कलाकारले ६ ÷७ हजार रुपियाँ बुझ्ने बिष्णुको नयाँ तस्बिर बाहिर नआएकै आठ बर्ष बित्यो । स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उनको अत्यधिक माग छ तर कतै देखिन्नन् । समकक्षी कलाकारसँग उठबस छैन् । कतिपय भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि उनले पर्दा लगाएर गाउने गरेको एक रेकर्डिस्टको भनाई छ ।

गाएरै सवैभन्दा धेरै कमाउनेमध्येकी यी लोकगायिकाको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । जस्तो सञ्चारप्रविधिको यो युगमा उनीसँग मोवाइलसमेत छैन । उनको काठमाण्डू बसाइबारे पनि धेरै जानकार छैनन् । यति चर्चित गायिका किन गुमनाम छिन त ? किन समाजमा घुलमील भएकी छैनन ? सोसल चार्म सिर्जना गर्न चाहन्न् ? उनीवरिपरि घुम्ने यिनै प्रश्नले नेपाली लोकगायन करिव दशकदेखि अनुत्तरित छ । बिष्णुको करिअरलाई नजिकबाट नियालीरहेका र लोकसंगीतमा सक्रिय स्रष्टाहरु उनको जीवनशैली गुमनाम हुनुको कारण मान्छन् सुन्दरमणी अधिकारीलाई ।’)

Comments