‘कलाकारिताका लागि प्रहरीको जागीर छाडेको हुँ’ (प्रशान्तसँग ताजा कुराकानी)
screennepal
प्रकाशित: २०७१, २८ श्रावण बुधबार
no img

IMG_8630

काठमाडौं । गायक तथा नायक प्रशान्त तामाङ अहिले नेपाल छन् । इन्डियन आइडल बनेपछि सांगीतिक करिअर सुरु गरेका प्रशान्त पछिल्लो समय नायकका रुपमा चिनिन थालेका छन् । उनी अहिले नेपाल आउनुको कारण पनि चलचित्र नै हो । उनी अभिनीत चलचित्र ‘निशानी’ भदौ २७ बाट रिलिज हुँदैछ । मंगलबार पुतलीसडकस्थित एक स्टुडियोमा स्क्रीन नेपालसँग भेट्दा प्रशान्तले भने, ‘निशानीको प्रमोशनकै लागि आएको हुँ । यहाँबाट पोखरा जाने कार्यक्रम छ ।’ भारतीय प्रहरीको जागीरे अनुभवसमेत संगालेका प्रशान्त अबका दिनमा कलाकारितालाई नै करिअर बनाउन चाहन्छन् । त्यसकै लागि आफूलाई प्रहरी जागीरबाट मुक्त गराइसकेका छन् । हुन त इन्डियन आइडल बन्नका लागि प्रहरीको जागीरले उनलाई राम्रै सपोर्ट गरेको थियो । तर, अहिले उनको रोजाईमा कलाकारिता प-यो । ‘अब कलाकारितालाई प्राथमिकता दिन्छु’ उनले भने, ‘त्यसैले प्रहरीको जागीर छाडेको हुँ ।’

IMG_8638

चलचित्र ‘गोर्खा पल्टन’ मा लाहुरेकै भूमिका अभिनय गर्नुभएको थियो । र, ‘निशानी’ पनि लाहुरेकै कथा हो । यसमा फरक के पाइन्छ ?
हो, गोर्खा पल्टन लाहुरेकै कथामा थियो । मैले लाहुरेकै भूमिका निर्वाह गरेको थिएँ । तर, निशानीमा सारा गोर्खालीको कथा छ । निशानी रियल स्टोरीमा आधारित चलचित्र हो । जसमा गोर्खालीको बीरगाथाको इतिहास समेटिएको हो । रियल स्टोरीमा अभिनय गर्दा चुनौती त भयो नै, तैपनि सकेसम्म राम्रो गरेको छु ।
तपाईसँग प्रहरी जागिरेको अनुभव छ । कसरी चुनौती भयो नि ?
आर्मी र प्रहरीमा अलि फरक छ । तैपनि प्रहरी जागीरको अनुभवले केही सजिलो भने भएको थियो । निशानी युद्धमा आधारित चलचित्र भएकाले बढी हतियार चलाउनुप-यो, जसमा आफ्नो अनुभवले काम ग-यो ।
तपाईंलाई प्रहरी जागीरबाट हटाइएको कि छाड्नुभएको हो ?
मैले आफैले छाडेको हुँ । कम्पनीले त हटाउनै मिल्दैन । कलाकारिता र जागीरमध्ये एउटा छाड्नुपर्ने भएकाले जागीर छाडेको हुँ ।
तर, तपाईं हाजिरमा गयल भएपछि हटाएको भन्ने सुनिएको थियो नि ?
हाजिर गयल भएको कुरा साँचो हो । तर, हटाइयो भन्ने कुरा कसरी आयो मलाई नै थाहा छैन । प्रोगामको व्यस्तताले हाजिर गयल हुनुप-यो । त्यसैले अफिसरसँग सल्लाह गरेरै मैले जागीर छाडेको हुँ ।
तपाईंलाई जागीरभन्दा कलाकारिता नै प्यारो लागेको हो ?
कलाकारिता नै प्यारो भन्दा पनि मैले दुईमा एक रोज्नुपर्ने थियो । त्यसैले मैले कलाकारिता रोजें । प्रहरीको जागीर नछाडेको भए पनि त्यही नै बसिरहनुपथ्र्यो ।
जागीरबाट फुर्सद हुनुभयो । अब त पूरै समय कलाकारितालाई दिने होला नि ?
पूरै होइन, ७५ प्रतिशत कलाकारितालाई समय दिनेछु भने बाँकी समय मेरो परिवारलाई दिनेछु ।
‘निशानी’बाट कस्तो अपेक्षा गर्नुभएको छ ?    
चलचित्र चल्छ, चल्दैन । त्यो आफ्नो ठाउँमा छ । तर स्टोरी र काम गरेअनुसार भने राम्रै होलाजस्तो मलाई लाग्छ ।
गोर्खा पल्टनपछि एकपटक फेरि लाहुरेको कथामा देखिँदै हुनुहुन्छ । तपाईंलाई किन लाहुरे नै बनाइन्छ ?
यो एउटा संयोगमात्र जस्तो मलाई लाग्छ । गोर्खा पल्टनमा आफैले पस्ताव लिएर आएपछि गरेको  हुँ । र, यसपटक त्यसैगरी निर्देशक बिनोद सेरेङ र निर्माताले म माथि प्रस्ताव राख्नुभयो । मलाई कथा मनपरेकाले गरेको हुँ ।
अभिनयमा लागेपछि आफ्नो गायन ओझेलमा परेजस्तो लाग्दैन ?
मलाई त्यस्तो लागेको छैन । गीत गाइरहेकै छु । मैले अभिनय गरेका चलचित्रमा आफैले गाउँदै आएको छु ।
तर, दर्शक श्रोताले त नायककै रुपमा लिनथालेका छन् नि ?
त्यो उहाँहरुको विचार हो । म गायनमा पनि सक्रिय छु । मेरो प्राथमिकता पनि गायनमै छ । किनकि, मेरो कलाकारिताको ब्याकग्राउन्ड गायन नै हो । यो कुरा सबैलाई थाहा पनि छ । त्यसैले म आफूलाई गायककै रुपमा चिनाउन चाहन्छु ।
‘निशानी’ मा दर्शकले के पाउँछन् ?
यो रियल स्टोरीमा निर्माण गरिएको चलचित्र हो । चलचित्रमा गोर्खालीले कारगिल युद्ध कसरी जितेको थियो भन्ने देखाइएको छ । जसमा कारण यो चलचित्र हेरेपछि दर्शकले बीर गोर्खालीको एउटा इतिहास थाहा पाउनेछन् । जुन कुरा धेरैलाई थाहा नभएको हुनसक्छ ।

Comments