लोकको गीत लोकमै किन आलोचना ? (देविका केसीसँग अन्र्तरंग)
screennepal
प्रकाशित: २०७१, २४ श्रावण शनिबार
no img

– एमपी सुब्बा

काठमाडौं । एकपटक फेरि लोकगायिका देविका केसी चर्चामा आएकी छन् । एक समय ‘बाजी ठोकौं आउ’ गीतमार्फत छाएकी देविका यसपटक तिजलाई भनेर गाएको ‘हामी नेपाली एउटा’ बोलको गीत विवादमा आएपछि चर्चामा आएकी हुन् । जातियविभेद उन्मुलनको सन्देश दिने धेयले देविका र पुशपति शर्माले ‘हामी नेपाली एउटै’ भन्दै लोकको गाए । तर, सो गीतले उल्टै जातियविभेद गरेको भन्दै केही व्यक्ति र संस्थाले आलोचना गरे । गीत आलोचित बनेपनि देविका र पशुपति भने सोसल मिडिया तथा यु–ट्युबमा ‘हिट’ भइरहेका छन् ।

IMG_6374गायक पशुपति शर्माले त आलोचना खेप्न नसकेर गीत बन्द गर्ने घोषणा नै गरिसकेका छन् । ‘हामी नेपाली एउटै’ गीत प्रतिबन्द गर्नुपर्ने खालको नभएको देविका बताउँछिन् । उनले सो गीतले जातियविभेद होइन, एकताको सन्देश दिने दावीसमेत गरिन् । ‘हामी लोककलाकार हुँ । त्यसैले लोकको भाषा र भाका गाउँछौं’, देविकाले भनिन्, ‘चलनचल्तीकै भाषाशैली र भाकामा गाइएको चेतनामूलक गीत हो, हामी नेपाली एउटै ।’ उनले वास्तविक जातिय पहिचान लुकाउन चाहने तत्वले ‘हामी नेपाली एउटै’ गीतको विरोध गरेको समेत बताइन् ।
उक्त गीत के प्रतिबन्दैै होला त ? ‘थाहा छैन’ देविका भन्छिन्, ‘कतै बजिरहेको छ त कतै बन्द ।’ हुन पनि एकपटक सार्वजनिक भइसकेपछि ‘प्रतिबन्ध गर्छु’ भन्नु अहिलेको जमानामा विज्ञापन गर्नुजस्तै हो । अहिले त्यस्तै भएको छ ‘हामी नेपाली एउटै’ गीत पनि । विरोधको आवाजसँगै उक्त गीत यु–ट्युबमा दिनदिनै हिट भइरहेको छ ।
देविकाले अर्को पनि तिजगीत गाएकी छन्, ‘बुहारीको पोई’ । यस गीतमा पनि देविकाले गाउँघरकै ठेट भाषा प्रयोग गरेकी छन् । गीतमा उनले पति अर्थात् श्रीमानको सट्टा ‘पोई’ लगाएकी छन् । गाउँघरको ठेट भाषामा पति वा लोग्नेलाई ‘पोई’ र श्रीमतीलाई ‘स्वास्नी’ भनिन्छ । केही समयअघि मात्र सर्वोच्च अदालतले यी शब्द प्रयोगमा प्रतिबन्द गर्नुपर्ने जनाएको थियो । तर, देविका यसमा सहमत छैनन् । उनी भन्छिन्, ‘गाउँघरको भाषामाथि अंकुश लगाउन मिल्दैन, किनकि, नेपालीको वास्तविक पहिचान नै गाउँघरको भाषा, संस्कृति र रहन–सहनमा छ ।’
लोकगीत गाउँघरकै गीत भएकाले त्यहाँकै भाषाशैली हुनपर्ने देविका बताउँछिन् । हुन पनि लोकगीत गाउँघरको मेलापात, हाटबजार हुँदै सहर छिरेको हो । तर, सहर छिरेपछि लोकगीतको पहिचान हराउन थालेको छ । पश्चिमा ¥याप र पप बिक्ने ठाउँमा पशुपति शर्मा र देविका केसीजस्ता गाउँघरको ठेट भाषा र शैली गाउने गायक÷गायिका उल्टै आलोचनाको शिकार बन्न थालेका छन् । देविका भन्छिन्, ‘गीत गाउनुमात्र ठूलो कुरा होइन, गीतले समाज र देशलाई के दियो भन्ने गहन विषय हो ।’ गीतमा चेतनाको सन्देश पनि हुनुपर्ने देविकाले बताउँछिन् ।
०५८ सालयता लोकगायनमा निरन्तर क्रियाशिल सिन्धुपाल्चोककी देविका नेपालभित्रका श्रोतामाझ जति परिचित छिन्, त्योभन्दा बढी लोकप्रिय विदेशमा रहेका श्रोतामाझछिन् । त्यसैले धेरैले देविकालाई ‘विदेशकी हिट गायिका’ समेत भन्ने र्छन् । उनका अनुसार १२ महिनामा करिब ८ महिना विदेशमै बित्छ । देविका भन्छिन्, ‘मेरो लागि खाडीमुलुक त पानी पधेँरो नै हो । युरोपका पनि अधिकांश मुलुकमा कार्यक्रम गरिसकेकी छु ।’ धेरैजसो कतारमा बस्ने गरेकी देविकाले भनिन्, ‘यसपालिको तिजमा युरोप हुनेछु । कतारमा त आफ्नै विजनेश छ, जतिखेर गए पनि हुन्छ ।’

Comments