के यी कलाकार ठगिएकै हुन् त ?
screennepal
प्रकाशित: २०७१, ३ श्रावण शनिबार
no img

काठमाडौं । अभिनेत्री सुष्मा कार्कीलगायत विभिन्न कलाकारले आयोजकबाट आफूहरु ठगिएको बताएका छन् । ‘वाईड इभेन्ट नेपाल टुर’ नामक सांगीतिक कार्यक्रममा सहभागी कलाकारहरुले परिश्रमिक नदिएको भन्दै आयोजकमाथि कारबाहीको मागसमेत गरेका छन् । केही समयअघि ‘वाईड इभेन्ट नेपाल टुर’ नामक सांगीतिक कार्यक्रम देशका विभिन्न १५ शहरमा भएको थियो ।
उनीहरुले आयोजकद्धय हरिशरण महत र राजकुमार पटेलले एग्रिमेन्ट अनुसार परिश्रमिक नदिएको आरोप लगाएका छन् । कार्यक्रममा सहभागी भएका १४ जना कलाकारले एग्रिमेन्टअनुसार पैसा नदिई श्रमशोषण गरेको भन्दै आयोजकद्वयलाई कारबाहीको मागसमेत गरेका छन् । नायिका सुष्मा कार्की, गायक सुगम पोखरेल, सम्भोज मल्ल, रुपक डोटेल, गायिका आकांक्षा बस्याल, युवराज चौलागाई, प्रकाश कटवाल, कार्यक्रम सञ्चालक सुर्जनी केसी, गायिका बुनु राई मानन्धर, कमल खत्री, कलाकार रमेश दुलाल, सम्झना लामिछाने मगर, क्यामेराम्यान निकेश महर्जन, सवारीधनी नारायणप्रसाद ढुगांनालगायतले आयोजकबाट ठगिएको बताए । उनीहरुले ०७१ २० जेठदेखि असार ०१ गतेसम्म विभिन्न शहरमा १५ दिने ‘वाइड ईभेन्ट नेपाल टुर’ सांगीतिक कार्यक्रममा सहभागी भएको र अन्त्यमा आएर पारिश्रमिक नदिएको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।


रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन बोल्दै एक कलाकारले भने, ‘एग्रिमेन्टअनुसार रकम दिनुको सट्टा उल्टै हामीलाई धम्की दिइएको छ ।’ उनीहरुले पारिश्रमिकबापत करिव १० लाख रुपैयाँ रकम पाउनुपर्ने दावी गरेका छन् । उनीहरुले आफूहरुले पाउनुपर्ने परिश्रमिक नपाए ठगी गर्ने आयोजकद्धयलाई प्रतिलिपि अधिकार ऐनअन्तर्गत कारबाही गर्नुपर्ने माग गरेका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका महासचिव राजेन्द्रकुमार कार्कीले पीडित कलाकारको हकअधिकार लागि आफ्नो संस्थाले जस्तोसुकै भूमिका निर्वाह गरेर भए पनि न्याय दिलाउने विश्वास व्यक्त गरे ।


त्यस्तै कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष गोकुल राउत, उपाध्यक्ष होम सुवेदीलगायतका कलाकारले पीडित कलाकारलाई जुनसुकै हालतमा पनि न्याय दिलाउने विश्वास व्यक्त गरेका छन् । संघका उपाध्यक्ष राउतले कलाकार भएर कलाकारलाई नै ठगी गर्नु महापाप भएको भन्दै पीडित कलाकारले पाउनुपर्ने पारिश्रमिक चाँडोभन्दा चाँडो नदिए ठगी गर्ने आयोजकलाई कानुनी कठघरामा उभ्याउन आफूहरु बाध्य हुने चेतावनी दिए । आयोजक संस्थाद्धय सान मुभि मेकर्सका प्रोपाइटर तथा ‘पुण्टे परेड’ र ‘आई एम सरी’का निर्माता हरिशरण महत तथा स्टेज डेकोर्सका संचालक राजकुमार पटेलबीच आफूहरुले पाउनुपर्ने पारिश्रमिकबारे आर्टिष्ट एग्रिमेन्ट भएको बताए ।

Comments